असार १४ को दोस्रो चरणको स्थानीय चुनाव सार्न राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्रवानमा शनिबार सिंहदरबारमा बसेको तीन दलको बैठकमा राजपाका नेताहरुले यथास्थितिमा आफूहरु चुनावमा आउन नसक्ने भन्दै यस्तो माग गरे । तर, सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले यो माग ठाडै अस्वीकार गरेका छन् ।
आफूहरुको सहभागिता विना हुने चुनावको अर्थ नहुने भन्दै राजपाका नेताहरुले राजनीतिक मुद्दा सम्बोधन गरेर मात्र चुनाव गर्न माग गरेका छन् । तर, सत्तारुढ कांग्रेस र माओवादीका नेताहरुले चुनाव सार्ने प्रस्ताव अस्वीकार गरेका छन् । माओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशले केही प्राविधिक विषय भएपनि राजपाका माग सम्बोधन हुने तर, चुनाव सार्न आफूहरु असमर्थ रहने बैठकमा बताएको बताए ।
राजपासँगको समझदारीमा नै सरकारले बैशाख ३१ का लागि तय भएको चुनाव दुई चरणमा गर्ने निर्णय गरेको थियो । जसअनुसार ३, ४ र ६ नम्बर प्रदेशमा बैशाख ३१ मा पहिलो चरणको चुनाव सम्पन्न भयो तर, राजपा सहभागी भएन ।
राष्ट्रिय जनता पार्टीको सहभागिताका लागि भन्दै सरकारले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको चुनाव पनि असार ९ हुँदै १४ का लागि सारेको छ ।
तर, संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या बृद्धि लगायतको माग राख्दै राजपाले चुनावमा सहभागी हुन आनाकानी गरिरहेको छ ।
यसरी राजपाले चुनाव सार्न माग गरेपछि पुन तनाव सिर्जना हुने देखिन्छ । उता सरकारले राजपाको माग सम्बोधन गर्ने भन्दै संशोधन प्रस्ताव अघि बढाउन थालेको छ ।



