सत्तारुढ दल र आन्दोलनरत राष्ट्रिय जनता पार्टीबीच बिहीबार दुई नम्बर प्रदेशको चुनाव सार्ने सहमति भयो । सहमति भएलगत्तै सरकारले असोज २ गतेको लागि मिति समेत तोक्यो । सरकारले चुनावको मिति तोकेकोे केही घण्टा नबित्दै राजपाकै अध्यक्ष महन्थ ठाकुरले त्यसको खण्डन गरे ।
उनले सरकारसँग त्यो खालको सहमतिनै नभएको प्रतिक्रिया दिएलगत्तै राजपाका सबै नेताले सरकारले आफु अनुकुल चुनावको मिति तोकेको आरोप लगाए । राजपाकै नेतृत्वबाट लगत्तै त्यस्तो प्रतिक्रिया आएपछि यसबेला प्रधानमन्त्री शेरबहादुर देउवा रन्थनिएका छन् । अहिले चुनाव सारेको आरोप राजपालाई मात्र होइन, प्रधानमन्त्री देउवामाथि लाग्न थालेको छ ।
हतारमा चुनाव सार्ने निर्णय गरेको भन्दै उनलाई असफल पात्रको संज्ञा लागेको छ । प्रधानमन्त्री देउवाले किन यस्तो गम्भीर प्रकृतिको निर्णय हतार–हतारमा गरे होलान त ? एकातिर राष्ट्रिय जनता पार्टीको दबाब अर्कोतर्फ यही मौकामा प्रधानमन्त्री देउवाले आफ्नो सरकार लम्ब्याउने रणनीति बनाएको समेत आशंका गरिदैछ ।
नेपाली कांग्रेसको नेतृत्वभित्र पनि प्रधानमन्त्री शेरबहादुर देउवाको राजनीतिक व्यक्तित्व पहिले देखिनै विवादस्पद देखिदै आएको छ । उनको हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने बानीले गर्दा यो स्थिति आइरहने उनलाई नजिकबाट चिन्ने कांग्रेसकै नेताहरु बताउँछन् । त्यसैले चौथोपटक प्रधानमन्त्री भएको एकहप्ता पनि नवित्दै उनले आफ्नो नेतृत्वको सरकारको मुखमा ‘पहिलो गाँसमै ढुंगा’ हालिदिए ।
यसले शेरबहादुर देउवा नेतृत्वको सरकारको यात्रालाई खल्लो महसुस गराइदिने निश्चित छ । हतारमा निर्णय गर्ने र भाग्यवादमा बढी विश्वास गर्ने आदत भएका प्रधानमन्त्री देउवा राजनीतिक रुपमा फस्नुमा उनलाई सल्लाह दिने राजनीतिक सल्लाहकार र उनका वरिपरिको टिमले समेत भूमिका खेलेको यसअघिका राजनीतिक घटनाक्रममा देखिने गरेको थियो तर योपटक भने त्यसरी विश्लेषण गरिहाल्ने बेला भएको छैन ।
प्रधानमन्त्री देउवालाई उनको पछि रहने कांग्रेसभित्रकै एउटा समुहले चुनाव सार्न दबाब दिएका प्रसंगहरु भने बाहिर आइरहेका छन् । उनीहरु प्रत्यक्ष–अप्रत्यक्ष रुपमा छिमेकी भारतको इशारामा चलेको र मधेसको सवालमा भित्री राजनीतिक खेलाडीको रुपमा भूमिका खेलिरहेको समेत बताइन्छ ।
मधेसमा कट्टरपन्थी राजनीतिक धारको नेतृत्व यसबेला सिके राउतले गर्दै आएका छन् । राउतलाई बेला–बेलामा राज्य विखण्डनको अभियान सञ्चालक र त्यस अभियानलाई प्रश्रय दिने खालका अभिव्यक्ति दिएको भन्दै गम्भीर आरोपहरु लाग्दै आएका छन् । राज्यले उनलाई बेला–बेलामा नियन्त्रणमा समेत लिइरहेको हुन्छ र उनी तारिखमा छुट्ने गरेका छन् ।
उनै सिके राउतसँग राष्ट्रिय जनता पार्टीको प्रत्यक्ष–अप्रत्यक्ष साँठगाँठ भएका प्रमाणहरु भेटिएका छन् । पछिल्लो समयमा मधेसमा आन्दोलनको घोषणा गरेको राजपालाई उनै सिके राउतले आन्दोलनका स्वरुपहरुको बारेमा सल्लाह दिने गरेका छन् ।
सिके राउतको मिसन भनेको मधेसलाई नेपालबाट अलग गर्नु रहेको मधेस मामिला जानकारहरु बताउने गर्छन् । वास्तवमा सिके राउतलाई कसले उचालिरहेको छ र महन्थ ठाकुरजस्ता नेताहरु उनीसँग किन सल्लाह लिइरहेका छन् ? यो विषयमा गम्भीर हुनुपर्ने अवस्था आएको मधेसलाई नजिकबाट बुझ्ने जानकारहरु बताउँछन् ।
मुलुकमा नयाँ संविधान जारी भएलगत्तै मधेसमा देखिएको राजेन्द्र महतो लगायतका नेताहरुको रवैया र भारतसँग गाँसेको सामिप्यताले पनि अहिले दोश्रो चरणको निर्वाचनसम्म आइपुग्दा उनीहरुको मिसन सोझो रहेको बुझ्न सकिन्छ ।
राजनीतिक विश्लेषकहरुका अनुसार यसबेला भारत र मधेसमा कट्टरपन्थी राजनीतिक बाटो अख्तियार गरेका केही समुहहरुले कांग्रेस सभापति देउवाजस्तो उपयुक्त पात्र मुलुकको नेतृत्वमा पाएका छन् ।
प्रधानमन्त्री देउवामा समेत आफुलाई सरकारमा निकै लामो समयसम्म राख्न चाहने महत्वाकांक्षा र मधेसमा गड्बडी मच्चाउन चाहने तत्वहरुको महत्वाकांक्षा मिलेको देखिन्छ,जसका कारण राष्ट्रिय अखण्डतामाथिनै कुठराघात हुनसक्ने धेरैको आंकलन छ ।छलफलबाट साभार



