महेन्द्रनगर-कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ स्थित बाकफाँटाका युवा सामूहिक आलुखेतीमा लागेका छन् । झण्डै चार बिघा क्षेत्रफल लिजमा लिएर युवाहरूले सामूहिक रूपमा आलुखेती सुरु गरेका हुन् ।
सामान्य घर खर्च चलाउन पनि समस्या परिरहेको कोरोना महामारीको अवस्थामा बेरोजगार हुनेको संख्या दिनप्रतिदिन बढेको बढ्यै छ । तर बाकफाँटामा भने तीनजना युवा मिलेर सामूहिक रूपमा आलुखेती सुरु गरेका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्राविधिक सहायक जनकबहादुर सिंह, कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषिअधिकृत त्रिभुवन भट्ट र स्थानीय दशरथ भण्डारी मिलेर सामूहिक आलुखेती गरेका हुन् । जागिरे जीवनभन्दा पनि कृषि क्षेत्रमा राम्रो सम्भावना देखेपछि तीनजनाको समूहले आलुखेती सुरु गरेका छन् ।“सरकारी जागिरेभन्दा पनि व्यावसायिक रूपमा तरकारी खेतीमा राम्रो सम्भावना छ ।” जनकबहादुर सिंहले भने,“मेरो १० वर्षे जागिरे जीवनमा पनि कृषि पेसामा आउने तर पछाडि हट्ने प्रवृत्ति धेरै देखिएको थियो, हामीले सुरुवात गर्नुको उद्देश्य भनेको स्थानीय किसानलाई कृषिमा भएको सम्भावनालाई देखाउने हो ।” कार्यालयगत रूपमा एउटा सरकारी कर्मचारी भएको भए पनि बाहिरको समयलाई सदुपयोग गर्नका लागि तीनजना मिलेर सामूहिक आलुखेती गर्ने सोच पलाएको उनले बताए।बेरोजगार बसिरहेका धेरै युवालाई कृषिमा आर्कषित गर्ने योजनाका साथ उनीहरूले सामूहिक आलुुखेती सुरु गरेका हुन्।

“करिब करिब चार लाख रुपैयाँ लगानी गरेर अहिले आलु खन्ने बेला भएको भएको छ, अहिले पनि ७० देखि ८० बोरासम्म हामीले खन्यौं,”उनले भने,“उत्पादन हेर्दा खेरी ठीकै देखिएको छ, एउटा पलट अझै खन्न बाँकी नै छ, उत्पादन सोचे अनुरुप नभए पनि आशालाग्दो भने देखिएको छ।”सामूहिक रूपमा गरिएको आलुखेती कार्यक्रममा कृषि ज्ञान केन्द्रले पनि सहयोग गर्ने अवस्था रहेकाले निकै हौसला मिलेको जनक सिंहको भनाइ छ । बजारमा अहिले आलुको दररेट न्यून छ।बजारको अवस्था हेर्ने हो भने भारतीय आलुले जिल्लाका अधिकांश आलुखेती गरिरहेका स्थानीय किसानलाई भने बजारीकरणमा समस्या पारिरहेको छ । जिल्लाको हकमा महेन्द्रनगर क्षेत्रमा दैनिक दुईदेखि तीन गाडीसम्म भारतीय तरकारी आयात हुने गरेको छ।यसले गर्दा स्थानीय किसानलाई भने भारतीय तरकारीले प्रत्यक्ष घाटा पारिरहेको उनको भनाइ छ।

“बजारको दररेट हेर्ने हो भने प्रतिकिलो १८ देखि २० रुपैयाँसम्म भारतीय आलुु बिक्री वितरण भइरहेको छ, हामीले बीउ किन्दाखेरि नै प्रतिकिलो ७२ रुपैयाा परेको थियो,” सिंहले भने, “हाम्रो उत्पादनलाई हेर्ने हो भने हामी प्रत्यक्ष रूपमा घाटामा जाने अवस्था आएको छ,त्यसकारण आलुको दररेट राम्रो पाउनलाई जिल्लाबाहिर कुरा भइहरेको छ ।”कृषि ज्ञान केन्द कञ्चनपुरका अनुसार जिल्लामा आलुखेती गर्ने किसानसँगै तरकारीखेती गर्ने किसानको संख्या पनि पहिलेको भन्दा बढेको जनाएको छ । ज्ञान केन्द्रले आलुखेती गर्न चाहनेका लागि विभिन्न अनुदान कार्यक्रम ल्याएकाले पनि आलुखेती गर्ने किसानको संख्यामा वृद्धि भएको हुनसक्ने ज्ञान केन्द्रको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय