रश्मि आचार्य, उपाध्यक्ष,अनेरास्ववियु
म विद्यालय तहमै अध्ययन गर्दा एकदिन हजुरआमाले राख्नुभएको जिज्ञासा अहिले पनि मेरो मानसपटलमा झलझली नाचिरहेको छ । उहाँले त्यसबेला –“बाबु, आज डाँडागाउँको कार्यक्रममा कांग्रेसका नेताहरुले कम्युनिष्टले जित्यो भने बुढाबुढीलाई गोली ठोक्छन्, दिदि–बहिनी भन्दैनन, एउटै ताउलोमा भात पकाएर भात खुवाउँछन् त्यसैले तीनिहरुलाई भोट दिनु हुदैन भनेछन्” के तिनिहरुले भनेको कुरा सत्य हो ? उनीहरुले किन यसो भनेका ? यदि यो कुरा सत्य हो भने कम्युनिष्टहरुलाई किन भोट दिनु ?
हजुरआमाका ती गुजुल्टिएका प्रश्न त्ययितबेलाको मेरो वालमस्तिष्कमा झनझन् गुजुल्टिएका थिए र म अलमलमा परेको थिएँ । त्यस्तो कसरी गर्लान् र ? तपाईहरु सबैलाई गोली ठोक्लान् र ? मैले त्यतिबेला हजुरआमाको ती प्रश्नहरुको चित्तवुझ्दो जवाफ दिन नसकेपछि त्यस्तै हल्का प्रतिक्रियाले टारेको थिएँ । विस्तारै हजुरआमाले सुनेका हल्लाहरु सलह झैँ फैलिदैँ गए । कम्युनिष्टहरुलाई भोट हाल्ने मनस्थिति बनाएका बुढाबुढीहरुको सातो उडाउने गरी नेपाली कांग्रेसले त्यसैबेला ‘गोयबल्स’ शैलीमा देशभरी प्रचार गरेको थियो । उसले फैलाएको त्यो अफवाह २०४८ को आम निर्वाचनमा बामपन्थीहरुले बलियो गरी चिर्न सकेनन् । यस्तै दाउपेचको जगमा कांगे्रसले बहुमत ल्यायो ।
नेपाली जनताले आफ्नो असली प्रतिनिधि ठानेर नेपाली कांग्रसलाई दिएको बहुमत उसका लागि ‘बाँदरको हातमा नरिबल’ भयो । जनताले दिएको बहुमत उसले थेग्नै सकेन । पाँच बर्षका लागि सरकार चलाउन जनताले दिएको म्यान्डेटलाई लत्याउदै तीन बर्षमै मध्यावधी निर्वाचन गराउने घोषणा नेपाली कांग्रेस स्वयंले ग¥यो । बहुदलीय ब्यवस्था प्राप्तिपछि आफुसंग स्पष्ट बहुमत भएर पनि सरकार अस्थिर बनाउने मूल सूत्रधार स्वयं कांग्रेस हो । छ महिना नौ महिनामा सरकार बनाउने–गिराउने कुर्सी दौडको सुत्रधार नेपाली कांग्रेस नै हो । जसको शिकार नेपाली राजनीतिमा आज पनि भइरहेको छ ।
दुई तिहाई ल्याएर कम्युनिष्टहरुलाई मूलतः नेकपा एमालेलाई सिध्याउने रणनीति अँगालेर छँदाखाँदाको बहुमत दाउमा हालेर मध्यावधीमा गएको नेपाली कांग्रेस निर्वाचनमा अन्ततः दोश्रो हुनपुग्यो । नेकपा एमाले पहिलो पार्टी भएको कारण उसले सरकार बनाउने अवसर पायो । नेपालमा पहिलो पटक मनमोहन अधिकारीको नेतृत्वमा कम्युनिष्ट सरकार बन्यो । त्यो सरकारले आफ्नो गाँऊ आफै बनाऔं, नौ स, वृद्ध भत्ता वितरण जस्ता लोकप्रिय कार्यक्रम लिएर आयो, वर्षौदेखि सुर्यमा भोट हालेर उत्तर खोज्दै बसेकी मेरी हजुरआमा जस्तै हजारौं वृद्धहरुले एकै चोटी थाहा पाउने गरी जवाफ दियो ।
त्यतिमात्र होइन वृद्धहरुलाई मार्ने होइन पहिलो पटक मासिकभत्ता दिएर उनीहरुलाई सम्मानपूर्वक बाँच्न र बुढेसकालको साहारा दिने पार्टी अरु होइनन् एमाले हो सन्देश पनि एमालेले दियो । केन्द्रीकृत रुपमा रहेको बजेट गाउँ र नगरका वडाहरुमा लैजानुपर्छ भनेर प्रत्येक गाविसहरुलाई पाँच–पाँच लाख रुपैयाँ शुरुमा विनियोजन गर्ने पार्टी एमाले नै बन्यो । बजेट गाँउमा पठाउदा देशको ढुकुटी रित्याएको, कनिका छरेको आरोप एमालेले खेप्दै आयो । जतिसुकै आरोप लगाए पनि बजेट गाउँमा जाने क्रमलाई कसैले रोक्न सकेन । विस्तार विस्तार त्यो बजेट बढ्दै गयो । गाउँहरुको मुहार फेरिदै गयो ।
यसरी अरुले सोच्नसम्म नभ्याएका योजना ल्याएर जनमुखी काम गरिरहेको मनमोहन अधिकारी नेतृत्वको सरकारको लोकप्रियता देखेर संसदमा अविश्वासको प्रस्ताव पेशगरी नेपाली कांग्रेसले त्यो सरकार ढाल्ने षडयन्त्र रच्यो । जनचाहना र समर्थन ब्यापक हुँदाहुँदै पनि बहुमत नभएको कारण मनमोहन सरकार नौ महिना भन्दा धेरै टिक्न सकेन । सरकार गिराउने र बनाउने अस्वस्थ खेल फेरि शुरु भयो । देश अकल्पनिय द्धन्द्धमा फस्यो ।
कम्युनिष्टहरुलाई झुटा मुद्दा लगाउने, किलोेशेरा टु अप्रेशन चलाउने, गाउँमा बस्नै नदिने जंगली रबैया अरुले होइन सत्ताको चरम दुरुपयोग गरेर कांग्रेसले नै ग¥यो । सत्ताको चरम दमनको प्रतिरोध गर्ने नाममा माओवादीले युद्ध शुरु ग¥यो । यसर्थ देशलाई थिलो थिलो पार्ने युद्धको सर्जक पनि उही हो । माओवादी समस्या राजनीतिक हो, वार्ता र संवादबाट हल गर भनेर नेकपा एमालेले बारम्बार भन्दा उनीहरुको टाउकाको मूल्य तोक्ने उही कांग्रेस हो । दशवर्ष पछि नेकपा एमालेको जति सीट दिएर कम्युनिष्ट भिडाउने पनि उही कांग्रेस हो ।
पछिल्लो दृष्टान्त हेर्ने हो भने २०७२ असोज ३ गते संविधान जारी गर्ने बेलामा विदेशी दूतका सामु लम्पसार परेर एमाले मान्यो भने हामी समय सार्न तयार छौं भनेर जवाफ दिने पनि उहि कांग्रेस हो । नेकपा एमालेको अडानको कारण संविधान जारी भएपछि आफ्नै नेतृत्वमा संविधान जारि भयो भनी हुँकार पिट्ने पनि उहि कांग्रेस, अलि पछि आएर त्यहि संविधानको अस्थित्व संकटमा पार्ने गरि संशोधन अगुवाई गर्ने पनि उहि कांग्रेस । यस्तो कांग्रेसलाई स्थानीय तहमा किन जिताउने ? भोट हाल्नु पूर्व एक पटक गम्भिरता पूर्वक सोचौं ।
एक समय यस्तो थियो, प्रजातन्त्र भनेकै कांग्रेस र कांग्रेस भनेकै प्रजातन्त्र भनेर व्याख्या हुन्थ्यो । उसले आफूलाई कानुन लोकतन्त्र र विधिको एकल ब्याख्याता ठान्थ्यो । केही कुराको उत्तर फेला पारेन भने वीपी र गणेशमानको नाम जोडेर उम्कन्थ्यो । के आजको कांग्रेस वीपी, गणेशमानको समयको जस्तै छ त ? घटनाक्रमहरुले भन्दैछ, शेरबहादुर पथको कांग्रेसले ती सबै मूल्य मान्यताहरुलाई खरानी पारेको छ । प्रधानन्यायाधीश सुशिला कार्की विरुद्धको उसको प्रतिशोधमूखी महाअभियोग विपि र गणेशमान पथ होइन, यो त धुन्नकारी शेर बहादुर पथ हो । लोकतान्त्रीक मूल्य मान्यता र विधि त शेरबहादुर पथ भन्दा सयौंकोष पर छन् । त्यसैले आज नेपाली कांग्रेस एजेण्डा विहीन पार्टी हो । कहिले छिमेकीको गोटी बनेर त कहिले लम्पसारवादको भरिया बनेर कांग्रेस समस्याको मूल कारक बनेको छ ।
२०४८ मा बहुमत पाएर पनि सत्ता चलाउन नसक्ने नेपाली कांग्रेस र २०६४ को संविधानसभा निर्वाचनबाट ठूलो पार्टी बन्दा पनि संविधान बनाउन नसकेर संविधानसभा विघटन गर्ने एमाओवादीलाई अब किन भोट दिने ? के उनीहरुले जनताको अभिमतलाई सम्मान गर्न सके ? २० वर्ष पछि हुन गइरहेको स्थानीय तहको निर्वाचन देशको भविष्य संग प्रत्यक्ष जोडिएको निर्वाचन हो, कुनै पार्टीले जित्ने र हार्ने भन्दा पनि देशले हार्ने कि जित्ने ? भन्ने निर्वाचन हो ।
अव हुने सबै निर्वाचनहरुको जग हो । जग हाल्ने बेलामा मिति गुज्रेको सिमेन्ट र खिया लागेको फलाम मिसीयो भने त्यो अबश्यनै कमजोर हुनेछ । यस पटक त्यो गल्ति कसैले पनि नगरौं । राष्ट्रिवादी, जनप्रेमी र दुरगामी सोंच राख्ने पार्टी रोजौं । सक्षम उम्मेदवारहरु रोजौं । उर्जाले भरिएको विचार रोजौं । यसैले भोट हाल्दा सोचौँ, या हाम्रो भोट कसैका लागि देश बेच्ने र भ्रष्टाचार गर्ने लाइसेन्स नबानोस् । पहिलो पेज बाट साभार



