काठमाडौं, २५ जेठ । जनर्दन शर्माको एउटा आफ्ने पहिचान छ जुन हो, ठुस्स परेको दाह्री । ऊर्जा क्षेत्रमा एक प्रकारले चमत्कार गरेका दाह्रीवाला शर्मा यतिबेला देउवा नेतृत्वको सरकारमा गृहमन्त्रालय सम्हालन पुगेका छन् । यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रहँदा ऊर्जाबाट राम्रो नाम कमाएका उनीमाथी चुनौतीको थ्रुपो छ । पछिल्लो समय आइजीपी प्रकरणमा चलखेल, प्रहरीको सरुवा बढ्वामा हुने अनियमितता, प्रहरी भित्रको भ्रष्टाचारले यतिबेला प्रहरीको छवि एवं गृह अन्तरर्गतका विभागको छवी गिरेको छ । उनले यो छविलाई उच्च बनाउँदै आफ्नो शाखलाई बचाईराख्नुपर्छ । यो चुनौति शर्मामाथि आइलागेको छ । यसअर्थमा भन्नुपर्दा अब शर्माको अर्को परीक्षा सुरु भएको छ ।
जनयुद्ध लडेको अनुभवका आधारमा शर्मालाई गृहप्रशासन सम्हाल्न केही सहज त होला, तर पर्याप्त भने हुने छैन । किनकि युद्धकालमा जस्तो रणनीति र योजना शान्ति प्रक्रियामा प्रयाप्त हुँदैन भन्ने स्पष्ट उदाहरण तेस्रो स्थानमा खुम्चिएको उनकै पार्टी माओवादीको पछिल्लो हैसियतले बुझाउँछ ।
यस्तै, सर्वोच्च अदालतबाट अभियुक्त बालकृष्ण ढुंगेललाई एक हप्ताभित्र पक्राउ गर्ने आदेश दिँदासमेत कार्यान्वयन हुन सकेको छैन भने अन्य फरार अपराधीहरु पक्राउ पर्ने कुरै भएन । समयमै बढुवा नहुनु र प्रहरीमा काम गरेकाले भन्दा चाकडी गरेकाहरु बढी हावी हुन थालेपछि झन् समस्या बढ्दै गएको छ ।
आईजीपी नियुक्ती प्रकरणसँगै नेपाल प्रहरीमा लामो समय बढुवा रोकिँदा संगठनभित्रका प्रभावकारी अधिकृतहरुले अवकाश पाउनु पर्यो भने भएकामा नेतृत्वप्रति वितृष्णा बढेको छ ।
एसएसपी गणेश गुरुङ, मिलन बस्नेत र यादव अधिकारी प्रमोसन नपाएकै कारण घर जान बाध्य भएका छन् । भावी आईजीपीको चर्चामा रहेका सर्वेन्द्र खनाल, रमेश खरेल, पुष्कर कार्की पनि प्रमोसनको प्रतिक्षामै दिन बिताइरहेका छन् । महिनौं सम्म मुसा खेलाएझै खेलाउँदा कुन मनोबलले उनीहरुले काम गर्दा हुन चिनता लिने कोही देखिएका छैनन् ।
असारसम्म प्रमोसन भएन भने कार्यसम्पादन मूल्यांकन फाराम भर्ने समय भएकाले साउन, भदौ र असोजमा सामान्य त प्रमोसन गर्न मिल्दैन । सरकारले प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेपछि उनले अन्यको बढुवा प्रक्रियालाई अघि बढाउन सकेका छैनन् ।
उनले कतिजनालाई बढुवा गर्न सकिन्छ भन्ने हिसाब नै निकाल्न सकेको छैनन् । तत्कालिन आईजीपी उपेन्द्रकान्त अर्यालले गत मंसिरमा प्रहरी उपरिक्षक (एसपी) को २३ पद रिक्त हुँदा पनि १५ जनाको मात्र बढुवा गरेका थिए । बाँकी आठ पदमा अझै पनि बढुवा भएको छैन ।
त्यसबेला अर्यालले ती पदमा बढुवा नगर्दाको प्रत्यक्ष असर अहिले परिरहेको छ । आउँदो फागुनमा आईजीपी हुनेहरु यतिबेलासम्म एसएसपी रहन बाध्य छन् । उनीहरुले आफ्नो बढुवाका लागि धेरैपटक आईजीपी अर्यालसँग अनुनयविनय गरे पनि उनले फाइल उठाउन सकेका छै्रनन् । एसएसपी रमेश खरेल, सर्वेन्द्र खनाल, उत्तम कार्की, पुष्कर कार्की, राजेन्द्र श्रेष्ठलगायतको टोली अहिलेसम्म एसएसपीमै छन् ।
उनीहरु सबै आउँदो वर्ष आईजीपीको दाबेदार हुन् । अहिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सात, प्रहरी नायब महानिरीक्षक (डिआईजी) चार, प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) नौ, एसपी १२, प्रहरी नायब उपरिक्षक (डिएसपी) ७० र प्रहरी निरीक्षक तीन सयभन्दा बढी रिक्त रहेका भए पनि बढुवा हुन सकेको छैन ।
गत फागुनमै हुनुपर्ने एसएसपीको बढुवा नहुँदा मिलन बस्नेतले एसपीबाटै उमेरहदका कारण अनिवार्य अवकाश पाए ।
अर्का एसएसपी यादवराज खनाल पनि एसएसपीबाटै घर गएका छन् । प्रहरी नियमावलीले आईजीपीको ५८ वर्ष, एआईंजीको ५७ वर्ष, डीआईजीको ५६ वर्ष, एसएसपी र एसपीको ५५ वर्ष, डीएसपीको ५४ वर्ष र प्रहरी निरीक्षकको ५३ वर्ष उमेरहद तोकेको छ । त्यसैअनुसार दुई एसएसपी बिदा भएका हुन् ।
उनीहरु फागुनमा बढुवा भएको भए आउँदो फागुनमा मात्रै सेवा अवधिका कारण घर जान्थे । उमेरहदकै कारण हाल थानकोट वृत्तमा रहेका प्रहरी निरीक्षक सुजन राजमण्डारी अनिवार्य अवकाश पाउँदैछन् । प्रहरी नियमावलीले नै असार मसान्तभित्र बढुवा गरिनुपर्ने उल्लेख गरेको छ ।
साउन, भदौ र असोजमा प्रहरीको कार्यसम्पादन र मूल्यांकन गर्ने गरिन्छ । तर अहिलेसम्म करिब सात सयजनाको बढुवा रोकिएको छ । यसरी प्रहरी भित्र व्यापक तनाव देखिन्छ । हेरै उनी कत्तिको सफल हुनेछन् । प्रहरी प्रशासनमा व्याप्त निराशा अन्त्य गर्नुपर्ने चुनौति मन्त्री शर्मामाथि छ । वर्षौंदेखि बढुवा रोकिएर धेरै प्रहरी अधिकारीहरु घर फर्किन बाध्य छन् । यस्तो परिस्थितिमा प्रहरी जवान र अधिकारीहरुको मनोबल उकास्ने चुनौति उनीमाथि छ ।
त्यसैगरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा दोस्रो चरणको स्थानीय चुनाव तथा प्रदेश र संघको चुनाव गराउनुपर्ने गहन जिम्मेवारी शर्मामाथि आइलागेको छ । जनार्दन शर्माबाट धेरैले आश गरेका छन् । तर, उनको खरो स्वभावबाट धेरै मानिस आत्तिएका छन् । जसरी हिजो उनी ऊर्जा मन्त्रालयमा हुँदा ‘बिजुली चोर’हरु अत्तालिएका थिए त्यसरी प्रहरी भित्रका विचैलियालाई उनले निष्तेज पार्न जरुरी छ । न्यूज अभियान बाट



