३१ जेठ । दोस्रो चरणको स्थानीय निर्वाचन मिति नजिक–नजिक आइरहेका बेला पाँच नम्बर प्रदेशको चुनावी चहलपहल व्यापक बनेको छ । त्यसमध्ये पनि बुटवल उप–महानगरपालिकाको चुनावी चहलपहल झन् व्यापक बनेको छ ।

एमालेका ‘हेबी वेट’ नेताहरुको क्षेत्र भएकाले पनि अहिले त्यहाँको चुनावी चहलपहल अन्य दलको भन्दा एमालेकै बढी देखिएको छ । चुनावी प्रचार शैलीमा पनि एमाले अन्य दल भन्दा आक्रमक देखिएको छ । ‘एमालेलाई जित्न नसकेर कांग्रेसले माओवादी मिसाउनी, निरा जहिल्यै रिसाउनी, खोली बगर निरा खोली बगर एमालेले सबै जित्छ चिन्तै नगर’ यस्ता गीतहरु अहिले बुटवलका चोक–चोक गल्ली गल्लीमा सुनिन थालेको छ । हजारौँको सङ्ख्यामा एमाले कार्यकर्ताहरु जनताको घरदैलोमा पुग्न थालेपछि अन्य दलहरु झन् निराश बनेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, प्रभावशाली नेता छविलाल विश्वकर्मा मात्र होइन अनेरास्ववियुका पूर्व अध्यक्ष एवं एमालेका वर्तमान केन्द्रीय सदस्य खिमलाल भट्टराईको समेत क्षेत्र भएकाले पनि अहिले बुटवल उप–महानगरपालिकाको चुनावलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ०५४ सालमा भएको स्थानीय निर्वाचनमा एमालेले तत्कालीन नगरपालिकाबाट विजयको झण्डा फहराएको थियो ।

अहिले त्यहि नगरपालिका केही गाउँपालिका थप गरेर उपमहानगरपालिका बनाइएको बनाइएको छ । संविधान सभाका दुबै निर्वाचनमा पनि एमालेले यो क्षेत्रबाट विजयी हात पारेको हो । त्यसकारण पनि एमालेले जित्ने अनुमान गरेको छ । तुलनात्मक रुपमा रुपन्देही जिल्लाका अन्य निर्वाचन क्षेत्रमा भन्दा बुटवलमा एमालेको संगठनात्मक आधार बलियो भएकाले पनि एमालेले जित्ने दावी गरेको छ ।

‘प्रचण्ड नेतृत्वको सरकारले प्रदेश हेरफेर गर्नेगरी संविधान संशोधन प्रस्ताव ल्याउँदा सबै भन्दा बढी आन्दोलित बुटवलका जनता भएका थिए,’ आन्दोलनको स्मरण गर्दै प्रदेश कमिटी सदस्य समेत रहेका भट्टराईले भने, ‘त्यसको अगुवाई एमालेले गरेको थियो । यहाँका जनतालाई त्यसको राम्ररी हेक्का छ । त्यसैले यहाँको विकास र यो प्रदेशलाई सम्वृद्ध बनाउने भिजन भएको पार्टी पनि एमाले नै हो भन्ने थाहा भएकाले यहाँका जनता एमालेको जितको प्रतिक्षमा छन् ।’

त्यति मात्र होइन प्रदेशको राजधानी बुटवललाई नै बनाउनुपर्छ भनेर त्यसको अगुवाई गर्ने पार्टी पनि एमाले नै भएको भट्टराईले स्मरण गराए । ‘यहाँको बलियो संगठन, एमालेले विगतमा गरेको विकासको अगुवाई यी सबै कुराले पनि एमालेले यो उपमहानगरपालिकामा जित्ने निश्चित छ,’ भट्टराईले भने, ‘हामी मतदान र मतगणनाको प्रतिक्षामा मात्रै छौँ ।’

भट्टराईले घरदैलो कार्यक्रमका क्रममा जनताको उत्साह देख्दा एमालेले सोचे भन्दा राम्रो परिणमल्याउने निश्चित भएको पनि दाबी गरे ।

मोर्चाबद्धीको औचित्य छैन

संविधान सभाको दोस्रो निर्वाचनमा डाक्टर बाबुराम भट्टराई रुपन्देहीबाट निर्वाचन लडेका थिए । एमाले उपमहासचिव पौडेलसँग प्रतिष्पर्धा गरेका भट्टराई नराम्ररी चिप्लिएका थिए । त्यहाँको माटोसँग राम्ररी भिजेका पौडेलको प्रभाव अहिले पनि बुटबलमा कम छैन । उनी अर्थमन्त्री भएका बेला पनि बुटवलको विकासमा दानी बनेको चर्चा छ । त्यसले पनि जितको आधार बनेको अन्य दलले पनि र्चा गर्ने गरेका छन् ।

कांग्रेस–माओवादीले एमालेसँग एक्लै प्रतिष्पर्धा गर्ने हैसियत नराखेकै कारण मोर्चाबन्द्धी गरेको भन्दै एमालेले त्यसको कुनै तुक नभएको बताएको छ । ‘हामी कमजोर भएर होइन उनीहरु कमजोर भएकाले एमालेविरुद्ध मोर्चाबन्दी गरेका हुन्,’ भट्टराईले भने, ‘हामीले मोर्चाबन्द्धी गरेपछि चुनाव एमालेका लागि चुनौतीपूर्ण भयो भनेर केहीले चर्चा गर्ने गरेका छन् ।त्यो सबै गलत हो । मोर्चाबन्द्धी भए पनि जित्ने एमालेले नै हो ।’

०४९ को स्थानीय निर्वाचनमा कांग्रेसले जितेको थियो । तर, त्यसपछि कांग्रेस कमजोर बन्दै गएको कांग्रेसकै नेताहरु बताउँछन् ।

नेकपा एमालेले बुटवल उपमहानगरको मेयरमा पार्टीका जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई उम्मेदवार बनाएकाले पनि जितको आधार तयार भएको एमालेको ठहर छ । उपमेयरमा एमालेले गोमा आचार्यलाई उम्मेदवार बनाएको छ । सुवेदी र आचार्य दुबै बुटवलका लोकप्रिय नेता हुन् । उनीहरुको लोकप्रियता पनि एमालेको जित्ने आधार हो ।

यता कांग्रेस–माओवादीले मोर्चाबन्द्धी गरेर मेयरमा कांग्रेसका खेलराज पाण्डेय र उपमेयरमा माओवादीबाट जगत पोखरेल उम्मेदवार बनाएको छ । मोर्चाबन्द्धी गर्दा महिलालाई अपमान भएको भन्दै कांग्रेस–माओवादीकै महिलाहरु रुष्ट बनेका छन् । त्यसकारण पनि एमाले थप बलियो बन्ने अनुमान गरिएको छ । एमालेले बुटबलबाट मेयर–उपमेयरसहित सबै वडामा जित्ने दाबी गरेको छ । पहिलो न्यूज बाट