दमक/सामाजिक सञ्जालमा जोडिएका किशोर किशोरी तथा युवाहरुले सामाजिक काममा समेत हात हाल्न थालेकाछन् । यसैक्रममा भर्खरै सामाजिक सञ्जालमा जोडिएका हुमन एक्सन फर म्यूटल इन्टिग्रिटि(हामी) ग्रुपले दमकमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्रुपका सञ्चालकमध्येका एक अशोक खड्काका अनुसार देशका बिभिन्न क्षेत्रमा जोडिएका सामाजिक कामको पक्षधरहरुले नयाँ ग्रुप बनाउन शुरु गरिएको हो । अहिले करिब ४ हजार ग्रुपमा समावेश भइसकेको उनले बताए ।
अर्की सञ्चालक सुजिता खनालले शुक्रबार भएको रक्तदान कार्यक्रममा ४० जनाभन्दा बढिको सहभागिता भएकाले पहिलो काममा यो उत्साह देखेर थप जिम्मेवारी थपिएको जनाइन् । उनका अनुसार सामाजिक सञ्जालबाट सूचना पाएर सयौ युवा तथा किशोरकिशोरी कार्यक्रममा सहभागि भएका थिए ।
जिबनचक्र समाज नेपालका अध्यक्ष गणेश गौतमले फेसबुकमा जोडिएकाहरुको यो कार्य अनुकरणिय भएको बताउदै यस्तो कार्यलाइ सबैले प्रशंशा गर्नु पर्ने बताए । रक्तदानप्रति युवा तथा किशोरकिशोरीको चासो गएको बताउदै यसरी नै दूर्घटना न्यूनिकरणको क्षेत्रमा पनि काम गर्नु पर्ने उनको भनाइ रहेको छ ।



