निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोला वितरण गर्नु निर्वाचन आचार संहिता विपरित भएको बताएपछि राजनीतिक दलका कार्यकर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखेकाछन् ।
मतपत्र च्यात्न पाइने तर टि सर्ट लगाउन नपाइने भन्दै आक्रोश पोखिन थालेको पाईएको हो । शनिबार आयोगले यस प्रकारको निर्णय गरेपछि जनआक्रोश चुलिएको छ ।
मतपत्र च्यात्न पाइने ? टि सर्ट टोपी लगाउन नपाइने हो ? भन्दै आयोगप्रति सामाजिक सञ्जालमा सर्वसाधरणदेखि लिएर राजनीतिक नेतासम्मले आक्रोश पोखेका हुन् ।
आयुक्त सुधीर कुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचार संहिता समितिको बैठकले जिन्सी सामान वितरण नगर्न दल र उम्मेदवारहरुलाई भनेको छ ।
साथै सम्बन्धित जिल्लाका निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचार संहिता अनुगमन गर्ने अधिकारीहरूलाई यसबारे अनुगमन गर्न भनेको छ ।



