काठमाडौं । आजकल यस्ता धेरै एप्लिकेसन र वेबसाइटहरु हुन्छन्, जसले तपाईंको पासवर्ड सेभ गर्ने अनुमति माग्दछन् । अनि त्यस्ता धेरै प्रयोगकर्ता छन् जसले मोबाइल तथा ल्यापटपको ब्राउजरमा आफ्नो पासवर्ड सेभ गर्ने अनुमति दिइरहेका हुन्छन् ,यदि समय बचाउन तपाईं यसो गर्दै हुनुहुन्छ भने सचेत रहन जरुरी छ । यसबाट तपाईंको अकाउन्ट ह्याक हुने सम्भावना रहन्छ । यसका साथै जब तपाईं आफ्नो मोबाइल वा कम्प्युटर कुनै साथी वा चिनजानको व्यक्तिलाई दिनुहुन्छ, उसले यसरी सेभ गरिएका पासवर्ड सहजै हेर्न सक्छ ।इन्टरनेटमा तपाईं जे देख्नुहुन्छ, त्यसलाई सही ठान्नुहुन्छ । तर कम्प्युटर बुझेको वा यस सम्बन्धी जानकारी भएको व्यक्तिले भने इन्टरनेटमा देखिने सबै सामग्रीलाई सही सत्य मान्दैन ।
किन भने इन्टरनेटमा तपाईं जे देख्नुहुन्छ वा तपाईंलाई जे देखाइएको हुन्छ, त्यो सही नै हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन । त्यसैले याद राख्नुहोस् कसैलाई नराम्रो देखाउने, कुनै व्यक्ति वा समुदायप्रति घृणा फैलाउन वा कुनै व्यक्ति, वस्तु वा कम्पनीको बारेमा बढाई चढाई प्रस्तुत गर्ने काम भइरहेको हुनसक्छ ।त्यसैले इन्टरनेटमा देखिने फोटो, पोस्ट, भिडियो, राजनीतिक विषयवस्तु आदि जस्ता विषयहरु देखेर त्यसैको आधारमा कसैप्रतिको धारणा बनाउँदा वा मूल्याङ्कन गर्दा गल्ती हुनसक्छ एकदमै सचेत रहनुहोस् ।अनलाइनमा हुने कुनै पनि सामग्री छनौट गर्दा तपाईं पक्कै पनि त्यसमा भएका रेटिङ तथा कमेन्टहरु पढ्नुहुन्छ । धेरै प्रयोगकर्ताको एउटा सामान्य बुझाई हुन्छ, चार तारा (फोर स्टार) माथिको रेटिङ प्राप्त सामग्री पक्कै पनि राम्रो हुन्छ ।
तर यो साँचो होइन । किन भने कतिपय यस्ता समग्री हुन्छ जसको रेटिङ निकै राम्रो हुन्छ । तर रेटिङ जस्तै ती सामग्री वास्तवमै राम्रा भने हुँदैनन् । यसको पछाडि बिक्रेताले फेक रिभ्यू र कमेन्ट राख्न लगाइरहेका हुन्छन् ।यसको अर्थ अनलाइनमा हुने सबै रेटिङ र कमेन्टहरु गलत हुन्छन् भन्ने पनि होइन । त्यसैले रेटिङको आधारमा कुनै अनलाइनमा भएका प्रडक्ट छनौट गर्नु अघि राम्रोसँग बिचार गर्नुहोस् ।सामाजिक सञ्जालमा खासगरी महंगा मोबाइलहरु सस्तो मूल्यमा उपलब्ध गराउने भन्दै विज्ञापन भइरहेको हुन्छ । यदि नपत्याउने गरी सस्तो मूल्यमा कसैले सामान बिक्री गरिरहेको छ भने हतारमा लोभ नगर्नुहोस् । तपाईं ठगीको शिकार बन्न सक्नुहुन्छ ।
फेसबुकमा कतिपय यस्ता म्यासेज तथा ईमेलहरु आइरहेका हुन्छन् जसमा भनिएको हुन्छ तपाईंले यति डलर वा रुपैयाँको लट्री जित्नुभएको छ । वा तपाईंले नयाँ आईफोन पाउनु भएको छ ।अनि त्यसमा पुरस्कार वा लट्री प्राप्त गर्नका लागि निश्चित प्रक्रिया पनि बताइएको हुन्छ । यस्तोमा तपाईं भने झुक्किने गल्ती गर्दै नगर्नुहोस् ।अहिलेको समयमा कसैले पनि निःशुल्क रुपमा तपाईंलाई कुनै पनि चिज त्यसै दिँदैन । यस किसिमका कार्य अनलाइनमा ठगीको चंगुलमा पार्ने उद्देश्यका साथ भइरहेका हुन्छन् त्यसैले लोभ वा प्रलोभनमा परेर यस्ता कुराको पछि नलाग्नुहोस् । सामाजिक सञ्जालमा केही यस्ता स्वघोषित इन्फ्लुएन्सर हुन्छन्, जसले कुनै निश्चित एप प्रयोग गरेर वा गेम खेलेर आम्दानी गर्न सकिने भन्दै उक्साइ रहेका हुन्छन् ।
यस्ता कुराहरुमा पनि तपाईंले पटक्कै विश्वास गर्नुहुँदैन । एपको ग्राफमा देखाइएको छ भन्दैमा पैसा कमाई हुने भ्रममा नपर्नुहोस् । अहिलेको समयमा पैसा कमाउन त्यति सहज छैन ।त्यसैले तपाईंलाई जानकारी नभएको कुनै पनि ग्याम्बलिङ, ट्रेडिङ वा गेमिङ एपको विषयमा त्यसरी प्रचार गरिएको छ भने त्यस्तो एप डाउनलोड वा इन्स्टल नगर्नुहोस् । साथै यस्ता एपमा आफ्नो व्यक्तिगत जानकारी राख्ने वा पैसा लगाउने भूलबाट टाढा रहनुहोस् ।
पक्कै पनि तपाईं बजारमा गएर विभिन्न सामानहरु खरिद गरिरहनु भएको हुन्छ । तपाईं इन्टरनेट प्रयोग गर्नुहुन्छ भने आफूले कुनै इलेक्ट्रोनिक सामग्री वा मोबाइल, ल्यापटप, टिभी, रेफ्रिजेरेटर आदि किन्नु अघि त्यसबारेमा राम्रोसँग सर्च गर्न नभुल्नुहोस् ।किन भने बजारमा बिक्रेताले तपाईंलाई अनावश्यक र कमसल किसिमका सामग्री भिडाइदिन सक्छन् । त्यतिमात्र होइन तपाईं मूल्यको हिसाबले समेत चर्कोमा पर्न सक्नुहुन्छ । इन्टरनेटमा तपाईंले केहीबेर गर्ने सर्चले तपाईंलाई सही सामान छनौट गर्ने निर्णय लिन निकै ठूलो मद्दत पुर्याउन सक्छ ।










