काठमाडौं- नेपालमा ४१ हजार क्षयरोगका नयाँ बिरामी अझै पनि उपचारको पहुँच बाहिर रहेको पाइएको छ। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर अनुज भट्टचनले उपचारको दायरामा नआएका करिव ४१ हजार क्षयरोगका नयाँ बिरामी रहेको जानकारी दिए।उनले क्षयरोग कार्यक्रमको उपचार प्रक्रियामा नआएका क्षयरोगका बिरामी पत्ता लगाई उपचारमा ल्याउन राष्ट्रिय क्षयरोग कार्यक्रमलाई ठूलो चुनौती रहेको पनि बताए।भट्टचनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा गरिएको क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष करिव ६९ हजार जना नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन्।नेपालमा हाल नयाँ तथा पुराना क्षयरोगका बिरामीको संख्या वार्षिक करिव १ लाख १७ हजार जना रहेको आँकलन गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा नेपालमा क्षयरोगका बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा ९३ जना रहेका छन्।यस्तै गत आर्थिक वर्षमा १ लाख ५५ हजार ३ सय ७१ जना क्षयरोगका सम्भावित व्यक्तिहरुको विभिन्न विधिबाट परीक्षण गर्दा  २७ हजार ७ सय ४५ जना नयाँ क्षयरोगका बिरामी पत्ता लागेको थियो।

उनीहरुलाई राष्ट्रिय क्षयरोग कार्यक्रमको नीति अनुसार उपचार गरिएको थियो।डा भट्टचनका अनुसार क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणका अनुसार नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान ९ प्रतिशत रहेको छ। यस्तै उपचार गराउनेको संख्या करिब १५ प्रतिशत रहेको अनुमान गरिएको छ।निजी स्वास्थ्यसंस्थाबाट उपचार गराइरहेका बिरामीलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली भित्र ल्याउन प्रयास भइरहेको डा भट्टचनले जानकारी दिए।हाल देशभर ४ हजार ९ सय ५५ उपचार केन्द्रहरुबाट डस्ट उपचार सेवा तथा ७६५ प्रयोगशाला र ७२ वटा जीनएक्सपर्ट केन्द्र एवम् २ वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिएको छ।यस्तै, औषधि प्रतिरोधी क्षयरोगका २२ वटा उपचार केन्द्र। ८१ वटा उपचार उपकेन्द्र र ६ वटा डिआर होस्टेल, एउटा डिआर होम र एउटा टिटिआरएमसी मार्फत सेवा उपलब्ध गराइएको डा भट्टचनको भनाइ छ। नेपालमा वार्षिक १७ हजार क्षयरोगका बिरामीको मृत्यु हुने गरेको केन्द्रले जनाएको छ।डा भट्टचनका अनुसार नेपालमा औषधि प्रतिरोधी क्षयरोगको बिरामीको संख्या बढ्दै गइरहेको छ।

औषधि प्रतिरोधी क्षयरोगको बिरामी बढ्दै गर्दा उनीहरुको प्रभावकारी व्यवस्थापनमा सरकारलाई चुनौती थपिएको उनले बताए।विश्व स्वास्थ्य संगठनको आंकलनका अनुसार नेपालमा वार्षिक रुपमा करिव २ हजार २०० औषधि प्रतिरोधी क्षयरोगका बिरामी थपिने गरेका छन्।गत आर्थिक वर्ष २०७६/७७ मा औषधि प्रतिरोधी क्षयरोगका ३८४ जना बिरामीलाई नियमित उपचारमा ल्याइएको थियो।अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीलाई उपचारको दायरामा ल्याउन नसकिएको डा भट्टचनको भनाइ छ।क्षयरोगका बिरामीहरुलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्न असहज भएको भन्दै सरकारले आगामी ५ वर्षभित्रमा नेपालमा सबै जिल्लाहरुमा बिरामीको घरमै औषधि खुवाउन समुदायमा आधारित क्षयरोग उपचार व्यवस्थापन कार्यक्रमको विस्तार गरिने डा भट्टचनको भनाइ छ।सो पञ्चवर्षीय राष्ट्रिय रणनीतिक योजना तयार भइरको र सो योजना स्वीकृतीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस भइसको पनि उनले बताए।डा भट्टचनले सबै प्रकारका क्षयरोगका बिरामीको उपचारमा सहजता ल्याउन भक्तपुरको ठिमीमा केन्द्रीयस्तरको छाती रोग अस्पताल निर्माण गरिरहेको पनि जानकारी दिए।

उनले आगामी आर्थिक वर्ष २०७८/७९ मा सो अस्पचाल संचालन गर्ने योजनाका साथ अस्पतालको संरचना, मानव श्रोत तथा औषधि उपकरको व्यवस्था गर्ने तयारी भइरहेको पनि जानकारी दिए।डा भट्टचनले संघीय संरचनाले गर्दा क्षयरोग कार्यक्रमका लागि तोकिएका स्वास्थ्यकर्मी अयन्त्र नै सरुवा भएकाले सबै तहमा क्षयरोग सम्बन्धी प्रतिवेदन गर्न, औषधि तथा प्रयोगशाला सामग्रीहरुको ढुवानी तथा व्यवस्थापन गर्न र क्षयरोगसँग सम्बन्धित क्रियाकलापहरु संचालन गर्न समस्या भइरहेको पनि बताए।यसनले प्रत्येक स्थानीयतहमा क्षयरोग कार्यक्रम हेर्ने जनशक्तिको व्यवस्थापन गर्न आवश्यक रहेको पनि बताए। उनले आगामी आर्थिक वर्षदेखि स्थानीय तहहरुमा क्षयरोग कार्यक्रमको सूक्ष्म योजना तुर्जमा गरी स्थानीय तहहरुलाई क्षयरोगमुक्त स्थानीइतह घोषणा अभियान समेत संचालन गर्ने योजना रहेको समेत जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय