अलैंची देशको प्रायः गरी पहाडी भेगमा उत्पादन हुने एक प्रकारको मसला बाली हो । यसको उत्पादन सबैभन्दा पहिले भारतको सिक्किमबाट भएको मानिन्छ । हाम्रो देशमा भने यसको उत्पादन करिब डेढ सय वर्षअघिदेखि इलामबाट भएको देखिन्छ । तर, व्यावसायिक रूपमा यसको खेतीको सुरुवात भने वि.सं. २०१० पछि मात्र विस्तार भएको थियो ।
वि.सं. २०३३ मा फिक्कलमा अलैंची विकास केन्द्रको स्थापनापश्चात् नेपालमा अलैंची खेतीको विकास र विस्तार भएको थियो । मूलतः विश्वस्तरमा हेर्ने हो भने खास गरीकन अलैंची उत्पादन नेपाल, भारत र भुटानमा हुने गरेको छ । यसको उत्पादन गर्ने मुलुकहरूमा बर्मा, थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस, इन्डोनेसिया, इथियोपिया, ग्वाटेमाला, होन्डुरस आदि रहेका छन् । अलैंची खेतीको खास गरीकन मसलाको रूपमा प्रयोग गरिने प्रचलन सुरुमा पूर्वाञ्चल विकास क्षेत्रअन्तर्गत पर्ने मेची र कोसी अञ्चलका मध्यपहाडी जिल्लाहरू अर्थात् प्रदेश–१ मा भएको देखिन्छ । यस बालीको क्षेत्रफल तथा उत्पादनका हिसाबले पूर्वी पहाडी जिल्लाहरूले अलैंची खेतीमा प्रमुख स्थान ओगटेको छ ।
अलैंचीलाई विश्वस्तरमा पहिचान गर्न एचएस कोड ०९०८.३० ले सम्मानित गरिएको छ । यसलाई अंग्रेजी भाषामा ‘लार्ज कार्डामम्’ पनि भनिन्छ । देशमा अलैंचीको बढ्दो मागअनुसार यसको क्षेत्रफल तथा उत्पादनमा क्रमिक रूपमा वृद्धि हुँदै गएको छ । सुरुमा यसको खेती पूर्वका केही जिल्लाबाट सुरुवात भए तापनि हाल आएर अधिराज्यका ७७ जिल्लामध्ये करिब ५५ जिल्लामा अलैंची खेती विस्तारका साथसाथै उत्पादनमा पनि वृद्धि हुँदै गएको देखिन्छ । यसमा २२ जिल्लाहरूमा मात्र अलैंची खेती नहुने देखिएको छ । यसबाट देशमा अलैंची किसानहरूको आयस्रोत वृद्धि गर्न सकिने व्यापक सम्भावना भएको हुँदा यसको खेती विस्तारमा किसानहरू लालायित भएका छन् ।
यसै कारणहरूले गर्दा अलैंची खेती हुने जिल्लाहरूको संख्या पनि दिनपरदिन बढ्दै गएको छ । विशेषतः पूर्वी तराई अर्थात् प्रदेश–१ क्षेत्रका विभिन्न पहाडी जिल्लाहरू अलैंची खेतीका लागि बढी उपयुक्त भएको हुँदा यस क्षेत्रमा बढी विस्तार भएको छ । हाल आएर प्रदेश–२ बाहेक अरू प्रदेश–१, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा समेत अलैंची खेती हुने गरेको पाइन्छ । यसका साथसाथै नेपालमा खेती गरिने नगदे बालीहरूमध्ये अलैंचीको स्थान पनि महत्वपूर्ण रहेको छ । आन्तरिक खपतका साथै बाह्य बजारमा पनि निकासी गरिने भएकाले निकासी व्यापारमा टेवा पु-याई विदेशी मुद्रा आर्जन गर्ने एक प्रमुख स्रोत हुन गएको छ । अलैंची खेतीका लागि चिस्याइलो र ओसिलो जमिन बढी उपयुक्त हुने भएकाले प्रायः पहाडका सिमसार र खोल्साहरूमा यसको खेती गरिन्छ ।

नेपालको पूर्वका जिल्लामा मात्र हुँदै आएको अलैंची खेती हाल प्रदेश नं. २ लाई छोडेर अरू सबै ६ वटै प्रदेशहरूमा फैलिएको छ । पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमको डोटीसम्म यसको खेती हुने गरेको छ । अतः कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा हुँदै आएको अलैंची खेतीलाई प्रदेशअनुसार समेटेर आर्थिक वर्ष २०७४-७५ मा तयार पारेको तथ्यांकले अलैंची खेती विस्तार हुँदै गएको बताएको छ । यसको खेती भविष्यमा गएर लगभग सबै जिल्लाहरूमा पुग्ने सम्भावना देखाएको छ । आर्थिक वर्ष २०७४-७५ मा कृषि विकास तथा पशुपन्छी विकास मन्त्रालयको प्रकाशित तथ्यांकअनुसार हाल ६ प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश–१ मा अलैंची खेतीयोग्य क्षेत्रफल १३ हजार ९ सय ४० मध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ११ हजार ४ सय २४ हेक्टर मात्र खेती गरिएको अनुमान छ ।
यसैगरी यो प्रदेशको अलैंची उत्पादन भने ६ हजार १ सय ६ मे. टन हुने अनुमान छ । यस प्रदेशको उत्पादकत्वलाई हेर्ने हो भने प्रतिहेक्टर ५ सय ३४ किलो रहेको अनुमान छ । त्यसैगरी बागमती प्रदेशमा अलैंची खेतीयोग्य क्षेत्रफल १ हजार २ सय ४० मध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ६ सय ७ हेक्टरमा मात्र खेती गरिएको अनुमान छ । यसैगरी यो प्रदेशको अलैंची उत्पादन भने ३ सय ३८ मे.टन. हुने अनुमान छ । यस प्रदेशको उत्पादकत्वलाई हेर्ने हो भने प्रतिहेक्टर ५ सय ५७ किलो रहेको अनुमान छ । यसरी नै गण्डकी प्रदेशमा अलैंची खेतीयोग्य क्षेत्रफल १ हजार ४ सय ७७ मध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ५ सय ७१ हेक्टर खेती गरिएको अनुमान छ । त्यस्तै गरी सोही बालीको उत्पादनमा भने गण्डकी प्रदेशमा ३ सय १३ मे. टन हुने अनुमान छ । यस प्रदेशको उत्पादकत्वलाई हेर्ने हो भने प्रतिहेक्टर ५ सय ४८ किलो रहेको अनुमान छ । त्यसैगरी लुम्बिनी प्रदेशमा अलैंची खेतीयोग्य क्षेत्रफल २ सय ५ हेक्टरमध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ८७ हेक्टरमा खेती गरिएको अनुमान छ ।
त्यस्तै गरी सोही बालीको उत्पादनमा भने ४८ मे. टन हुने अनुमान गरिएको छ । यस प्रदेशको उत्पादकत्व भने प्रतिहेक्टर ५ सय ५२ किलो रहेको अनुमान छ । यसरी नै कर्णाली प्रदेशमा अलैंची खेतीयोग्य क्षेत्रफल १ सय २० हेक्टरमध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ७३ हेक्टरमा खेती गरिएको अनुमान छ । त्यस्तै गरी सोही बालीको उत्पादनमा भने ४० मे. टन हुने अनुमान गरिएको छ । यस प्रदेशको उत्पादकत्व भने प्रतिहेक्टर ५ सय ४८ किलो रहेको अनुमान छ । र, सुदूरपश्चिम प्रदेशमा अलैंची खेतीयोग्य क्षेत्रफल २२ हेक्टरमध्ये अलैंची उत्पादन भएको क्षेत्रफल ८ हेक्टरमा खेती गरिएको अनुमान छ । त्यस्तै गरी सोही बालीको उत्पादनमा भने ४ मे. टन हुने अनुमान गरिएको छ ।
यस प्रदेशको उत्पादकत्व भने प्रतिहेक्टर ५ सय किलो रहेको अनुमान छ । यसै क्रममा अध्ययन गर्दा सरदर अलैंची उत्पादकत्व नेपालको ५ सय ४० प्रतिहेक्टर किलो रहेको अनुमान गरिएको छ । त्यसै गरी ६ प्रदेशहरूमध्ये सबैभन्दा कम क्षेत्रफल तथा उत्पादन सुदूरपश्चिम प्रदेशमा रहेको छ भने सबैभन्दा बढी प्रदेश १ मा क्षेत्रफल तथा उत्पादन भएको गरिएको अनुमान छ । यसका साथसाथै मूलतः ६ प्रदेशको अलैंचीको उत्पादकत्व प्रतिहेक्टर के.जी.को अध्ययन गर्ने हो भने सबैभन्दा बढी बागमती प्रदेशको प्रतिहेक्टर ५ सय ५७ किलो रहेको अनुमान छ भने सबैभन्दा कम अलैंचीको उत्पादकत्व भने प्रदेश–१ को प्रतिहेक्टर ५ सय ३४ किलो रहेको अनुमान रहेको उल्लिखित तालिकाबाट पनि स्पष्ट हुन्छ ।

समष्टिगत रूपमा अध्ययन गर्दा हाम्रो देशमा आर्थिक वर्ष २०७४-०७५ मा नेपाल अलैंची व्यवसायी महासंघका अनुसार देशको कुल उत्पादन ६ हजार ८ सय ४९ मेट्रिक टनमध्ये जम्मा ०.००१ प्रतिशत मात्रै नेपालभित्र खपत हुन्छ । पूर्वाञ्चल यो खेतीको ‘हब’ हो । अहिले यहाँ अलैंची खेती गर्ने परिवारको संख्या डेढ लाख छ । त्यसपछि लमजुङमा पनि राम्रो खेती हुँदै आएको छ । अलैंची खेती ५५ जिल्लामा हुन्छ, यी सबै जिल्लामा गरी १० लाख मानिस यसमा आबद्ध छन् । महासंघका अनुसार यो क्षेत्रमा करिब डेढ अर्ब रुपैयाँ लगानी छ । आर्थिक वर्ष २०७४-७५ मा अलैंची खेतीयोग्य क्षेत्रफल १७ हजार ४ हेक्टर मध्ये अलैंची उत्पादन भएको क्षेत्रफल १२ हजार ७ सय ७० हेक्टर रहेको छ भने उत्पादन ६ हजार ८ सय ४९ मेट्रिक टन भएको छ भने उत्पादकत्व भने ५ सय ४० प्रतिहेक्टर किलो रहेको माथिको तालिकाबाट स्पष्ट हुन्छ । यसका साथसाथै भौगोलिक क्षेत्रको अध्ययन गर्दा पूर्वी उच्च पहाड, पहाड र तराईमा क्रमशः कुल क्षेत्रफलमध्ये अलैंची खेती गरिएको क्षेत्रफल पूर्वी पहाडमा बढी हेक्टरमा खेती गरिएको अनुमान गरिएको छ ।
यसरी तीनै क्षेत्रको विश्लेषणात्मक रूपमा अध्ययन गर्दा सबैभन्दा बढी पूर्वी पहाडमा कुल भूमिको सबैभन्दा बढी खेती गरिएको अनुमान छ भने सबैभन्दा कम पूर्वी तराईमा नगण्य रूपमा खेती गरिएको अनुमान छ । देशमा अलैंची सुकाउनको लागि घाममा सुकाउने चलनभन्दा भट्टीमा सुकाउने प्रचलन बढी भएको देखिन्छ । अलैंची सुकाउने खास गरी यसको परिमाणमा पनि भर पर्छ । थोरै उत्पादन हुनेले घाममा नै सुकाउने र बढी उत्पादन हुनेले भट्टीमा सुकाउने गर्छन् । यस बालीको परिमाण गुण काँचो अवस्था र सुकेपछिको अवस्थामा निकै नै फरक पाइन्छ । काँचो अलैंची करिब ५ किलोग्राम सुकाउँदा १ किलोग्राम सुकेको अलैंची तयार हुन सक्छ । यसरी काँचो अलैंची तुलनामा सुकेकोमा २० प्रतिशत तौल घट्न जाने हुन्छ । यो खेती गर्नका लागि समस्याहरू त भइ नै रहन्छन् तापनि सरकारी स्तरबाट यस बालीको विकासमा टेवा पु-याउनको लागि विभिन्न क्षेत्र जस्तै अनुसन्धान, प्रसार, तालिम, उत्पादन, सामग्री, सेवा, ऋण सुविधा र बजार आदि कुराहरूतर्फ ध्यान केन्द्रित हुँदै गएकाले कृषकहरू यसको खेतीप्रति बढी आकर्षित हुन थालेको पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah