नेपालगञ्ज : नेपाल–भारत मैत्री संघको अध्यक्षमा ओम प्रकाश सरावगी निर्वाचित भएका छन् । आइतबार नेपालगन्जमा सम्पन्न संघको सातौं केन्द्रीय मैत्रीसभा तथा महाधिबेशनबाट ३ सय ५ मत प्राप्त गर्दै सरावगी अध्यक्ष निर्वाचित भएका हुन् । उनले वर्तमान अध्यक्ष राजकुमार सिन्धीलाई पराजित गरेका हुन । सिन्धीले १ सय ९९ मत ल्याएका थिए ।त्यस्तै वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र मोहन झा ३ सय १० मत ल्याउदै बिजयी भएका छन् भने उनका प्रतिद्वन्दी बिष्णु सापकोटाले १ सय ९२ मत प्राप्त गरे । महासचिवमा २८१ मत ल्याउदै बोधकृष्ण सुबेदी निर्वाचित भए । सातै प्रदेशका उपाध्यक्ष र सदस्यसहित २९ सदस्सीय कार्यसमिति निर्वाचित भएको छ । जसमा सचिव मनोनित हुने निर्वाचन समितिले जनाएको छ ।५ सय ६७ मतदाता रहेकोमा ५ सय ६ मत खसेको थियो । संघमा निर्वाचनका लागि जम्मा ४६ जनाले उम्मेद्धारी दिएकोमा ३ जनाले फिर्ता लिएका थिए । ७ जना निर्विरोध भएका छन् । उपाध्यक्ष ३ जना, सात क्षेत्रका महिला सदस्य ५ जना निर्विरोध भएका हुन । निर्विरोध हुने उपाध्यक्षमा प्रदेश १ का लोकेन्द्र कुमार श्रेष्ठ, प्रदेश ४ का ऋषिराम सापकोटा, प्रदेश नं. ६ का धनबहादुर श्रेष्ठ रहेका छन् ।
नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय मैत्रीसभा तथा महाधिवेशन नेपालगन्जमा शनिबारबाट सुुरु भएको थियोे । संघको केन्द्रीय मैत्रीसभा तथा महाधिवेशनको उद्घाटन प्रतिनिधी सभा सदस्य एव पूर्वमन्त्री संजय कुमार गौतमले गरेका थिए ।संघले नेपाल र भारत बीचको सम्बन्ध प्रगाढ बनाउन पुलको काम गरेको गौतमले बताए । नेपाल र भारत बीच बिभिन्न समयमा देखिएका समस्याको समाधानका लागि पनि संघले महत्वपूर्ण समन्वय गरेको गौतमको भनाइ थियो ।६ दशक अघि स्थापना भएको संघको प्रमुख उद्देश्य दुबै देश बीचको सम्बन्ध प्रगाढ बनाउनुका साथै सांस्कतिक, साहित्यीक, भाषिक कार्यक्रमको आदान प्रदान गर्नु भएको उनले बताए । उनले नेपालका ७० जिल्लामा संघ गठन भएको भन्दै करिब ९ हजार नेपाली नागरिक यसको आजिवन सदस्य रहेको जानकारी दिए ।










