इन्स्टाग्रामले बालबालिका तथा किशोर किशोरीलाई लक्षित गर्दै नयाँ सेफ्टी फिचर ल्याउने भएको छ। मंगलबार इन्स्टाग्रामले कम उमेरका बालबालिकालाई एकाउण्ट बनाउनबाट रोक्न तथा अन्जान वयस्कहरुलाई ती प्रयोगकर्ताहरुको सम्पर्कमा आउन रोक्ने उद्देश्य सहित आफ्नो नयाँ प्रविधि सार्वजनिक गरेको हो।
इन्स्टाग्रामले साना उमेरका प्रयोगकर्ताहरु खोज्नका लागि आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग गर्ने भएको छ जसमार्फत साइन अप गर्दा प्रयोगकर्ताको उमेर पत्ता लाग्नेछ। इन्टाग्रामका अनुसार धेरै युवाहरुले आफ्नो जन्म मितिका बारेमा झुट बोल्ने भएकाले यस्तो रोक्न आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निंग प्रविधि विकसित गर्ने भएको छ। यस कार्यबाट किशोर किशोरीहरु सुरक्षित हुने तथा उमेरसँग सम्बन्धित नयाँ फिचर लागु गर्नमा सहयोग पुग्ने इन्स्टाग्रामको अपेक्षा छ।
यसबाहेक युवा युवतीले १८ वर्षभन्दा कम उमेरका आफूलाई फलो नगर्ने प्रयोगकर्ताहरुलाई मेसेज पठाउन रोक्ने नयाँ फिचर पनि इन्स्टाग्रामले सार्वजनिक गर्नेछ। यसबाट अनावश्यक कन्टेण्टलाई रोक्न सकिनेछ।
किशोर किशारीसँग शंकास्पद व्यवहार तथा कुरा गर्ने युवा अथवा युवती विरुद्ध अब इन्स्टाग्रामले कडा कदम चाल्दैछ। जसका लागि कम्पनी यस्ता युवायुवतीको सजेस्ट यूजर्समा किशोर वा किशोरीको अकाउण्ट देखाउन प्रतिबन्ध लगाउन सक्नेछ। यस्तै इन्स्टाग्रामले युवायुवतीले गरेको शंकास्पद व्यवहारका लागि किशोरकिशोरीलाई सावधान पनि गराउनेछ जसमा सबैभन्दा बढि प्राइभेट मेसेज पठाउने समावेश हुनेछन्। यस टूलको प्रयोगले प्रयोगकर्तालाई सावधान बनाउनका साथैे कुराकानीको अन्त्य गर्ने, शंकास्पद व्यक्तिलाई ब्लक गर्ने, रिपोर्ट गर्ने वा प्रतिबन्ध गर्ने विकल्प दिइनेछ।
१३ वर्षभन्दा कम उमेरकालागि इन्स्टाग्रामकाे नयाँ भर्जन
यसैगरी १३ वर्षभन्दा कम उमेरका बालकालिकाका लागि नयाँ भर्जनमा इन्स्टाग्रामले काम गरिरहेकाे छ। बजफिडकाे समाचार अनुसार इन्स्टाग्रामले आफ्नो एपकाे ट्रिम डाउन भर्जनमा काम गरिरहेकाे छ जसकाे प्रयाेग केवल १३ वर्षभन्दा कम उमेरकाले गर्नेछन्।
हाल इन्स्टाग्राममा अकाउण्ट बनाउन १३ वर्षभन्दा माथि हुनुपर्ने नियम छ। १३ वर्षभन्दा कम उमेरका बालबालिकाले इन्स्टाग्रामकाे बायाेमा उक्त अकाउण्टकाे व्यवस्थापन आमा बुवा वा अन्य काेहि परिपक्व व्यक्ति हुनुपर्दछ। यदि काेहि व्यस्कले १३ वर्षभन्दा कम उमेरकाे भन्दै अकाउण्ट खाेलेमा साे फेक अकाउण्टलाई हटाउने नियम पनि रहेकाे छ।










