
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वपश्चिम रेलमार्ग छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको बिहीवार प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् ।
भर्चुअल माध्यमबाट उद्घाटन कार्यक्रममा बोल्दै ओलीले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेल सेवा सञ्चालनका सन्दर्भमा थुप्रै प्रगति भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेसन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेसनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युत्को निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए ।
हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने बताउँदै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले १–२ वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफैं उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताए ।
प्रधानमन्त्री ओलीले बागलुङको ढोरपाटन र म्याग्दीको अन्नपूर्णका विभिन्न क्षेत्रमा गत वर्षायाममा बाढीले पुर्याएको क्षतिपूर्ति र पुनर्निर्माणका लागि गम्भीर रूपले सम्बोधन गरिने बताए ।