नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रले एउटा ठूलो अवसर गुमाएको बताएका छन् । मंगलबार पत्रकार उजिर मगरले लेखेको अंश नामक पुस्तकको विमोचन गर्दै अध्यक्ष दाहालले सो कुरा बताएका हुन् ।
१२ वर्षअघिको एक राजनीतिक प्रसंग कोट्याउँदै अध्यक्ष दाहालले आफुहरुले शान्ति प्रक्रियामा आउनुअघि पूर्वराजा ज्ञानेन्द्रसँग वार्ता गर्न चाहेको र त्यो चाहानाई पूर्व राजा ज्ञानेन्द्रले नै बेवास्ता गरेको उनले बताए ।
उनले आफुहरुले त्यो खालको वार्ता गर्ने तयारी गरेको भएपनि यहाँका राजनीतिक दलहरुले वातावरण बनाउन नसकेको स्पष्ट पारे । विद्रोही नेताको रुपमा आफुले सिधै मालिकसँग वार्ता गर्ने भन्दै विज्ञप्ति निकालेको स्मरण गर्दै उनले ज्ञानेन्द्रले उक्त मौका समाउन नसकेको बताए ।
सिधै मालिकसँग वार्ता गर्ने चाहाने पूरा नभएपछि रोल्पामा एमालेसँग भेट भएको समेत उनले बताए । त्यसलगत्तै एमाले र माओवादीबीच छलफल भएको र भारतको दिल्लीमा १२ बुँदे सम्झौता गर्ने कुरा तय भएको समेत उनले बताए ।



