गौशाला, ३१ जेठ । मधेस बन्दको बेला बन्दको अवज्ञा गर्दै कार्यक्रम गरेको भन्दै राजपा नेपालले महोत्तरीको सदरमुकाम जलेश्वरमा चलिरहेको एक कार्यक्रममा ल्याप्टप फुटाउँदै कार्यक्रम बिथोलेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार नेपाल मधेस फाउन्डेसनले मङ्गलबार जलेश्वरस्थित रेडक्रस सभाहलमा ‘सामाजिक जवाफदेहिताका लागि औजारसम्बन्धी एकदिने अभिमुखीकरण’ कार्यक्रम गरिरहेको बेला राजपाका आठ/दश कार्यकर्ता कार्यक्रमस्थलमा गएर तोडफोड गर्दै कार्यक्रम बिथोलेका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपा कार्यकर्ताले सो कार्यक्रममा प्रयोग गरिएका डेल कम्पनीका आई फाइव ल्यापटप थान एक, कुर्सी थान एक तोडफोड गरेका थिए भने कार्यक्रमको ब्यानर झिकेर आगो लगाएर नष्ट गरेको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो ।

घटनाको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट घटनास्थल पुगेका प्रहरी टोलीले थप क्षति हुनबाट जोगाएको थियो भने कार्यक्रम बिथोल्ने र तोडफोड गर्ने राजपा कार्यकर्ता फरार भएको नेपाल मधेस फाउन्डेसन महोत्तरीका संयोजक अर्जुनकुमार साहले बताउनुभयो । रासस