प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजप)लाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गरेका छन् । पार्टी नेताहरू विमलेन्द्र निधि, फरमुल्लाह मन्सुरमार्फत अनौपचारिक छलफल चलाउँदै आएका देउवाले शनिबार बिहान राजपा अध्यक्षमण्डलका सदस्य महेन्द्र राय यादवलाई आफ्नै निवास बूढानीलकण्ठमा भेट गरी दोस्रो चरणको निर्वाचनमा सहभागी हुन आग्रह गरे । भेटमा माओवादी केन्द्रका नेता मातृका यादव पनि सहभागी थिए । मातृका राजपा नेता महेन्द्र राय यादवलाई लिएर देउवानिवास पुगेका थिए ।
प्रधानमन्त्री देउवाले तराई–मधेसको विकास र राजनीतिक अधिकारका लागि पनि राजपाले निर्वाचनमा भाग लिनुपर्ने भन्दै यादवलाई सम्झाएका थिए । ‘मधेसमा कहिले द्वन्द्व र कहिले अधिकारका हिसाबले पछि पार्दै आइयो । निर्वाचनपछि आउने जनप्रतिनिधिले अधिकार र विकास सबै गाउँगाउँसम्म लान्छन्,’ देउवाले भने, ‘त्यसैले अधिकार दिलाउने निर्वाचनमा भाग लिएर जनमतको सदुपयोग गर्नुस् । तराईंका जनताको भावनाअनुसार हामी निर्वाचनपछि संविधान संशोधन गरेर जान्छौँ । अहिले मधेसी जनताको निर्वाचनका भाग लिन पाउने अधिकारलाई वञ्चित नगर्नुस् ।’ प्रधानमन्त्री देउवाले दुई असोजसम्म राजपाकै नाममा निर्वाचन लड्ने वातावरण बनाउने भन्दै अहिले स्वतन्त्र उम्मेदवारी दर्ता गराउन आग्रह गरेका थिए ।
यसअघि राजपाका नेता महेन्द्र यादव र शरत्सिंह भण्डारीले पहिलोचोटि दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा सार्ने गरी मध्यमार्गी प्रस्ताव ल्याएका थिए । राजपामा यी दुई नेता मध्यमार्गी धारका भएकै कारण कांग्रेस र माओवादीका नेताले उनीहरूलाई मनाउने प्रयास गर्दै आएका छन् । आइतबार एक, पाँच र सात नम्बर प्रदेशमा उम्मेदवार मनोनयन गर्ने कार्यतालिका छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
अब निर्वाचन सर्दैन : देउवा
प्रधानमन्त्री देउवाले दुई दिनअघि प्रदेश नम्बर– दुईको निर्वाचन असोजसम्म स्थगित गर्ने र एक, पाँच र सात नम्बर प्रदेशमा निर्वाचन गर्ने सहमति भए पनि तराई गएर आएपछि राजपाका नेताले कुरा फेरेको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘राजपाकै नेताको प्रस्तावअनुसार हामीले प्रदेश नम्बर– दुईको निर्वाचन सारेका हौँ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै बुढानिलकण्ठ स्रोतले भन्यो, ‘अब मनोनयनको दिन आइसक्यो, फेरि पाँच नम्बरको सारौँ, पाँच नम्बर प्रदेशका तीन जिल्लाको निर्वाचन सारौँ भन्ने माग अब जायज छैन ।’ प्रदेश नम्बर– दुईमा रहेका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको निर्वाचन दुई असोजका लागि सारेपछि राजपा नेताहरूले पाँच नम्बर प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तु जिल्लाको मात्रै भए पनि निर्वाचन सार्न माग गरेका छन् । तर, अब कानुनले पनि नमिल्ने र व्यावहारिक पनि नहुने भन्दै सरकार निर्वाचन सार्ने पक्षमा छैन ।
देउवाले प्रदेश नम्बर– दुई बाहेकका प्रदेशमा हुने निर्वाचनमा भाग लिन आग्रह गरे पनि राजपा नेता महेन्द्र राय यादव अध्यक्ष मण्डलका अन्य नेतासँग कुराकानी गर्ने भन्दै बाहिरिएका थिए । प्रधानमन्त्रीसँगको छलफलपछि यादव अध्यक्ष मण्डलका अन्य नेतासँगै नवलपरासीमा विरोधको कार्यक्रममा सहभागी हुन पुगेका थिए । प्रधानमन्त्री देउवाले यादवद्वयसँग सबा घन्टा छलफल गरेका थिए ।
पहिले राजपाका नेताले प्रदेश नम्बर– दुईको मात्रै निर्वाचन सार्न तयार भए पनि तराई गएर फर्किएपछि पुनः पाँच नम्बर प्रदेशको पनि सार्न माग गरेका हुन् । दुई नम्बर प्रदेशका जनताले ‘दुई नम्बर मात्र मधेस’ भनेर छुट्याउन खोजेको भन्दै दबाब दिएपछि राजपाले पुनः पाँच नम्बर प्रदेशको निर्वाचन सार्न माग गरेको हो ।
देउवा सोमबार बालुवाटार सर्ने
प्रधानमन्त्रीमा निर्वाचित भएको १४औँ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारीनिवास बालुवाटार सर्ने तयारी गरेका छन् । रंगरोगनसहितका काम सकिन समय लागेको बताइए पनि साइत हेराउँदा पाँच असारमा उपयुक्त समय मिलेपछि १४ दिनपछि प्रधानमन्त्री देउवा बालुवाटार सर्न लागेका हुन् । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले पाँच असारमा बालुवाटार सर्ने गरी तयारी भइरहेको जानकारी दिए ।
पाँच बजे प्रवेश गरिसक्ने, ६ बजे पूजा सक्ने
सोमबार पाँच बजे बालुवाटार प्रवेश गरिसकेपछि ६ बजेभित्र पूजाआजा गरिसक्ने गरी तालिका तय भएको बुढानिलकण्ठ स्रोत बताउँछ । यसअघिका प्रधानमन्त्रीहरूले बालुवाटार सर्दा गर्ने गरेको जस्तै पूजाको विधि गर्ने तयारी छ । पूजासहित बोकाको बलिसमेत दिने तयारी रहेको प्रधानमन्त्रीनिकट स्रोत बताउँछ ।



