
नेकपा (एमाले)का नेता माधवकुमार नेपालसहित चार नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । एमाले नेताहरू नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालले पार्टीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ विहीबार दिएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।यही चैत ७ गते बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । “चारै नेताको स्पष्टीकरण पत्र प्राप्त भएको छ”, उनले भने, “पत्रका के जवाफ लेख्नुभएको छ हेरिएको छैन ।” यही चैत ८ गते महासचिव ईश्वर पोखरेलले पत्र लेख्दै उहाँहरूले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै एमालेको विधानको दफा ४९ को १, २, ३, ४, ५, ६, ७, ९ र १४ अनुसार कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेका थिए ।