
बाङ्ग्लादेशले आफ्नो ५०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत साता गरेको भ्रमण स्मरणीय हुने आशा गरेको थियो।
तर मोदीविरुद्ध भएका प्रदर्शनहरू हिंसात्मक बन्दा कम्तीमा १२ जनाको ज्यान गयो।देशभित्र र बाहिर मोदी एउटा विभाजनकारी पात्रका रूपमा चिनिन्छन्।हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी नेतृत्वको उनको सरकारमाथि भारतमा मुस्लिम अल्पसङ्ख्यकविरोधी नीति लिएको र मुस्लिमविरुद्ध हुने हिंसा रोक्न पर्याप्त कदम नचालेको आरोप छ।हुन त भाजपाले ती आरोपहरू अस्वीकार गर्दै आएको छ।मोदीको विभाजनकारी छविका कारण ढाकामा प्रदर्शनहरू चर्किएको देखिन्छ र त्यसपछि भएका हिंसाका घटना निःसन्देह दुवै मुलुकका लागि लज्जाको विषय हो।
बाङ्ग्लादेशमा के भयो?
दुईदिने भ्रमणका लागि मार्च २६ तारिख अर्थात् बाङ्ग्लादेशको स्वतन्त्रताको दिन मोदी ढाका पुगे।त्यो दिन बाङ्ग्लादेशका संस्थापक नेता तथा वर्तमान प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजिबर रहमानको जन्मजयन्ती पनि परेको थियो।माल्दिभ्स, श्रीलङ्का, भुटान र नेपालका नेताहरूले अतिथिका रूपमा बाङ्ग्लादेशको भ्रमण गरेका थिए।तर बाङ्ग्लादेशको दशदिने समारोह समापन गराउने भारतीय प्रधानमन्त्री मोदीको भ्रमण त्यहाँ प्रदर्शनहरूको कारण बन्न पुग्यो।मुस्लिम भक्तजनको एउटा समूहले शुक्रवारको साप्ताहिक प्रार्थनापछि राजधानीमा प्रदर्शन गर्यो।लगत्तै झडपहरू भए र भिडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार तथा लाठी चार्ज गरे।त्यसपछि प्रदर्शनहरू देशका अरू भागमा फैलिए र कडा धारको इस्लामवादी समूह हिफाजत-ए-इस्लामले शुक्रवारको प्रदर्शनमा भएको प्रहरी दमनविरुद्ध मार्च २८ तारिखमा आमहडताल आह्वान गर्यो।प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरे। प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा गरे।
“कार्यक्रम गरिरहेका मदरसाका विद्यार्थीमाथि प्रहरी र सत्तारूढ अवामी लिगका समर्थकहरूले आक्रमण गरे। त्यसैले द्वन्द्व निम्त्यायो। निरस्त्र मानिसमाथि गोली चलाउन जरुरी थिएन,” हिफाजतका उपाध्यक्ष अहमद अब्दुल कादिरले बीबीसीसित भने।अधिकारीहरूले अहिलेसम्म १२ जना प्रदर्शनकारीको ज्यान गएको पुष्टि भएको बताएका छन् भने इस्लामवादी समूहले त्योभन्दा बढी मारिएको बताउने गरेको छ।
किन प्रदर्शन भइरहेको छ?
मोदीको भ्रमणको विरोध गर्ने इस्लामवादीहरू, मदरसाका विद्यार्थी र वामपन्थी झुकाव भएका समूहहरूले विरोध प्रदर्शनको नेतृत्व गरेका थिए।मोदीले मुस्लिमविरोधी नीतिहरू अङ्गीकार गरेको उनीहरूको आरोप छ।राम्रो द्विपक्षीय सम्बन्ध हुँदाहुँदै बाङ्ग्लादेशको एउटा तप्कामा भारतविरोधी भावना रहँदै आएको “सन् २०१४ मा भाजपा सत्तामा आएपछि भारतविरोधी भावना मोदीविरोधीमा परिणत भयो,” महिला अधिकारवादी शिरीन हकले बीबीसीसित भनिन्।”प्रदर्शनहरू भारत अथवा भारतीय जनताका विरोधमा थिएनन्। एकदमै विवादित र मुस्लिमविरोधी अडानका लागि परिचित मोदीलाई भ्रमणमा निम्त्याइएको विरोधमा प्रदर्शनहरू भएका हुन्।”
हिंसाले द्विपक्षीय सम्बन्धमा असर पार्छ?
भारत र बाङ्ग्लादेशबीच ऐतिहासिक रूपमा राम्रो सम्बन्ध रहिआएको छ।स्वतन्त्रताअघि बाङ्ग्लादेश पूर्वी पाकिस्तान थियो।ब्रिटेनले सन् १९४७ मा भारत र पाकिस्तान विभाजन गर्दा अहिलेको बाङ्ग्लादेश पाकिस्तानमा परेको थियो।सन् १९७१ मा बाङ्ग्लादेश पाकिस्तानबाट स्वतन्त्र हुन गरेको लडाइँमा भारतले सैन्य सहयोग गरेको थियो।तर भाजपा सत्तामा आएपछि स्थिति जटिल हुन पुग्यो।पश्चिम बङ्गाल र असममा हालैका चुनावी अभियानका क्रममा मोदी र भाजपाका वरिष्ठ नेताहरूले बाङ्ग्लादेशबाट भारतमा अनधिकृत आप्रवासन हुने गरेको बताएका थिए।बाङ्ग्लादेशका अधिकारीहरूले त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।मुस्लिमविरोधी भन्ने गरिएको नागरिकतासम्बन्धी भारतको नयाँ कानुनलाई ढाकाले पनि आश्चर्यजनक रूपमा लियो।बाङ्ग्लादेशमा त्यसको आलोचना भइरहेको पृष्ठभूमिमा एउटा बिन्दुमा त ढाकाले भारतका लागि मन्त्रीस्तरीय भ्रमण पनि रद्द गरिदियो।मोदीको भ्रमणलाई लिएर देखिएको आक्रोशले दिल्लीलाई एउटा स्पष्ट चेतावनी दिएको छः यदि छिमेकीको संवेदनशीलतालाई सम्बोधन गरेन भने भारतको मित्र ढाकास्थित सरकार मात्र रहिरहला, बाङ्ग्लादेशका जनता होइन।