उपप्रधान एवं स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी चुनावमा आउने ग्यारेन्टी भए तराईका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् ।
बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘ तर, चुनाव अघि संविधान संशोधन हुन सक्दैन ।’
नेपाल लोकतान्त्रिक पार्टीका अध्यक्षसमेत रहेका उनले आफू जवरजस्ती चुनाव गराउने पक्षमा नरहेको बताएका छन् । बलपूर्वक गरिने चुनावले निकास दिनुको साटो द्वन्द्वलाई बढावा दिने उनले बताए ।
चुनावको मिति तोक्ने काम सरकारको भएको भन्दै उनले निर्वाचन आयोगले बटमलाइन तोक्नु उचित नभएको प्रष्ट पारे ।
‘निर्वाचनको मिति तय गर्ने र कति चरणमा गर्ने भन्ने विषय राजनितिक विषय हो । यसको टुङ्गो सरकारले लगाउँछ’ उनले भनले, ‘निर्वाचनको प्राविधिक पक्षको व्यवस्थापन गर्ने काम मात्र निर्वाचन आयोगको हो । वटमलाई तोक्ने काम आयोगको होइन ।’










