काठमाडौं । आजको जमानामा इन्टरनेट प्रयोगकर्ताका लागि युट्युव सामान्य रहेन । सानादेखि ठूला सबै उमेर समूहका लागि मानिस युट्युवमा झुम्मिने गर्छन् । एउटा सचेत प्रयोगकर्ताले युट्युवमा कस्ता सामग्री हेर्ने भनेर सहजै छ्ट्याउन सक्छ ।तर बालबालिका वा कम उमेर समूहका प्रयोगकर्तामा भने युट्युबको गलत प्रयोगको खतरा रहन्छ । त्यतिमात्रै होइन युट्युब सामग्रीमा प्रयोग गरिने शब्द, दृश्यले सिधै उनीहरुको मनोविज्ञानमा असर पार्न सक्छ ।युट्युवमा उपलब्ध सामग्रीका कारणा बालबालिका कुनै नराम्रा गतिविधिमा संलग्न हुनसक्ने भएकाले पनि यसमा ध्यान दिन आवश्यक छ । यसैलाई ध्यान दिँदै युट्युवले बालबालिकाको लागि छुट्टै प्लेटफर्मको रुपमा ‘युट्युव किड्स’ सुरु गरेको छ ।
यसमा सीमित कन्टेन्टमात्रै उपलब्ध गराइएको छ । यो साना बालबालिकाको लागि त ठीक हुनेछ । तर, अलि बढेका बालबालिकाले स्मार्टफोन तथा ट्याबमा आफैं धेरै कुरा गर्नसक्ने भएकाले उनीहरुले सहजै युट्युवमा एक्सेस गर्न सक्छन् ।यसैबीच युट्युवले बालबालिकाले के हेरिरहेका छन भनेर निगरानी गर्नसक्ने फिचर उपलब्ध गराउने भएकाे छ । त्यसका लागि युट्युवले नयाँ सिस्टम विकास गरेको छ ।‘कनेक्टेड एक्सपिरियन्स’मार्फत अभिभावक आफ्ना बालबालिकालाई निगरानी गर्न सक्नेछन् । यसका लागि युट्युवले लामो समयदेखि प्यारेन्ट्स र विज्ञसँग सहकार्य गरी काम गर्दै आएको थियो ।
‘हामीले नयाँ सिस्टमको विकास गरेका छौं,’ युट्युवले आफ्नो ब्लगमार्फत जानकारी दिँदै भनेको छ, ‘यो फिचर अबको एक महिनाभित्र बेटा भर्सनका रुपमा सार्वजनिक हुनेछ ।’यो फिचर प्रयोग गर्न दुवै डिभाइसमा एउटै गुगल अकाउन्ट लगइन भएको हुनुपर्ने युट्युवले जनाएको छ । कम्पनीका अनुसार यसमार्फत अविभावकले कन्टेन्ट सेटिङ र सुविधा लिमिट गर्न सक्नेछन् ।










