काठमाडौं । –भरतपुरमा मतपत्र च्यातियो माननीयज्यु, तपाइँले के भन्नुहुन्छ ? भनेर मैले शेरबहादुरजीलाई सोधें, उहाँको जवाफ थियो ‘थाहै छैन’ । बुझ्न त पाउनुपर्यो नि ? भन्नुहुन्छ ।
– तपाइँको पार्टीको दृष्टिकोण के हो ? भनेर मैले फेरि सोधें, नेपाली कांग्रेसका सभापतिको मुखमा बोल बोल मछली मुखमा पानी जस्तो भयो ।

कांग्रेस आजकल धेरै कुरामा बोल्न छाडेको छ । बेठिक भयो भनेर कांग्रेसले भन्न किन सक्दैन ? कांग्रेसप्रति शुभेच्छा मात्रै प्रकट गर्न सक्छु,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा सम्बोधन गर्दै भनेका थिए ।
कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित हुनु केहीबेरअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस्तो धारणा राखेका थिए ।
त्यसलगत्तै सम्बोधनका लागि पुगेका देउवाले पनि ओलीका प्रत्येक प्रश्नको जवाफ छोटकरीमा दिए । त्यतिमात्रै होइन, उनले नेपाली कांग्रेसलाई राष्ट्रियताको पाठ नसिकाउन पनि चेतावनी दिए ।
‘राष्ट्रियताको कुरा आजकल धेरै उठेको छ । हाम्रा आदर्श नै राष्ट्रियता, प्रजातन्त्र र समाजवाद हो । अरुलाई कण्ठ नहोला तर हामीलाई छ । यसमा हामीलाई पाठ सिकाउनुपर्दैन,’ तत्कालै ओलीलाई जवाफ फर्काइहाले ।
त्यसपछि पनि यसअघि लाग्दै आएको आरोपमा थप बल पुग्यो । नेपाली राजनीतिमा मिल्नै नसक्ने पात्रका रुपमा दुई नेतालाई चिनिन्छ ।
तर बुधबार प्रधानमन्त्रीका रुपमा सपथ ग्रहण गरेका देउवालाई बधाई दिन पुगेका ओलीले देउवासँग हात मिलाउन मात्रै होइन कानेखुसी समेत गर्न भ्याए । देउवाले ओलीका हात उठाउँदै पटक पटक मिलाउन भ्याए ।



