नवलपरासीको परासीमा राजपाका कार्यकर्ता र प्रहरीबीचको झडपका क्रममा गोली चलेको छ ।

शनिबार अपरान्ह राजपाको कार्यक्रम स्थल नजिकै उसका कार्यकर्ताहरुले स्टोर गरेको राखिएको एमालेको सूर्य चिन्ह अंकित टिसर्ट जलाइदिएपछि भएको झडपका क्रममा प्रहरीले गोली चलाएको हो ।  सो क्रममा राजपाका ४ कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राजपाका एक नेताले दिएको जानकारी अनुसार अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले भाषण गर्दागर्दै झडप उग्र बन्दै गोली चल्ने सम्मको अवस्था निम्तिएको थियो भने गोली चलेसँगै कार्यक्रम नै विथोलिन पुगेको थियो ।

प्रहरीले राजपाका कार्यकर्तालाई नियन्त्रणमा लिन तितरबितर पार्ने क्रममा सुरुमा एक दर्जन आश्रुग्यास प्रहार गरेको र त्यसले पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि रबरको गोली चलाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

राजपाका कार्यकर्ताका अनुसार प्रहरीले आधा दर्जन रबरका गोली हानेको थियो । घटनापछि परासी क्षेत्र तनाव ग्रस्त स्थानीय एक पत्रकारका अनुसार कार्यक्रमस्थल नजिकै सो झडप भएको हो भने सोलगत्तै कार्यक्रम विथोलिन पुगेको थियो र राजपाका नेताहरुलाई सहयोगीले सुरक्षित स्थलतर्फ लगेका थिए ।

झडपमा घाइते भएकाहरुलाई जिल्लास्थित पृथ्वी चन्द्र अस्पतालमा भर्ना गरिएको छ भने घाइतेहरुको परिचय खुल्न बाँकी रहेको छ ।  राजपाले असार १४ गते हुने चुनावको विरोधमा परासीमा आज विरोध सभाको आयोजना गरेको थियो ।