काठमाडौं । दाल बेच्न भनेर घरबाट निस्केका दीपक जोशी तिम्सिना ४० वर्षपछि कोलकातामा भेटिए । नेपालको इलामको एकतप्पा गाउँका उनी घरबाट निस्केदेखि परिवारको सम्पर्कमा थिएनन् । गएको महिना मात्रै उनको भाइ प्रकाशचन्द्र तिम्सिनाले कोलकाताको दमदम केन्द्रीय जेलमा उनलाई भेटे ।ज्योतिषशास्त्रमा रुचि भएका दीपक गाउँमै सानोतिनो काम गर्थे । ‘दाल बेच्छु’ भनेर घरबाट निस्केका उनी वर्षौैँसम्म फर्केर नआउँदा परिवारले फर्किन्छन् भन्ने आशा मारिसकेका थिए ।
दीपकका भाइ प्रकाश भन्छन्, “हामीले दाइ मरिसक्नुभयो भन्ने सोचेका थियौँ । हामीले उनलाई नेपालको हरेक ठाउँ खोज्यौँ । तर, कतै पनि भेट्टाएनौँ ।” प्रकाश अगाडि थप्छन्, “त्यो बेला दार्जिलिङमा गोरखाल्यान्ड आन्दोलन चलिरहेको थियो । कतै त्यही आन्दोलनको चपेटामा परेर दाइको निधन भयो कि भन्ने पनि हामीलाई लागेको थियो । यति लामो समयपछि दाइको बारे केही खबर आउँला भनेर हामीले कल्पनै गरेका थिएनौँ ।”
दीपक पश्चिम बंगालका जेलहरुमा विचाराधीन कैदीको रूपमा एउटाबाट अर्को जेलमा स्थानान्तर भइरहेका थिए । उनीविरुद्धको सुनुवाइ चार दशकमा पनि पूरा हुन सकेन । गत बुधबार मात्रै कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशको डिभिजन ब्याचले उनको मुद्दामा सुनुवाइ सुरु गर्यो । जोशीको मुद्दामा अर्को सुनुवाइ मार्च १५ (सोमबार) हुँदै छ ।चालीस वर्षसम्म जेलको चक्कर काटेका दीपकको जिन्दगीमा पछिल्लो केही महिना भने नाटकीय घटनाहरु घट्न थाले । गत वर्ष फेब्रुअरीमा राधेश्याम दास नंदीग्रामबाट दमदम केन्द्रीय कारागारमा सरे । उनलाई माओवादी संगठनसँग जोडिएको आरोपमा पक्राउ गरिएको थियो । उनी सन् २०१६ मा पनि केही दिन दमदम जेलमा बसेका थिए ।
“गत वर्षको फेब्रुअरीमा मलाई दमदम ल्याउँदा मैले पहिलेदेखि चिनिरहेको दीपकजीसँग पुनः एकपटक भेट भयो । जेलमा मानसिक रूपमा अस्वस्थ रहेकाहरुसँग म स्वेच्छाले परिचय गर्छु,” राधेश्यामले भने, “यसैक्रममा दीपकसँग पनि मेरो चिनाजान भएको थियो । कुराकानीको दौरानमा थाहा पाएँ कि उनी ४० वर्षदेखि जेलमै कैद थिए र उनकोे मुद्दामा कसैले पनि सुनुवाइ गरिरहेका थिएनन् ।”दीपकको पीडा सुनेका दासले पश्चिम बंगाल एमेच्योर रेडियो क्लबसँँग सम्पर्क गरे । रेडियो क्लबका सचिव अम्बरीश नाग विश्वास भन्छन्, “राधेश्याम दासमार्फत एक व्यक्ति बिनासुनुवाइ ४० वर्षदेखि जेलमै छन् भन्ने सुन्दा म अच्चमित भएँ । हामीले जेल कार्यलयमा सम्पर्क गर्यौँ । सुरुमा त उनीहरुले पनि विश्वास गर्न चाहेनन् । तर, सोधखोज गरेपछि उनीहरुले पनि थाहा पाए कि दीपक जोशी तिम्सिना नामका एक कैदी सन् १९८१ देखि जेलमा बन्द छन् र यति लामो समयसम्म उनको मुद्दामा कुनै सुनुवाइ भइरहेको थिएन ।”
काम पाउन हत्या ! थप अनुसन्धानका क्रममा अम्बरीश नाग विश्वास र उनको रेडियो क्लबका सदस्यहरुले पत्ता लगाए कि दीपकलाई सन् १९८१ मा हत्याको मुद्दामा दार्जिलिङबाट पक्राउ गरिएको थियो ।अम्बरीश नाग भन्छन्, “नेपालबाट आएर दार्जिलिङको चिया बगानमा उनले काम गरेका रहेछन् । त्यो काम दीपकले एक व्यक्तिको हत्या गरेर पाएका थिए । काम दिनेले दीपकलाई एक व्यक्तिको हत्या गर्नुपर्ने सर्त राखेका थिए र दीपकले माने पनि । यही घटनामा दीपक जेलको चक्कर काटिरहेका रहेछन् ।”
हत्याको आरोपमा पक्राउ परेपछि उनलाई कुनै अदालतमा पेस नगरी विभिन्न जेलमा सारिएको थियो । दीपकको नेपालमा ठेगाना र परिवारका सदस्यको बारेमा थाहा पाउन उक्त रेडियोको संगठनले कोलकातामा रहेको नेपाली वाणिज्य दूतावाससँग सम्पर्क गरेको रहेछ ।सन् २०१५ अर्थात् ०७२ सालमा नेपालमा गएको विनाशकारी भूकम्पको समयमा रेडियो संगठनका प्रतिनिधिहरु नेपाल आएका रहेछन् । यहाँ उनीहरुले वकिल सतीशरिशना खरेललाई सोबारेमा जानकारी गराएर नेपालमा उनको परिवारबारे सोधखोज गरे । सतीशमार्फत उनीहरुले दीपकको ठेगानाबारे पत्ता लगाए ।
दीपकले पढेको विद्यालयमा उनको बारेमा सोधपुछ गर्दा सबैले उनको मृत्यु भइसकेको बताए । यो कुरा कोलकाता उच्च अदालतसम्म पुग्यो र अदालतले जनहितको मुद्दा दर्ता गरेर नेपालको वाणिज्य दूतावासको सहकार्यमा दीपकको मुद्दालाई अगाडि बढायो । यो मुद्दामा अदालतले राज्य लिगल एडसर्भिसलाई पनि संलग्न गरायो । जसले गरिब कैदीहरुलाई कानुनी सहयोग प्रदान गर्छ ।४० वर्षदेखि हराएका दाइलाई भेट्न प्रकाश कोलकाता पुग्न लाग्दा उनकी आमाले दीपकको एउटा फोटो ल्याउन भनेकी थिइन् । तर, कानुनी अनुमति नभएकाले उनले दाइको फोटो लिन पाएनन् ।










