दमक नगरपालिकामा स्थानिय निर्वाचनमा नेकपा एमालेका तर्फबाट उपमेयर पदमा फरक सामाजीक पृष्ठभुमी भएकी गीता अधिकारीको उम्मेद्वारी सँगै बौद्धिक समुदाय र आम मतदाताहरुमा उत्साह थपिएको छ ।
२७ वर्ष लामो अध्यापन अनुभव, अर्थशास्त्र विषयमा एम.फिल. तहसम्मको अध्ययन, दमक बहुमुखी क्याम्पसमा सहायक क्याम्पस प्रमुखको जिम्मेवारी बहन गर्नुका साथै बुद्धिजिवी परिषद झापाकी पूर्व उपाध्यक्ष,प्रगतिशिल प्राध्यापक संघ दमक बहुमुखी क्याम्पस इकाइ अध्यक्षको जिम्मेवारी बहन गरीसकेकी गीता अधिकारी हाल सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धिकालागि कार्यरत संस्था शैक्षिक गुणस्तर मञ्च दमककी उपाध्यक्ष लगायत विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ । प्रस्तुत छ, उहाँसँग स्थानिय निकायको निवार्चनको सेरोफेरोमा गरिएको कुराकानी ः–
१) तपाईको उम्मेद्वारी किन र केकालागि ?
सर्वप्रथम त राजनीतिमा विभिन्न पृष्ठभुमी भएका व्यक्तिहरु पनि आउनु पर्छ र सामाजिक जिम्मेवारीहरु बहन गर्नुपर्छ भन्ने सन्देश दिनका लागि । साथै वर्तमान संरचना अन्तर्गत उपमेयर पदलाई शिक्षा र न्याय सम्पादन क्षेत्रमादिइएको संवैधानिक कार्यकारी अधिकार, मेरो २७ वर्षको अध्यापन र विभिन्न शैक्षिक, सामाजिक र सेवामुलक संगठनहरुको अनुभवलाई कार्यरुप दिन यो प्लेटफर्म नै उपयुक्त महशुस गरेको कारण ।
२) उपमेयर पदको जिम्मेवारी पाएपछि तपाईले गर्ने कामहरु के के हुन् ?
सर्वप्रथम त म सम्पुर्ण नगरवासीहरुको न्याय क्षेत्रमा सहज पहुँच उपलब्ध गराउन आवश्यक कदम चाल्नेछु । पाँचवर्ष भित्रमा दमक नगरलाई शतप्रतिशत साक्षरता दर भएको नगर बनाउने छु । दमक नगरलाई पूर्वकै शैक्षिक केन्द्रको रुपमा विकास गर्नकालागि विभिन्न सरोकारवालाहरुसँगको बृहत छलफल र अन्र्तकृया मार्फत दिर्घकालिन योजना बनाई कार्यान्वयनमा लैजानेछु ।
आर्थिक अथवा सामाजिक पहुँच नभएकै कारण न्यायको पहुँचबाट टाढा रहनु पर्ने अवस्थाको अन्त्य गर्नेछु । शैक्षिक बेरोजगारी र ब्रेन ड्रेन (सक्षम जनशक्ति पलायन) को अन्त्यको लागि रोजगार सृजना, स्वरोजगार कार्यक्रम, “उपयुक्त स्थानमा उपयुक्त व्यक्ति”को अवधारणा अन्तर्गत जनशक्ति व्यवस्थापनका लागि आवश्यक नीति निर्माण गरि सो अवस्था अन्त्यका लागि पहल गर्नेछु । दमकको सर्वाङ्गीण विकास गर्नका लागि आवश्यकता अनुसार सम्पूर्ण सरोकारवालाहरुसँग समन्वय गर्नेछु ।
३) तपाईका योजनाहरुलाई मुर्तरुप दिनका लागि कस्ता कस्ता कार्यक्रमहरु ल्याउनुहुनेछ?
सबै भन्दा पहिले प्रत्येक वडामा न्यायिक मञ्च गठन गरि निःशुल्क कानुनी परामर्श सेवाको शुरुवात गर्नेछु । दमकलाई पुर्ण रुपमा साक्षर बनाउनका लागि सम्पुर्ण बालबालिकालाई अनिवार्यरुपमा विद्यालय भर्ना कार्यक्रमको अनुगमन र त्यसलाई प्रभावकारी बनाइनेछ । विद्यालय आउन नपाउने उमेर समुहलाई लक्षित गरि अनौपचारिक शिक्षाका कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गरिनेछ । विद्यालय र क्याम्पस सम्मको पहुँच विस्तारको लागि दलित, सिमान्तकृत र आर्थिक रुपमा विपन्न किशोर किशोरीहरुको लागि छात्रवृत्ती कार्यक्रम र आवश्यक सम्पूर्ण शैक्षिक सहयोगको ग्यारेन्टी गरिनेछ । यातायातकै कारणले समस्या झेल्नु परेका विद्यार्थीहरुको पहिचान गरि साइकल वितरण गरिनेछ । सँगसँगै सहुलियत दरमा विद्यार्थी नगर बस सञ्चालन गरिनेछ । नगरका सम्पूर्ण शैक्षिक संस्थाहरु, सरकारी, सामुदायिक कार्यालयहरु र सार्वजनिक स्थानका शौचालयहरुलाई अनिवार्य रुपमा महिला तथा अपाङ्ग मैत्री बनाइनेछ । नगरका सम्पुर्ण शैक्षिक संस्थाहरुमा प्राथमिक स्वास्थ्यका सम्पुर्ण सामाग्रीहरु र किशोरी तथा युवतीहरुको महिनावारी मैत्री स्वास्थ्य सामाग्रीहरुको अनिवार्य उपलब्धताको प्रत्याभुती गराइनेछ ।
४) सामुदायिक विद्यालयहरुको स्तरोन्नती र अवस्था सुधारका लागि तपाईसँग केहि विशेष योजनाहरु छन् कि ?
विद्यालय तहबाट नै प्राविधिक तथा व्यवहारमुखी विषयहरुको पठनपाठन सुरुवातको लागि आवश्यक कदम चालिनेछ । प्रत्येक विद्यालयहरुमा अनिवार्य रुपमा सम्बन्धित विषयहरुसँग सम्बन्धित रिफरेन्स बुक, म्यागेजिन, जर्नलहरु र आधुनिक प्रविधीसहितको पुस्तकालय र विज्ञान प्रयोगशालाहरुको स्थापना गरिनेछ । बढ्दो शैक्षिक तहसँगै घट्दो विद्यार्थी अनुपात कम गर्न र एक पटक विद्यालय भर्ना भएको विद्यार्थी आधारभुत तह (कक्षा १२) पुरा गरेर मात्र विद्यालयबाट बाहिरिने अवस्था सृजना गर्नका लागि आइपर्ने सम्पुर्ण अवरोधहरु हटाउन एकिकृत कार्यक्रम बनाई लागु गरिनेछ ।
नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा बाल तथा अपाङ्ग मैत्री शैक्षिक कार्यक्रमहरु सञ्चालन गरिनेछ । प्रत्येक विद्यालयहरुमा किशोरकिशोरीहरुका सरोकार सम्बोधन हुनेगरि मनोसामाजिक परामर्शसहितको कार्यक्रम तर्जुमा गरिनेछ । विद्यार्थीहरुमा भएका सृजनशिलता प्रस्फुटन गर्नका लागि प्रत्येक वर्ष नगर शैक्षिक महोत्सव आयोजना गरिनेछ । सामुदायिक विद्यालय र निजी विद्यालय बीचको दुरी कम गर्न आवश्यक कदम चालिनेछ । शिक्षा क्षेत्रका सम्पुर्ण सरोकारवालाहरुसँग बृहत अन्तरकृया तथा छलफल गरि दिर्घकालिन नगर शैक्षिक नीति निर्माण गरिने छ ।
५) एउटी महिला हुनुको नाताले तपाईको विजय पछाडी दमकका महिलाहरुले के फरक महसुस गर्न पाउनेछन् ?
गृहिणी महिलाहरुको आर्थिक र सामाजिक क्षमता अभिवृद्धिका लागि विभिन्न सिपमुलक तालिमहरु प्रदान गरि उत्पादनशिल बनाइनेछ र उत्पादित वस्तुहरुको बजार व्यवस्थापन नगरपालिकाद्वारा गरिनेछ । महिला हिंसा, घरेलु हिंसा, बालबालिका र किशोरीहरु माथि हुने लैङ्गिक विभेद, यौन हिंसा लगायतका अपराधलाई शुन्य सहनशिलता अपनाइनेछ । न्युन आय भएका महिलाहरुलाई लक्षित गरि बचत समुह र महिला सहकारी स्थापनाका लागि आवश्यक पहल गरिनेछ । यातायातको समस्या र आर्थिक स्थीती कमजोर भएका छात्रा विद्यार्थीहरुको पहिचान गरि साइकल वितरण गरिनेछ ।
६) दमकको धिमाल समुदायमाथि रेमिट्यान्सको सामाजिक आर्थिक प्रभावमाथि तपाईले एम.फिल. तहमा सोधपत्र तयार पार्दा कस्तो अवस्था पाउनु भयो ?
नेपालको अन्य क्षेत्रममा झैँ बैदेशिक रोजगारीले धिमाल समुदायलाई पनि प्रत्यक्ष प्रभाव पारेको रहेछ । रेमिट्यान्सले उनीहरुको जीवनमा केहि मात्रामा आर्थिक सुधार गरेतापनि त्यसका लागि समुदायले चुकाएको सामाजिक र साँस्कृतिक मुल्य निकै महँगो देखिन्छ ।
बैदेशिक रोजगारीका कारण बढेको पारिवारिक असुरक्षा, असमझदारी र विखण्डनहरुले धिमाल समुदायको साँस्कृतिक मुल्य, सामाजिक परम्परा र महिला तथा बालबालिकाहरुको जीवनमा निकै ठूलो असर पारेको रहेछ । यसको दिर्घकालिन समााधानका निम्ति साँस्कृतिक रुपमा निकै धनी यो समुदायलाई स्थानिय स्तरमै रोजगारीको अवसरहरु सिर्जना गराउनु स्वावलम्बी बनाउनु जरुरी देखिन्छ । यसका लागि वहाँहरुसँग भएका सिप, क्षमता र साँस्कृतिक सम्पत्तीहरुको प्रबद्र्धन र बजारिकरण उपयुक्त मोडेल हुनसक्छ । साँस्कृतिक पर्यटनको ठूलो सम्भावना पनि यो समुदायले बोकेको छ ।
https://www.youtube.com/watch?v=QzYUqhuqXM0&feature=youtu.be









