
झापा । झापामा टिपरले दुई वटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चार जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक नगरपालिका ४ चिया बगान नजिकै शनिवार बेलुका साढे ५ बजे पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको प्रदेश १-०२-००१क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०४४प ८१३३ नम्बरको मोटरसाइकल र सोही दिशा तर्फ गइरहेको को २८प ११३६ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोरङ रतुवा माई नगरपालिका ८ बस्ने २४ को अनीश कोइराला मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । घाइते कोइरालालाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो ।
त्यस्तै दुर्घटनामा परी प्रदेश १ ०२ ०४४ प ८१३३ नम्बरको मोटरसाइकल चालक मोरङ रतुवा माई नगरपालिका ८ बस्ने २३ वर्षीय निरन बस्नेत, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १८ बर्षीय हर्सित बास्तोला, को २८प ११३३ नम्बरको मोटरसाइकल चालक मोरङ उर्लाबारी नगरपालिका ८ बस्ने ४० वर्षीय तुलाराम ढुङ्गाना र सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ८५ वर्षीय शिवलाल ढुङ्गाना घाइते भएका छन् ।
घाइते बस्नेत र बास्तोलालाई उपचारका बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ, भने अन्य दुई जनाको लाइफ लाइन अस्पताल दमकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता इलाका प्रहरी कार्यालय दमकले टिपर चालक दमक ४ बस्ने ४९ वर्षीय प्रकाश तामाङसहित तीन वटै सवारीसाधन नियन्त्रणमा लिएको छ ।