इटहरी / जनता बहुमुखी क्याम्पस इटहरीमा लामो समयदेखि कर्मचारीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर र बढुवा खाइरहेका छन् । यसरी जागिर खानेमा लेखाप्रमुख रामप्रसाद शर्मा भण्डारी, लीला रिजाल रहेका छन् । त्यस्तै, अन्य दुई कर्मचारीले योग्यता नै नपुगी बढुवा खाएका छन् ।
टेस्ट मात्र पास भएका गुणराज पराजुलीले कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तहको योग्ताले पाउने सुब्बासरहको जागिरमा बढुवा भएर खाइरहेका छन् भने अर्का सुब्बासरहकै कर्मचारी लोकनाथ लम्सालको पनि प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको स्रोतले बताएको छ ।
योग्यता नै नपुगेका र शैक्षिक प्रमाणपत्र नक्कली पेश गरी जागिर खाएको भन्दै अख्तियारमा उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि क्याम्पसलाई सम्बन्धित कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको दुई प्रति प्रतिलिपि माग गर्दै पत्र काटेपछि क्याम्पसले उक्त पत्रको जवाफ अख्तियारलाई पठाएको छ ।
यसै विषयलाई लिएर विद्यार्थीले पनि संगठनका तर्फबाट दोषी कर्मचारीलाई तुरुन्त निलम्बन गरी कारबाहीको प्रक्रियामा अख्तियारलाई सहयोग गर्न र अनुसन्धानलाई असर पर्ने भएकाले कर्मचारीलाई निलम्बन गर्न विज्ञप्ति नै निकालेका छन् । तर, क्याम्पस प्रमुख भोजराज श्रेष्ठले कर्मचारीलाई निलम्बन गर्न नमिल्ने भन्दै काममा लगाइरहेका छन् ।
नक्कली प्रमाणपत्र पेश गरेर जागिर खाने रामप्रसाद शर्मा भण्डारीले भारतको आसामबाट बिकम पास गरेको प्रमाणपत्र पेश गरेका छन् भने लीला रिजालले भारतको बिहारबाट प्रवीणता प्रमाणपत्रको सर्टिफिकेट ल्याएकी छन् । जबकि, त्यो सर्टिफिकेट ल्याउन जाँच दिन जाँदा क्याम्पसमा बिदा लिएको हुनुपर्नेमा सोसमेत नभएको र सर्टिफिकेट किनेर ल्याएको स्रोतले जानकारी दिएको छ ।
तर, क्याम्पस प्रमुखले कर्मचारीलाई बचाउने कोसिस गर्दै निलम्बनसमेत नगरी काममा लगाइरहेको र क्याम्पसमा भएका पुराना प्रमाण नष्ट गराउन सहयोग गरिरहेको विद्यार्थी संगठनहरूको आरोप छ । क्याम्पस प्रमुख भा्ेजराज श्रेष्ठले अख्तियारको निर्देशन अनुसार आफुले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएका भनिएका ४ कर्मचारीहरुको भारतीय शैक्षिक प्रमाणपत्र प्रमाणित गरि पठाएको बताए । उनले अख्तियारले छानविन गरेकाले उसले आदेश नदिईकन २० बर्षअघि देखि काम गरिरहेका कर्मचारीहरुलाई निलम्बन गर्ने अधिकार आफुलाई नभएको बताए । उनले भारतीय शैक्षिक प्रमाणपत्र पेश गरि विएसम्मको अध्ययन पुरा गरी जागिर खाने कर्मचारीहरु खोज्ने हो भने धेरै पुग्ने भएकाले उनिहरुमाथि पनि छानविन गर्नुपर्छ पर्दैन भन्ने प्रश्न उठेको बताए । उनले क्याम्पसकै केही कर्मचारी र प्राध्यापकहरुले रिस गर्ने कर्मचारीहरुका बारेमा मात्र अख्तियारमा उजुरी परेको दावी गरे ।

क्याम्पसमा खैलाबैला
४ कर्मचारीहरुको भारतीय नक्कली शैक्षिक प्रमाणपत्र र उनिहरुलाई दिइएको नियुक्ती पत्र कसले कसरी पत्रिकालाई उपलब्ध गरायो भनेर व्यापक खोजी गरिएको छ । कागजात सहित सूचना कसले दियो ? भन्ने बिषयमा क्याम्पस प्रशासनले बिहिबार बिहान प्रशासनमा बैंठक नै बसाएको बुझिएको छ । क्याम्पस प्रमुखले पूर्वी बजारका सम्पादकलाई समेत फोन गरेर शैक्षिक प्रमाणपत्र र नियुक्ती पत्र कसले दियो भन्ने अव्यवहारिक प्रश्न समेत गरेका छन् ।


पूर्वी बजार राष्ट्रिय दैनिक बाट



