चिकित्सा जगतमा रोग उपचारका अनेकौं पद्धति छन् ।भारत र नेपालको गाउँ गाउँमा प्रचलित स्वदेशी पद्धति आयुर्वेद चिकित्सा पद्धति हो भने विज्ञानले विकसित गरेको आधुनिक चिकित्सा पद्धतिलाई एलोप्याथी भनिन्छ ।अब यो सर्वविदित नै छ मानिसको शरीर यति जटिल स्वचालित यन्त्र हो,यसका बारे जति जति अध्ययन हुँदै गइरहेको छ त्यति मात्रामा नै यसको संरचनाले वैज्ञानिकहरुलाई हैरान पर्दै गइरहेको छ।अब त आधुनिक चिकित्साशास्त्रले स्वीकार गरीसक्यो, संसारका सबै मानिस शारीरिक सञ्चालनको दृष्टिले फरक फरक हुन्छन् । दुईजनालाई ज्वरो आएको छ भने उनीहरुको ज्वरो एउटै औषधिले निको नहुन सक्छ।तपाइँ हामीलाई पनि थाहा भएकै कुरा हो, मानिसको शरीरमा हुने सबै रोगको उपचार कुनै एउटै चिकित्सा पद्दतिले हुन सम्भव छैन । आधुनिक चिकित्सा विज्ञानबाट निको नभएका अनेकौं रोगीको आयुर्वेदले सफल उपचार भएको प्रमाण हाम्रो चारैतिर रहेका छन् ।
माथी वर्णित दुबै चिकित्सा पद्दतिको सम्मिश्रणले उपचार गर्ने दिशामा भारतको ‘अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्स’ (एम्स) ले महत्वपूर्ण सफलता पाएको छ । एम्सका अनुसन्धानकर्ताले डाइबिटिजबाट पीडित रोगीमा आयुर्वेदिक औषधि बीजीअर ३४ र एलोप्याथिक औषधि ग्लीबेक्लामाइड (glibenclamide)को संयुक्त प्रयोग गरी अनुसन्धान गरेका छन् । आश्चर्यजनक रुपले यस प्रयोगबाट डाइबिटिज नियन्त्रण हुनुको साथै नराम्रो कोलेस्ट्रोल समेत नियन्त्रण भएको छ । नराम्रो कोलेस्ट्रोलका कारण हृदयघातसम्मको खतरा हुन्छ ।एम्सको फर्माकोलोजी विभागमा सम्पन्न भएको यस अनुसन्धानले डाइबिटिज तथा नराम्रो कोलेस्ट्रोल नियन्त्रणमा उत्साहजनक परिणाम प्राप्त भएका छन् । डाइबिटिजको आयुर्वेदिक औषधि बीजीआर–३४ भारतको अग्रणी अनुसन्धान र विकास गर्ने स्वायत्त संस्था ‘काउन्सिल अफ साइन्टिफिक एण्ड इन्डस्ट्रियल रिसर्च’ ले बनाएको हो । यो औषधि खुला बजारमा उपलब्ध छ।आयुर्वेदिक औषधि बीजीआर–३४ इन्सुलिनको स्तर बढाउन र लेप्टिन हर्मोनको स्तरलाई कम गर्न सक्षम छ।
तर, एलोप्याथको औषधि ग्लिबेँक्लामाइडसँग यसको प्रयोगले झनै चामत्कारिक परिणाम देखाएको छ । दुवै औषधिको संयुक्त प्रयोगले इन्सुलिनको स्तरमा वृद्धि हुनुका साथै लेप्टिन हर्मोन नियन्त्रित भएको पाइयो ।शरीरमा लेप्टिन हर्मोनको स्तर बढ्नाले मोटोपन एवं मेटाबालिज्म सम्बन्धी अन्य नकारात्मक विकार हुने गर्छ ।यसका अतिरिक्त दुवै पद्दतिको औषधि प्रयोगले कोलेस्ट्रोलमा ट्रिग्लेसिराइडस ( TRIGLYCERIDES) एव भीएलडीइल ( VERY LOW DENSITY LIPOPROTEIN ) को स्तर पनि कम हुने देखिएको छ । सामान्यतया डाइबिटिज रोगीमा लिपिड प्रोफाइल गडबड हुने गर्छ । यस प्रयोगले लिपिड प्रोफाइल प्रबन्धनमा एचडीएल (HIGH DENSITY LIPOPROTEIN -राम्रो कोलेस्ट्रोल) वृद्धि हुन्छ ।