
काठमाडौं । पछिल्लो समय युवा पुस्तामाझ निकै लोकप्रिय बनेको टिकटक एपमाथि छिमेकी देश भारतमा प्रतिबन्ध लागेको सात महिना पुरा भएको छ । केही दिन अघि मात्रै भारत सरकारले टिकटक लगायतका चिनियाँ एपमाथिको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको थियो ।आफ्ना नागरिको जानकारी चीन सरकारलाई उपलब्ध गराएको आरोप लगाइए पनि भारतमा टिकटक एपमाथि प्रतिबन्ध लाग्नुको मूख्य कारण दुई देशबीचको सम्बन्धमा आएको टकराव नै हो । अमेरिका लगायतका देशमा समेत बेलाबखत टिकटकमाथि प्रतिबन्ध लगाउने चर्चा चल्ने गरेको छ ।तर पछिल्लो समय नेपालमा समेत एकाएक टिकटकमाथि प्रतिबन्ध लाग्ने हल्ला चलेको छ।कतिपय टिकटक प्रयोगकर्ताले फागुन एक गतेदेखि टिकटकमाथि प्रतिबन्ध लाग्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् ।
हामीले यो हल्ला हो कि वास्तविकता भन्नेमा प्रवेश गर्नुअघि यो हल्ला कसरी चल्यो भन्ने विषयमा कुरा गरौं । केही नाम नसुनिएका अनलाइनहरुले सनसनिपूर्ण समाचार बनाउने नाममा टिकटक बन्द हुने हेडलाइन सहितका समाचार प्रकाशित गरेका थिए ,तिनै भ्रामक समाचारमा आधारित रहेर युट्युव र टिकटकमा अनेकौं भिडियो समेत बनेका छन् । ‘फागुन १ देखि टिकटक बन्द हुँदै, यस्तो छ कारण’ जस्ता सनसनिपूर्ण शीर्षकमा तयार पारिएका त्यस्ता सामग्रीमा साइबर ब्युरोका एसपी पशुपति रायलाई उद्धृत गरिएको छ ।टेकपानासँगको कुराकानीमा रायले आफूले त्यसरी कुनै पनि मिडियामा कुरा नगरेको बताए।टिकटक प्रतिबन्ध हुने समाचारमा उद्धृत गरिएको विषयमा उनले आश्चर्य समेत व्यक्त गरे।
‘मलाई त्यस विषयमा कसैले सोधेको पनि छैन,’ एसपी रायले भने, ‘त्यसरी जवाफ दिनका लागि म यहाँको प्रवक्ता पनि होइन ।कसैले भ्युज बढाउन हावादारी समाचार बनाएको हुनसक्छ।’सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले समेत टिकटक प्रतिबन्ध हुने हल्लामा कुनै सत्यता नरहेको भन्दै त्यसको पछि नलाग्न भनेको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् टिकटकमा रमाइरहेका छन्।आफ्नो टिकटक आईडी समेत बनाएका उनले बेलाबखत टिकटकका प्रसंग निकालेर भिडलाई हसाँउने समेत गर्दै आएका छन्।टिकटकप्रति प्रधानमन्त्री नै आशक्त देखिएको अवस्थामा प्रतिबन्ध हुने कुरामा कुनै आधार र सत्यता छैन।