काठमाडौं । ज्योतिषशास्त्र अनुसार आइतबारबाट बृहस्पति अस्त भएको छ । आइतबार मध्यान्ह ११ बजेर ५८ मिनेटदेखि अस्त भएको बृहस्पति फागुन २ गते दिउँसो १२ बजेर ४२ मिनेटमामा मात्र उदाउने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

ज्योतिष शास्त्रको नियम अनुसार बृहस्पति अस्त हुँदा माङगलिक कार्यहरू गर्न नहुने मान्यता छ । बृहस्पतिलाई शुभको ग्रह मानिने भएकाले अस्त भएको समयमा गरेका कार्यहरूको फल नपाइने ज्योतिषी डा. सुनील सिटौलाले बताउनुभयो । बृहस्पति अस्त हुँदा पहिलो पटक तीर्थयात्रा, देव यात्रा एवं धार्मिक कार्यहरू गर्न नहुने उहाँको भनाइ छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै, प्रथम उपाकर्म, ब्रतवन्ध, उत्सर्ग कर्म, पवित्र दान, सर्पबली कर्म, विशेष उत्सव, सीमा स्तम्भहरूको स्थापना, मेला महोत्सव एवं उत्सव, सपथग्रहण साथै अन्य देव तथा पुण्यकार्य गर्न नहुने ज्योतिषी डा. सिटौला बताउनुहन्छ । राम्रो काम गरे पनि फल नपाइने भएकाले यस्ता कामहरू नगर्न ज्योतिषी सिटौलाको सुझाव छ ।

यस्तै बृहस्पति अस्त हुँदा नियमित कार्यहरु भने गर्न हुने ज्योतिष डा. सिटौला बताउनुहुन्छ । उहाँका अनुसार बृहस्पति अस्त भएको समयमा आफ्ना नियमित नित्यकर्मका साथै एकोद्दिष्ट श्राद्ध, मासिक श्राद्ध, जन्मोत्सव पूजा, पहिले नै संकल्प गरेका बार एवं तिथीमा लिइने ब्रतहरू गर्न शास्त्रले निषेध गरेकाे छैन । पितृ कार्यहरु, ग्रह शान्ति, ग्रहणदान एवं स्नान, अन्नप्रासन, नामाकरण लगायतका कार्यहरु गर्न कुनै बाधा नपर्ने उहाँको भनाइ छ ।