विद्याकी अधिष्ठात्री देवीका रूपमा विशेष पूजा–अर्चना गरिने उच्च महिमायुक्त सरस्वती पूजा यस वर्ष तिथिको घटबढका कारण फागुन ४ गते धूमधामका साथ मनाइयो । हामी नेपाली विभिन्न चाडपर्वका धनी छौँ ।यस्तै महत्वपूर्ण पर्वमध्ये माघ शुक्ल पञ्चमी तिथिका दिन धूमधामका साथ मनाइने श्रीपञ्चमी पर्व विशेष गरी विद्यार्थी वर्गका लागि सरस्वती आराधनाको विशिष्ट पर्व मानिन्छ । मानव जीवनमा ज्ञानको विशेष महत्व हुने भएकाले यो पर्वलाई अन्धकारबाट उज्यालोतर्फ लाग्नका लागि प्रेरणा दिने उत्सवका रूपमा पनि लिइन्छ । कुनै पनि मानवको आत्मिक प्रगति, सामाजिक समृद्धि एवं एकले अर्काप्रति परस्परमा स्नेह र सद्भाव कायम गर्न ज्ञान वा शिक्षाप्रतिको सर्वोपरि महत्व रहन्छ । ज्ञान प्राप्तिबाटै मानवले आफ्नो सोच्ने र चिन्तन गर्ने क्षमताको विकास गर्न सक्छ । शिक्षा वा उपयुक्त ज्ञानले मानवलाई प्रतिकूल स्थिति र गम्भीर समस्याको सामना गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्छ । यसै कारण ज्ञान प्राप्तिका लागि विद्या र वाणीको आधिष्ठात्री देवी माता सरस्वतीको पूजा आराधना र वन्दना गर्छौं ।

हामीले देवीदेवतालाई प्रत्यक्ष रूपमा देख्न सक्तैनौं , कुराकानी पनि गर्न सकिन्न, तर पनि ईश्वरीय शक्तिप्रति अपार आस्था र विश्वासका कारण हामीमा आत्मिक शक्ति प्राप्त हुन्छ । आर्य सभ्यता र संस्कृति भनेकै ईश्वरीय आस्थाद्वारा उत्पन्न हुने सामथ्र्य हो । त्यसैले हाम्रो समाजमा मूर्तिपूजाप्रति विश्वास गरिन्छ । आ–आफ्नो धर्म–सस्कृति, परम्परा र रीतिरिवाजलाई प्रत्येक नेपालीले आफ्नो जीवन पद्वतिकै रूपमा आत्मसात् गरेका हुन्छन् । यसमा अध्यात्मदर्शन पनि निहित रहेको छ । यसले हाम्रो छुट्टै र विशेष पहिचान समेत निर्माण गरेको छ ।
सरस्वती मातालाई विद्याकी देवीको रूपमा लिइन्छ । यिनको धेरै नाम भए पनि मूलतः विद्या र बुद्घिका निमित्त सफलता हासिल गर्न सरस्वती माताको भक्तिभावपूर्ण रूपले पूजाअर्चना गर्ने शाश्वत परम्परा रहिआएको पाइन्छ ।

शिक्षा आरम्भका लागि श्रीपञ्चमीका दिनलाई अत्यन्तै उत्तम र शुभ मानिन्छ । यसै दिन ज्ञान र विद्याको प्रतीक एवम् बुद्घि, सम्पन्नता, रूप, गुण सबैले युक्त भएको माता सरस्वतीको जन्म भएको मानिन्छ । यसै दिन ससाना बालबालिकालाई अक्षर चिनाउन सुरु गरिन्छ । श्रीपञ्चमीका दिन बिहानै उठेर स्नान गरी शुद्घ भएर निकै उत्साहका साथ विद्यार्थीहरू सरस्वतीको मन्दिरमा गएर भक्तिभावले पूजा–आराधना गरी शिक्षा प्राप्ति वर मागेर टीका प्रसाद ग्रहण गर्छन् । श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ । शिशिर ऋतुको समाप्तिको संकेतका रूपमा यस दिनलाई लिइन्छ । यसै दिन वसन्त श्रवण गर्ने परम्परा हाम्रो समाजमा रहेको छ ।
वसन्त श्रवणका लागि काठमाडौंको हनुमानढोकास्थित नासल चोकमा पण्डित पुरोहितद्वारा विधिपूर्वक कथा वाचन गरिन्छ । लोकतन्त्र प्राप्तिपश्चात् राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपति वा प्रधानमन्त्री सहभागी हुने चलन छ । हिन्दू धर्मावलम्बीहरूले सरस्वती र बौद्ध धर्मावलम्बीहरूले मञ्जुश्रीको पूजाअर्चना गरी मनाइने यस पर्व ज्ञान आर्जनका लागि पवित्र दिन मात्र नभएर यससँग हाम्रा विविध सामाजिक, सांस्कृतिक र आर्थिक पक्षसमेत जोडिएको पाइन्छ । यस शुभ अवसरमा बालबालिकाहरूको नाक, कान छेडिदिने गरिन्छ भने कुनै शुभ कार्यहरू जस्तै विवाह, व्रतबन्ध, गृह प्रवेशको साइतका लागिसमेत उत्तम दिन मानिन्छ, जसका लागि कुनै लगन वा साइत हेर्नु नपर्ने भन्ने मान्यता पनि रहेको छ ।

विशेषतः विद्यार्थीहरूमा यो शुभपर्वले निकै उत्साहित गर्छ । त्यसै कारणले देशका विभिन्न सरस्वतीका मन्दिरहरूमा बालबालिकाको भीड लाग्छ । बिहानै उठेर नुहाई शुद्ध भएर पूजा सामग्रीसहित माता सरस्वतीको विशेष आराधना गरिन्छ । यसै शुभ दिनमा कुनै पनि नयाँ व्यवसाय, उद्योग–कलकारखाना सञ्चालनका निमित्त असाध्यै राम्रो दिन मानिन्छ । हाम्रो समाजमा विशेष महŒवका साथ लिइने श्रीपञ्चमी पर्वले शिक्षा अथवा ज्ञान मार्गलाई सुगम र अर्थपूर्ण बनाउन समस्त शिक्षा जगत्मा प्रभाव पार्ने उत्सवलाई जीवन्त राख्नु हामी सबैको साझा दायित्व पनि हुन आउँछ । हामी नेपाली विभिन्न जात, धर्म र संस्कृतिमा विभक्त भएर पनि एकताबद्ध भएर पर्व मनाउने विशेष पहिचान बनाउन सफल छौं । यसै कारणले गर्दा हामीमा धार्मिक सहिष्णुताको अनुपम नमुना प्रदर्शन गर्न सकेका छौं ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय