माओवादी केन्द्रका नेता एवं पूर्वसभासद् बालकृष्ण ढुंगेललाई पक्राउ गर्न नेपाल प्रहरीले विशेष संयन्त्र बनाएर परिचालन गरेको छ । सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाए पनि फरार रहेका ढुंगेललाई गत वैशाखमै सात दिनभित्र पक्राउ गर्न वारेन्ट आदेश जारी गरेपछि प्रहरीले सक्रियता देखाएको हो ।
२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको दिएपछि पीडितहरू सर्वोच्च अदालत पुगेको थिए । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गर्दे सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
प्रहरी प्रधान कार्यालयले ओखलढुंगा जिल्ला प्रहरी कार्यालयललगायतका सबै मातहत निकायलाई आन्तरिक सेट सर्कुलर गरेर तत्काल पक्राउ गरी अदालत पेस गर्न निर्देशन दिएको छ । प्रधान कार्यालय स्रोतका अनुसार ढुंगेललाई पक्राउ गर्न विशेष टोली बनाउन पनि मातहत निकायलाई निर्देशन दिइसकेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले हत्याको अभियोगमा दोषी ठहर भएका ढुंगेलले सार्वजनिक कार्यक्रममा अदालतको फैसलालाई चुनौती दिँदै अदालतप्रति भ्रम फैलाएको भन्दै उनलाई एक साताभित्र पक्राउ गर्न सरकार प्रहरी प्रधान कार्यालय तथा प्रहरी महानिरीक्षकलाई आदेश दिएको थियो ।
‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई सात दिनभित्र पक्राउ गरी जानकारी गराउन प्रहरी महानिरीक्षकका नाममा आदेश जारी गरिन्छ,’ सर्वोच्च अदालतले भनेको छ ।
सर्वोच्च आदालतले मिति तोकेरै ढुंगेललाई पक्राउ गर्न आदेश दिएपछि प्रहरी प्रशासन पनि उनलाई पक्राउ गर्न अग्रसर देखिएको हो । प्रहरी प्रशासनकै अगाडि बसेर सार्वजनिक रूपमा अभिनन्दन लिने तथा सर्वोच्च अदालतलाई मानहानि गर्ने अभिव्यक्ति दिने र न्यायाधीशहरूलाई अपशब्द प्रयोग गर्ने व्यक्तिलाई पक्राउ नगर्दा कानुनी राज्यको उपहास भएको भन्दै प्रहरीको व्यापक आलोचना भएको थियो ।
तत्कालीन समयमा पुष्पकमल दाहाल प्रचण्डकै पार्टीका नेता भएकाले उनलाई पक्राउ गर्न प्रहरीले सकेको थिएन । अहिले पनि सोही पार्टीका नेता गृहमन्त्री भएकाले उनी पक्राउ पर्ने हुन् या होइनन् भन्ने विषयमा अन्योल उत्पन्न भएको छ ।
‘स्वतन्त्र न्यायपालिका, विधिको शासन, पीडित तथा समाजका निम्ति खतरा बनिरहेका ढुंगेललाई तत्काल पक्राउ गर्नुपर्ने देखिन्छ,’ सर्वोच्च अदालतले सरकारका नाममा आदेश दिँदै भनेको छ, ‘आफू र मातहतका सम्पूर्ण प्रहरी संरचना परिचालन गरी पक्राउ गर्न र जो, जससँग समन्वय गर्नुपर्ने हो त्यसमा कमी हुन नदिनू ।’
३० फागुनमा ढुंगेललाई गृहजिल्ला ओखलढुंगा तथा रामेछापको सैपूमा माओवादी जिल्लास्तरीय तथा गाउँस्तरीय कार्यकर्ताहरूले नागरिक अभिनन्दन गरेका थिए ।
नयाँ शक्ति पार्टी, नेपाल, नेपाल कम्युनिस्ट पार्टी र क्रान्तिकारी माओवादीले संयुक्त रूपमा ढुंगेललाई अभिनन्दन गरेको बेला उनले सर्वोच्च अदालत तथा उनका विरुद्धमा फैसला गर्ने न्यायाधीशलाई अपशब्द प्रयोग गर्दे गाली गरेका थिए । उनले त्यस कार्यक्रममा अभिव्यक्त गरेका भनाइ भिडियोमार्फत सार्वजनिक भएपछि सर्वोच्च अदालतमा उनीविरुद्ध मानहानीको मुद्दा दायर गरिएको थियो ।



