विगत केही समयदेखि कोरोना महामारीको प्रकोपका कारण विश्वको अर्थतन्त्र डामाडोल हुनुका साथै अनेकौं समस्या भोग्नुपरेको थियो भने हाम्रो जस्तो विकासोन्मुख देशले भोग्नुपरेको समस्याको के कुरा गर्नु र ? देश बनाउने व्यक्तिहरूदेखि लिएर व्यापारीहरूसम्म सबैले त्यही मौका छोपेर हरेक कुराको कृत्रिम अभाव सिर्जना गरेर आयआर्जन गरेका थिए । कोही सडकमा भोकभोकै सुत्न बाध्य भएका थिए भने कोही घरमै परिवारसँगसँगै बसेर पनि दिक्क मानिरहेका थिए । कसैले आफ्ना परिवार तथा आफन्तहरू गुमाइराखेका थिए । सारा संसार रोइराखेको जस्तो अवस्था थियो । सबै जना घरभित्र थुनिएर बस्न बाध्य थिए । पैसा भएर पनि आफ्नो लागि उपभोग्य सामानहरू खरिद गर्न पाइराखेका थिएनन् ।
उक्त समयबाट सिर्जित समस्याहरूसँग जुझ्न नसकेर कतिपय व्यक्तिहरूले आत्महत्याको बाटो पनि अपनाएको सामाजिक सञ्जालमार्फत देख्न र सुन्नमा समेत आइराखेको थियो । यही मौका छोपी व्यापारीहरूले कृत्रिम अभाव सिर्जना गरी खाद्यान्नहरूको अभाव गराई खाद्यान्नको मूल्यवृद्धि गरी सर्वसाधारणहरूलाई मारमा पारेका थिए भने प्याजको मूल्यमा यति धेरै वृद्धि गराएका थिए कि सरकारद्वारा अनुगमनसमेत गरियो । तर, जति नै कोसिस गरे पनि अनुगमन सफल हुन भने सकेन र खाद्यान्नको मूल्यमा कमी भने आएन । लगातार रूपमा प्याज, आलु, टमाटर तथा अन्य तरकारीहरूको मूल्यमा वृद्धि हुँदै गइराखेको थियो । अनुगमन भएपश्चात् पनि प्याजको मूल्य पसलहरूपिच्छे भिन्दाभिन्दै कायम थियो ।
कोरोना संक्रमणको जोखिम कम गर्नका लागि भारत तथा चीनबाट गरिने आयात केही समयलाई रोकेको हुनाले व्यापारीहरूले त्यही मौका छोपी यस्तो काम गर्ने आड पाएका थिए । म स्वयम् एक गृहिणी भएकाले आफूले तरकारी किन्ने क्रममा बुझ्दा प्याज प्रतिकेजी १ सय ५० देखि २ सय रुपैयाँसम्म कायम भएको थियो भने आलुको मूल्य अधिकतम धार्नीको ३ सय रुपैयाँसम्म पुगेको थियो । टमाटर १ सय ४० रुपैयाँ र काउली प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको थियो । उक्त कठिन समयमा दैनिकी गरेर आफ्नो परिवार पाल्न मुस्किल परेको अवस्थामा यसरी खाद्यान्नको मूल्यमा वृद्धि हुँदा विपन्न वर्ग समूहका मानिसहरूलाई गुजारा गर्न कति समस्या प¥यो होला त ? यस्तो अवस्थामा एकअर्काप्रति सहयोग र सद्भावना राख्नुको सट्टा यसरी सर्वसाधारणलाई मर्कामा पार्नु यो कहाँको मानवता हो ?
तर, विगत केही महिनाअघिदेखि उद्योग, कलकारखाना, विद्यालय, होटल, रेस्टुराँ, पार्टीप्यालेस, सरकारी तथा गैरसरकारी कार्यालयहरू र अन्य कार्यालयहरू खुल्न थालेदेखि देशको अर्थतन्त्र पुनरुत्थानतर्फ बिस्तारै उकासिन थालेको थियो । तर, देशको राजनीतिक अस्थिरताका कारण देशले फेरि आर्थिक समस्या बेहोर्नु परिराखेको छ । ‘घुम्दै फिर्दै रुम्जाटार’ भनेझैँ जताबाट पनि मारमा पर्ने भनेको जनता नै हुन् । विगत केही महिनादेखि जनजीवन सामान्य बन्दै र सम्पूर्ण सेवासुविधाका मार्गहरू पूर्ण रूपमा खुलेको हुनाले आजभोलि तरकारीको मूल्य सस्तिँदै गएको छ ।
भारत र चीनबाट पनि खाद्यान्न तथा तरकारीहरू भित्रिनुको कारण र तरकारी उत्पादनका लागि उपयुक्त सिजन भएकाले पनि मूल्य सस्तिँदै गएको छ । अकासिएको प्याज, आलु, टमाटर तथा अन्यको मूल्यमा धेरै नै कमी आएको छ । प्याज प्रतिकेजी ७-८० रुपैयाँ र आलु ८०-९० रुपैयाँ धार्नीमा पनि आउला भनेर मैले नै सोचेकी थिइनँ । तर, अन्य खाद्यपदार्थ जस्तै चामल, तेलहरूको मूल्य भने तीव्र रूपले अधिक बढेको छ । देशको राजनीतिक अस्थिरता र यसरी खाद्यान्नको मूल्यमा भएको उतारचढावका कारण सर्वसाधारणमा परेको असरबारेमा यहाँ कसले चिन्ता लिन्छ र ? व्यक्ति–व्यक्ति धनी हुनमा होडबाजी नगरौं, राष्ट्रलाई धनी र विकसित बनाउनमा जोड गरौं ।