दमक/ आदिबासी धिमाल समुदायको खाद्य परिकारको प्रवद्र्धन र संस्कृतिको संरक्षण गर्ने उदेश्यले आज (मंगलबार) देखि दमकमा धिमाल फुड फेष्टिबल शुरु भएको छ ।

धिमाल जातिय विकास केन्द्रले आफ्नो सांस्कृतिक परिकारको प्रवद्र्धनका लागि धिमाल दमकमा फेष्टिबल शुरु गरेको हो । फेष्टिबलको प्रदेश १ का आन्तरीक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । फेष्टिबल उद्घाटनका क्रममा उनले नेपालको मौलिकताको संरक्षण र आर्थिक समृद्धीका लागि पर्यटन सवै भन्दा सहयोगी पक्ष रहेको बताए । कोरोना भाईरसको महामारीका कारण पर्यटन क्षेत्र संकुचित बनेको समयमा आयोजना गरिएको कार्यक्रमले संस्कृति संरक्षण र आन्तरीक पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास गरे ।

सो फेस्टिबल फागुन १ गते सम्म चल्नेछ । फेष्टिबल आयोजक समिति संयोजक शान्ति देवी धिमालका अनुसार फेष्टिबलमा २० ओटा स्टल रहेका छन् । ति स्टलमा विभिन्न जातिय खानाहरु विक्रि तथा प्रदर्शनका लागि राखिएको छ ।
धिमाल फुट फेष्टिबलमा समुदायको परम्परागत खाद्य परिकार चिचिरी र गेन्द्रोलाई जोड दिईएको छ । फेष्टिबलको नाममा पनि चिचिरी गेन्द्रो दिवश राखिएको छ । चिचिरी धिमाल समुदायमा विसेश प्रकारको चामलबाट पकाईने र गेन्द्रो पिठोबाट पकाईने परिकार हो ।
यिनैको नामबाट महोत्सवको नामाकरण गरिएको केन्द्रिय सदस्य अजितकुमार धिमालले जानकारी दिए । चिचिरी एक प्रकारको लस्सायुक्त धानको चामलबाट तयार पारिन्छ । खास गरि विवाह गरेकी चेली माईत आउँदा कोशेलीको रुपमा यो परिकार ल्याउने गरिएको गरिन्छ । माईत आएकी चेली तथा ज्वाईलाई स्वागतका लागि गेन्द्रो खुवाउने चलन छ । गेन्द्रो सोहि चामलको पिठोबाट पातमा पकाउने गरिएको छ ।

धिमाल समुदायका विभिन्न खाद्य परिकारहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उदेश्यले फेष्टिबलको आयोजना गरिएको केन्द्रका अध्यक्ष लोकबहादुर धिमालले बताएका छन् । धिमाल समुदायका कतिपय संस्कृति, पोशाक, बाजा तथा परिकार धिमाल समुदायकै नयाँ पुस्ताले विर्सदै गएकाले उनीहरुलाई चिनाउन र अन्य समुदायमा समेत धिमाल संस्कृति बारे जानकारी गराउन फेष्टिबल सहयोगी हुने उनको भनाई छ ।
फेष्टिबलमा आकर्षणका लागि दैनिक विभिन्न राष्ट्रिय कलाकालहरुको प्रस्तुती रहने केन्द्रका केन्द्रिय सदस्य मणिराज धिमालले बताएका छन । दमक नगरपालिकाको विशेष सहयोग रहेको फेष्टिबललाई झापा तथा मोरङ्का विभिन्न स्थानीय तहले सहयोग गरेका छन् ।

झापा र मोरङ्मा सघन तथा सुनसरीका केहि क्षेत्रमा परम्परागत बसोबास रहेको धिमाल जातिलाई झापाको दमक तथा मोरङ्को पथरी र बेलबारी नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका छन् । २०६८ सालको जनगणना अनुसार धिमाल जातिको जनसंख्या २६ हजार २ सय ९८ रहेको छ ।
कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ अ‍ोली, आदिबासी जनजाति महासंघका महासचिव नित्यानन्द ताजुपुरीया लगायतका वक्ताले सवै जाति तथा समुदायको संस्कृति संरक्षणका लागि तिनै तहका सरकारहरु लाग्नु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर