मोतीराम तिमल्सिना, काभ्रे ।

पशुहरुमा हुने विभिन्न प्रकृतिको रोग मार्फत मानव जीवनमा पर्न सक्ने असर न्युनिकरण गर्ने उदेश्यले धुलिखेल नगरपालिका वडा नम्वर ९ काभ्रेभन्ज्याङ्गमा वडा नम्वर ८, ९, १० र ११ का कृषकहरुका लागि एक दिने निशुल्क पशु स्वास्थ्य शिविर आयोजना गरिएको छ ।‘शिविरबाट पशुहरुमा हुने विभिन्न रोगको पहिचान, रोकथाम, नियन्त्रण र ब्यवस्थापन गरिने छ’– नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो –‘पशुहरुको स्वास्थ्यलाई ध्यान दिदै नागरिकहरुलाई स्वस्थ बनाउन कृषिमा आत्मनिर्भर, बजारीकरण तथा औजार वितरण र पशुहरुको विमा तथा अन्य कार्य गरिरहेका छौं ।’ ब्यक्तिहरुले पशु मात्र पाल्ने भन्दा पनि त्यसलाई ब्यवसायीकरण गर्न नगरपालिकाले विशेष योजना बनाएको उहाँले बताउनु भयो । स्वस्थ पशुहरुको उत्पादन गरी ब्यवसायीकरण गर्न, पुँजी र प्रविधि जोड्न जरुरी रहेको बताउँदै उहाँले प्रविधिले बदल्ने जीवनलाई समृद्ध बनाउन जनशक्ति र प्रविधिको ब्यवस्थापनमा नगरपालिकाले ध्यान दिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शिविरमा भेटेरिनरी अस्पताल धुलिखेलका प्रमुख डा. मोगोलप्रसाद शाहले प्रत्येक वर्ष जिल्लामा रेविज रोग देखा परेकाले त्यसको ब्यवस्थापन र रोकथामका लागि सामुदायिक कुकुरहरुको बन्याकरण गरिएको बताउनु भयो । पशुहरुमा हुने रोगको पहिचान भए पछि मात्रै उपचार र रोग नियन्त्रण गर्न सहज हुने भएकाले शिविरहरुको आयोजना हुँदै आएको उहाँले बताउनु भयो । शिविरमा उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु बसन्त रानाभाट, पुष्प राउत, विष्णु धिताल, राजकुमार हुमागाई, डा. गणेश बञ्जारा, डा. नितेश कार्की, डा. अमृत देउजा, नगरपालिकाका पशुपक्षी शाखाका प्रमुख पुरुषोतम हुमागाई, सामाजिक विकास शाखाका विदुर गौतम लगायतको सहभागिता रहेको थियो । कृषकहरुका गर्भ रहेका पशुहरुको भिडियो एक्सर, गोबर जाँच, नाम्ले र जुकाको औषधी वितरण गरिएको थियो । बाँझोपन निरुपण तथा पशुहरुमा हुने अन्य रोगको पहिचान भएको छ ।

शिविरमा कुकुर, गाई, भैसी, बाख्रा तथा विरालोहरुको उपचार तथा परिक्षण गरिएको धुलिखेल नगरपालिका पशुपक्षी शाखाका प्रमुख पुरुषोतम हुमागाईले जानकारी दिनुभयो । धुलिखेल नगरपालिकाले भेटेनरी अस्पतालको सहयोगमा उक्त कार्यक्रम आयोजना गरेको हो । शिविरमा पशु स्वास्थ्य चिकित्सकहरुको सहभागिता रहेको थियो । झण्डै दुुई सय भन्दा धेरै कृषकहरुले शिविरबाट लाभ लिईसकेको पशु स्वास्थ्य प्राविधिक बद्रि तिमल्सिनाले जानकारी दिनु भयो ।