
काठमाडौं- सरकारले वैशाख १ बाट ट्रायल पास भएलगत्तै अस्थायी लाइसेन्स उपलब्ध गराउने भएको छ ।उक्त व्यवस्था लागु भएपछि हाल ट्रायल पास गरेको १ वर्ष बितिसक्दा पनि चालकले लाइसेन्स पाउन नसक्ने समस्याको अन्त्य हुने विभागले जनाएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट सवारी साधन सञ्चालन अनुमति पत्र (लाइसेन्स) को नयाँ व्यवस्था गर्ने भएको हो ।मन्त्रालयले विभागलाई यसैअनुसार सनर्देशन दिएसँगै यो व्यवस्था विभागले वैशाख १ बाट लागु गर्ने बताएको छ ।लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि सेवाग्राहीको लामो लाइन, प्रक्रियामुखी परीक्षा र लाइसेन्स प्रिन्टिङको ढिलाइ आदि कारणले सरकारप्रति जनताको गुनासो रहेको स्वीकार्दै प्रधानमन्त्री ओलीले यस विषयमा चासो राख्दै ट्रायल परीक्षाको प्रक्रियालाई सहज र लाइसेन्स प्राप्त गर्ने अवधि छोटो बनाउन मन्त्रालयलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री ओलीले केही समयअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री र सचिवलाई लाइसेन्सको प्रक्रिया तुरुन्त सुधार गर्न निर्देशन दिएपछि मन्त्रालयले यसमा आवश्यक गृहकार्य अघि बढाएको मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए ।सचिव श्रेष्ठका अनुसार हालसम्म लाइसेन्सको प्रयोगात्मक परीक्षा पास गर्न शतप्रतिशत अंक ल्याउनु पर्नेमा अब ७० अंक ल्याए लाइसेन्स पाइनेछ ।‘परीक्षामा ७० प्रतिशत अंक ल्याउने चालकलाई तत्कालै अस्थायी लाइसेन्स दिने छौं । प्रधानमन्त्रीज्युको निर्देशनलाई मान्दै विदेशको अभ्याससमेतलाई हेरेर वैशाख १ बाट लागु हुनेगरी यस्तो व्यवस्था गरेका छौं,’ सचिव श्रेष्ठले भने ।