नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह । पाककलामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली सेफ सन्तोष साह ‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स युके’ को उपविजेता बने।
पाककलाका बादसाह सन्तोषको नेपालमा मात्र होइन, विश्वभर चर्चा चुलिएको छ । विश्वचर्चित सञ्चार माध्यमले साहलाई ‘सेलीब्रेटी’ बनाए । कारण थियो, उनको सामान्य र सरल जीवन, दुःख, सङ्घर्ष, दैनिकी र सफलतासँग जोडिएका कथा । हो, आज उनी विश्वको नजरमा पर्न सफल भए । उनले नेपालको मौलिक खानाको परिकारलाई विश्वमाझ पस्केर नेपाल र नेपालीको सान र गरिमालाई पनि उँचो बनाउन भूमिका राखे । उनै साह बिहीबार काठमाडौं आइपुगेका हुन् ।

खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढ्ने योजना साहले सुनाए। बेलायतमा छिट्टै रेष्टुरेन्ट सञ्चालन गर्ने र नेपालमा पनि रेष्टुरेन्ट खोल्ने योजना बनाएका साहले यसमा नेपाली सेफले अवसर पाउने बताए ।

एउटा सामान्य नेपालीको छोरो यति ठूलो सफलतामा पुग्छ भन्ने विश्वासै थिएन । देशभित्र भान्से र खानाका लागि मान्यतै छैन । यस क्षेत्रमा पनि केही गरौँ भन्ने उद्देश्यका साथ सङ्घर्षको यात्रा सुरु गरिएको साहले बताए । उनले सेफकै लागि १० वर्ष भारतमा काम गरेको भए पनि नेपालको खाना र पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएकाले अहिलेको सफलता मिलेको बताए ।

अहिलेको सफलतालाई लिएर अझै दोब्बर सफलता पाउने गरी नेपाल प्रवद्र्धनमा जुट्ने साहको भनाइ छ । साहले पाँच भाषामा पुस्तक प्रकाशन गर्दै छन् । चर्चित पेन्गुइन पब्लिकेशनले साहको ‘कुक बुक’ पुस्तक प्रकाशन गर्नेछ । पुस्तक प्रकाशनको कामका लागि पनि आफू नेपाल आएको साहले बताए । खानाको विश्वव्यापी ‘रोडम्याप’ बनाएको र लण्डनबाटै यो अभियान सुरु गरिने उनले जानकारी दिए ।

नेपालमा के गर्दैछन् साह

प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरको पहल र समन्वयमा नेपाल आउनुभएका साह करिब एक महिना नेपालमा रहनेछन् । उन पाटाको ४४औँ वार्षिक साधारणसभाको प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । उनी नेपाल पर्यटन बोर्डलगायत संस्थाले गर्ने कार्यक्रममा पनि सहभागी हुनेछन् । साह पाँच दिन होटल क्वारेन्टिन बसाइपछि पर्यटकीय गतिविधिमा सक्रिय हुनेछन् ।

नेपालको पाकशास्त्रलाई व्यापक अनुसन्धान गरी पर्यटनका विविध विधामध्ये पाकवान महत्वपूर्ण पाटो बन्न सक्ने भन्ने सन्देश दिनु पनि उनको नेपाल आगमनको उपलब्धि भएको पाटाका कोषाध्यक्ष खेम लकाईँले बताए । नेपालका चर्चित सेफ गोविन्दनरसिंह केसीले नेपालको ४० वर्षे सेफ इतिहासमा नेपाल र नेपालको परिकारलाई विश्वभर चिनाउन सफल भएकामा खुशी व्यक्त गरे । पाटाका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले सेफ साहको नेपाल आगमनले कोभिडबाट थलिएको मुलुकको पर्यटनलाई प्रवद्र्धनका साथै नेपाल गन्तव्यलाई खानाको माध्यमबाट विश्वभर पु¥याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी विश्वभर चिनिए

बेलायतको चर्चित प्रसारण सेवा बिबिसीबाट प्रसारण हुने प्रतिष्ठित ‘मास्टर सेफ प्रोफेसनल्स २०२०’ मा साह उपविजेता बनेका हुन्। संसारभरका विभिन्न कुइजिनका झण्डै तीन दर्जन सेफले भाग लिएको उक्त प्रतिस्पर्धाको ‘ग्राण्ड फिनाले’सम्म पुग्ने अन्तिम तीनमा साह पनि थिए । ग्राण्ड फिनाले एपिसोडमा नेपाली ढाकाटोपीमा देखिएका साह दोस्रो बने। उनले अन्तिम प्रस्तुतिमा नेपालको राष्ट्रिय झण्डा प्रदर्शन गरेर नेपाली प्रशांसा बटेलेका थिए ।

बिबिसी मास्टर सेफमा नेपाली खानासहित भाग लिने पहिलो सेफ सन्तोषको फाइनलसम्मको यात्रा प्रभावशाली रह्यो, जसले उनलाई विश्वस्तरमा प्रतिष्ठित बनायो । सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भाङको अचारलगायत दर्जनौँ मौलिक नेपाली परिकार विश्वभरका दर्शकमाझ पस्किएका साह देशवदेशका लाखौँ नेपालीको मन जित्न सफल भएका छन् ।

विमानस्थलमा स्वागत

‘मास्टर सेफ युके’मा उपविजेता ‘फस्ट रनरअप’ भएका साह बिहीबार नेपाल आएका हुन् । मध्याह्न काठमाडौँ ओर्लिएका साहलाई विमानस्थलमा स्वागत गरियो । नेपालका सेफ तथा पर्यटन व्यवसायीले स्वागत गरेका हुन् । नेपालमा लामो समयदेखि काम गरेका ‘लेजेन्ड’ सेफ तथा युवा सेफको उपस्थितिले माहोल निकै भावुक बनेको थियो । सिबी अधिकारी/ रासस

प्रतिक्रिया

सम्बन्धित खवर