राजविराज :  पूर्वी पहाडी जिल्ला र सप्तरीलगायतका तराईका ठाउँमा लगातार परेको वर्षाले खाडो खोलामा आएको बाढीले बाँध भत्काएपछि शनिबार तिलाठी-कोइलाडी गाउँपालिका डुबानमा परेको छ  । बाढीले जिल्लाको सोनरा, पकरी, दिघवा, डुमरी शिवथान, महदेवा, कजोली, सकरपुरा, रम्पुरा मल्हनिया र तिलाठीलगायतका गाउँ डुब्ने खतरा रहेको स्थानीयवासीले बताएका छन् ।

चुरे पहाड हुँदै अकस्मात खाँडो खोलामा उर्लिएको बाढी राजविराज-कुनौली सडक खण्डमा बन्दै गरेको पुल नजिकैको बाँध भत्काएर गाउँ पसेको हो। बाढीले उक्त गाउँपालिकाको वडा नं. ३ का करिव ३५ घर डुवानमा परेको प्रहरी सहायक निरीक्षक रामकुमार यादवले जानकारी दिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अहिले खाडो खोलामा आएको बाढीले तेजगतिमा पानी बग्न थालेपछि पानीको वेगले नेपाल–भारत सिमानासँग जोडिएको दशगजा क्षेत्रअन्तर्गत निर्माण गरिएको बाँध फुटेको छ ।  जिल्लाको तिलाठीस्थित नेपाल–भारत सिमानामा निर्माण गरिएको बाँध करिब ५० मिटर फुटेर पानी बगिरहेको राजविराजबाट भारतीय बजार कुनौलीमा सामान किनमेलका लागि गएका श्याम रजकले बताए ।  साथै, बाँध फुटेपछि त्यहाँ आवतजावतमा समेत समस्या भइरहेको बताइएको छ ।

यस्तै, राजविराजबाट भारतको कुनौली बजार सामान किनमेलका लागि मोटरसाइकलमा गइरहेको अवस्थामा सो बाढीमा परेर राजविराज नगरपालिका–८ निवासी रामचन्द्र दासको मोटरसाइकल बगाएको प्रहरीलाई उध्दृत गर्दै स्थानीयवासीले जनाएका छन् ।  सो मोटरसाइकलमा सवार दासलाई भने स्थानीय र प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यसैबीच, बाँध फुटेको ठाउँमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली त्यसतर्फ गएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए  ।