काठमाडौं- सरकारले पशुपतिनाथको मुल मन्दिरको शिवलिंगमा सुनको जलहरी राखेको छ। ८० करोड रूपैयाँ खर्च गरेर राखिएको १ सय ८ किलो सुनको जलहरीमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा आरधाना समेत गरेकी छिन्।‘पूजा आरधाना गरी पशुपतिनाथको मूल शिवलिंगको जलहरीलाई सुनले ढाकिएको छ,’ पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘पशुपतिनाथमा रहेको चाँदीको जलहरी जीर्ण भएकोले त्यही चाँदीको जलहरीलाई सुनको आवरणले ढाकिएको हो।’
साथै सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै सदस्य सचिव डा. ढकालले शिवरात्रीमा यस वर्ष अघिल्ला वर्षहरुमा जस्तो भक्तजन नआउने समेत बताएका छन्। दर्शनको सहज व्यवस्थापन, स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै तयारी गरिएको उनको भनाइ छ। योसँगै पशुपतिनाथमा शिवरात्रीको अवसरमा धुम्रपान, मद्यपान तथा लागूऔषध बर्जित गरेको उनको भनाइ छ।
जलहरी राख्ने विषयको विवाद अदालतमा
पशुपतिमा सुनको जलहरी राख्ने निर्णयविरुद्ध सर्वोच्चमा दुई रिट परेका छन्। यो विषय अदालतमा विचाराधीन छ। तर, अदालतको निर्णय नआउँदै सरकारले पशुपतिको शिललिंगमा सुनको जलहरी राखिसकेको छ। यो समाचार तयार पार्दासम्म सर्वाेच्चमा यो विषयको बहस चलिरहेको छ।पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा छुट्टाछुट्टै दुई रिट निवेदन दर्ता भएका थिए। बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुङ्गानाले उक्त कार्य रोक्न माग गर्दै रिट दायर गरेका थिए।निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पशुपति क्षेत्र विकास कोष तथा कोषको सञ्चालक परिषद् र गुठी संस्थान केन्द्रीय कार्यालयलाई विपक्षी बनाइएको छ।
पशुपतिको धार्मिक मूल्य र मान्यता समेत विपरीत हुने गरि नेपालको संविधान र कानुनको भावनाविपरीत सरकारले सुनको जलहरी राख्ने काम गर्न लागेको जिकीर रिटमा गरिएको छ। अनन्तकालदेखि स्थापित व्यवस्था तथा परम्परा विथोल्ने प्रयास भएकाले अन्तरिम आदेश जारी गरेको तत्काल रोक्न माग गरिएको छ। मन्त्रिपरिषद्को बैठकले पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्ने निर्णय गरेको थियो।