प्रधानमन्त्री शेरबहादुर देउवा र उनका मन्त्रिपरिषदका वरिष्ठ सदस्यहरुले मन्त्रालय सम्हाल्नुअघि सन्तको आशीर्वाद लिएको खुलेको छ ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उनलाई भैंसीको पूजा गराएर चर्चित भएका सन्त कृष्णदास जी महाराजसँग देउवासहितका मन्त्रीहरुले आशीर्वाद लिएका हुन् । महाराजले आफ्नो फेसबुक पेजमा प्रधानमन्त्री र मन्त्रीहरुले आशीर्वाद लिइरहेको तस्बिर राखेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री चयन भए लगत्तै श्री १००८ श्री सिद्धबाबा महायोगी कृष्णदास महाराज जी सँग आर्शिवाद लिएका छन् । प्रधानमन्त्री देउवा श्रीमती आरजु राणसहित महाराजजीसँग आर्शिवाद लिन गएका हुन् । साथमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि आर्शिवादका लागी गएको बताइएको छ ।
तस्बिरमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुको साथमा देखिएका छन् । दुईवटा तस्बिरमध्ये एउटा पुरानो र अर्को चाहिँ प्रधानमन्त्री भैसकेपछिको रहेको छ । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा सन्तलाई दण्डवत गर्दै छन् ।
गलामा फूलको माला र खादा लगाएर उभिएका अर्का उपप्रधानमन्त्री विजयकुमार गच्छदार पनि शुभेच्छुकको साथमा सन्त सित छन् । महरा र गच्छदारको तस्बिर चाहिँ पुरानो हो । नेपालका प्रधानमन्त्री, मन्त्री र नेताहरु यसरी आफूलाई भेट्न र आशीर्वाद लिनको लागि प्रायः आइरहने गरेका छन् ।



