काठमाण्डाै – प्रतिनिधि सभाको साेमवारकाे बैठकमा सांसदहरूले देशका विभिन्न समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले आफ्नो क्षेत्रका तथा राष्ट्रिय महत्त्वका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।सांसद भरतकुमार साहले प्रधानमन्त्रीले बालुवाटारमा बसेर कुनै तयारी र डिजाइन नै नभएका एक सय ६५ वटा सडकको शुभारम्भ गरेको भन्दै आपत्ति जनाउनुभयो । प्रधानमन्त्रीलाई शिलान्यासकै रहर  हो भने रातो किताबमा रहेका सबै आयोजना बालुवाटारमै बसेर शिलान्यास गर्न उहाँले व्यङ्ग्यात्मक सुझाव दिनुभयो ।यस्तै सांसद रङ्गमती शाहीले देश रेलमार्ग, जलमार्ग र सुरुङमार्गमा प्रवेश गरेको भन्ने भाषण सुनेको तर आफ्नो क्षेत्रमा एउटा एम्बुलेन्ससमेत नहुँदा बिरामीको अकालमै ज्यान गुमाएको गुनासो गर्नुभयो । राष्ट्रपतिले अपराधीको कैद मिनाहा गरिदिएको तथा म भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचारीलाई देखी सहन्नँ भन्ने प्रधानमन्त्रीले कर छल्नेहरूकै घरमा दलको कार्यालय राखेको भन्दै शाहीले आक्रोश पोख्नुभयो ।

यस्तै सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्रीले संसद् असफल बनाउन बिजनेस नदिएको भन्दै उहाँले संसदमा आएर आफूलाई लागेका कुरा राख्न र संसद्को सम्मान गर्न आग्रह गर्नुभयो । सांसद् राजबहादुर बुढाले संसद्लाई काम नदिएको भन्दै विरोध जनाउनुभयो ।यस्तै सांसद भैरवबहादुर सिंहले बझाङका १२ वटै पालिकामा भोकमरी परेको भन्दै छिटो भन्दा छिटो खाद्यान्न पुर्‍याउन सरकारकाे ध्यानाकर्षण गराउनुभयो ।सांसद मेटमणि चौधरीले दाङमा मापदण्ड विपरीत जमिन तथा नदी, खोला उत्खनन गरेर चुरे क्षेत्र ध्वस्त बनाउने काम भइरहेको भन्दै तत्कालै रोक्न माग गर्नुभयो ।सांसद मोहन बानियाँले कर्णाली राजमार्गको सुर्खेत–नाग्मा सडक खण्ड अत्यन्तै जीर्ण भएको र आउँदो बर्खामा ठूलो समस्या आउन सक्ने भन्दै मर्मतका लागि सरकारकाे ध्यानाकर्षण गराउनुभएको छ ।यस्तै सांसद मोहनप्रसाद पाण्डेले सिद्धार्थ राजमार्गको बुटवल–दोभान सडक खण्ड बिजोग अवस्थामा रहेको तर सरकारले ध्यान नदिएकाे भन्दै आपत्ति जनाउनुभयाे । सांसद योगेश भट्टराईले ताप्लेजुङको सिरान गाउँ र दोभानमा भएको आगलागीका पीडितलाई राहत, आवासको व्यवस्था गर्न र दमकललगायतका साधनको व्यवस्था गर्न आग्रह गर्नुभयो ।यस्तै सांसद रामबहादुर विष्टले तीन महिनाभित्र सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउँछन् भन्ने प्रधानमन्त्रीको गफ कता हरायो भन्दै प्रश्न गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय