मधेसमा एमाले टिक्न सक्दैन, एमालेलाई बढारिन्छ भनेर हल्ला गर्नेहरुलाई चुनावपछि एमालेको ताकत हेर्न अध्यक्ष ओलीले चुनौती दिनुभयो । तर, हारको डरले मतगणनाका वेला मतपत्र च्यात्नेहरु सकृय हुने ओलीले शंका गर्नुभयो ।
मधेसका जनताले सधैं लडाईं झगडा नचाहेको वताउँदै ओलीले मधेश विकासका लागि एमालेले जित्नु अनिवार्य भएको दावी गर्नुभयो ।
मधेशका जनता सामाजिक सदभाव चाहने कारण पनि एमालेप्रति आकर्षित भएको वताउँदै ओलीले भन्नुभयो –‘शान्ति चाहन्छन्, मेलमिलाप चाहन्छन् । बैरभाव चाहंदैनन् विकास चाहन्छन् । पछौटेपन चाहंदैनन् । पछौटेपन हटाउन विकास गर्न शान्ति चाहिन्छ, शान्ति । शान्ति एमालेले जितेर मात्रै आउन सक्छ, एमालेको नीतिबाट मात्रै आउन सक्छ । त्यसकारण जनता एमालेकै पक्षमा हुन्छन् ।’
एमालेभित्र हजारौं योग्य कार्यकर्ता भएका कारण स्थानीयतहमा उम्मेदवार वन्न नपाउनेहरुलाई पार्टीले उचित मूल्यांकन गर्ने वताउँदै ओलीले भन्नुभयो – ‘साथीहरुलाई लागेको होला–आफू उम्मेदवारमा पर्न पाएको भए हुन्थ्यो । आफूले भनेको मान्छे पार्न पाए हुन्थ्यो भन्ने पर्न सक्छ । तर, एउटा पदमा एकजनालाई उम्मेदवार बनाउने हो ।
उम्मेदवार बन्नका लागि एमालेका सैकडौं योग्य छन् । मेयर बनाउन योग्य सयौं छन् । तर, मेयर एउटालाई मात्रै बनाउन पाइन्छ । एउटालाई बनाउँदा सयौं छुट्छन् । छुटेकाले असन्तुष्ट हुन पाईंदैन ।
म आग्रह गर्न चाहन्छु– यतिबेला एमालेका विरुद्ध विभिन्न शक्ति घेराबन्दी गरेर लागेका छन् । किनभने एमालेलाई कमजोर नपारी यस देशलाई कमजोर बनाउन सकिंदैन, यसलाई दुखी गरिव बनाउन सकिंदैन ।
एमालेलाई कमजोर नबनाई यस देशलाई कुल्ली कवाडको देश बनाउन सकिंदैन, रोजगारी खोज्न विदेशमा भौंतारिनेको देश बनाउन सकिंदैन ।
त्यसकारण एमालेलाई कमजोर पार्ने षडयन्त्र भइरहेको छ, किनभने यसले देशका हितहरुको रक्षा गर्छ । देशको स्वतन्त्रता, स्वाभीमान, एकता र विकासको रक्षा गर्छ ।’
नेपालगंजको वाँकेमा आयोजित कार्यकर्ता भेलामा ओलीले भन्नुभयो – समसुद्धिन सिद्धिकीलाई मेयर र शान्ता ढकाललाई उपमेयर उम्मेदवार बनाएर एमालेले नेपालगन्जमा हिन्दू मुस्लिम सदभावको सन्देश दिएको छ ।
समसुद्धिन सिद्धिकी अन्तर्राष्ट्रिय पहलमान पनि हुन् । उनको विरुद्ध कसैले मुस्लिम समुदायबाट डुप्लिकेट उम्मेदवार खडा गर्न सक्छन्, यहाँका मुस्लिमहरु सचेत हुनुपर्छ । मुस्लिमको भोट बिभाजित गर्न डुप्लिकेट उम्मेदवार खडा हुन सक्छन् ।



