
काठमाडौँ–काठमाडौँमा बर्डफ्लु देखिएपछि चिकित्सकले सतर्क रहन आग्रह गरेका छन्।काठमाडौँको तारकेश्वर नगरपालिका–७ स्थित साङ्लेखाला, फटुङका स्थानीय किसानले पालेका टर्की हाँसमा शनिबार बर्डफ्लु पुष्टि भएको हो।बर्डफ्लु पुष्टि भएपछि १ हजार ८ सय ६५ हाँस, ६ सय २२ बट्टाइ, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको तारकेश्वर नगरपालिका पशु शाखा प्रमुख धनिपत रायले बताए।बर्डफ्लु पुष्टि भएसँगै नेपाल सरकार स्वास्थ्य सेवा विभाग, पशु सेवा विभागको टोली, तारकेश्वर नगरपालिका स्वास्थ्य शाखाको संयुक्त टोलीका साथै नेपाल प्रहरी, स्थानीयवासीको सहयोगमा उक्त फार्मलाई शिल गरिएको छ।अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ।बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्कोन’ छर्ने काम भइरहेको प्रमुख रायले जानकारी दिए।
#सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बर्डफ्लुको संक्रमणबाट जोगिन दिएका सुझावहरु
१.कुखुरा तथा पक्षीजन्य क्षेत्रमा काम गर्ने व्यक्तिले सरसफाईमा विशेष ध्यान दिने।
२.माक्स लगाएर मात्रै खोरमा जाने, कुखुरा बेच्न राखिएका ठाउँ अर्थात कुखुरा बजारमा जाँदा पनि माक्स लगाएर मात्रै जाने।
३.बेच्न बसेका व्यक्तिहरुले पनि मास्क र पन्जा अनिवार्य लगाउने।
४.केही गरि खोरका कुखुरा मर्न थाले अथवा बिरामी पर्न थाले भने तुरन्तै चिकित्सकलाई सम्पर्क गर्ने।
५.बिरामी वा मरेको पक्षीलाई नछुने, बर्डफ्लु देखिएको ठाउँमा कसैसँग हात नमिलाउने।
६.पक्षीसँगको सीधा सम्पर्कबाट बच्ने, घरमा पालेको पक्षीको भाँडाकुँडा दिनहुँ सफा गर्ने।
७.मासु एक सय डिग्री तापक्रममा पकाएर मात्रै खाने (एक सय डिग्रीमा पकाइसकेको मासुबाट बर्डफ्लु सर्ने सम्भावना हुँदैन)।
८.अण्डा राम्रोसँग उमालेर मात्रै खाने, आधा पाकेको अन्डा नखाने।