काठमाडौं । काठमाडौं शहर लगातार दोस्रो दिन विश्वकै सर्वाधिक प्रदूषित शहर बनेको छ । सोमबार बिहानदेखि काठमाडौं पटक पटक प्रदूषित शहरको शीर्ष स्थानमा रहँदै आएको छ । मंगलबार बिहान काठमाडौंको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २८४ पुगेको छ । सोमबार बिहान ९ बजे प्रदूषण बढेर ३३१ एक्यूआई रहेको थियो । मौसममा आएको खरावीका कारण पनि अहिले पनि काठमाडौं सर्वाधिक प्रदूषित हुन पुगेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञकाअनुसार बुधबारसम्म काठमाडौंमा वायु प्रदूषण उच्च रहने छ । पश्चिमी वायु सक्रिय नभएको र पानी नपरेका कारण वायु प्रदूषण नहटेको मौसमविद् राजु प्रधानाङ् बताउँछन् । सोमबार काठमाडौं विश्वकै प्रदूषित सहरहरुमध्ये एक नम्बरमा परेको थियो । पानी नपरेसम्म यो अवस्था कायम रहने मौसमविद् प्रधानाङ बताउँछन् । पश्चिमी वायु पश्चिम नेपालमा केही सक्रिय भए पनि त्यो काठमाडौंसम्म आइपुगेको छैन । कतिपय ठाउँका एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३०० नाघेको भन्दै सचेत हुनुपर्ने वातावरण विभागले जनाएको छ । कति स्थानमा एक्यूआई ३०० अंक नाघेको छ । यो भनेको स्वास्थ्यका लागि निकै खराब अवस्था हो, यसबाट बच्न हामीले सचेत हुनुपर्छ । सकेसम्म घरबाहिर निस्किनु हुँदैन ।

हावा प्रदूषित भएसँगै स्वासप्रश्वासका बिरामीसमेत बढेको चिकित्सकहरु बताउँछन् । काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । यसअघि प्रदूषणका कारणले सरकारले यही चैत १७ गतेदेखि २० गतेसम्म विद्यालय बन्द गरेको थियो । गत वर्ष यही समय काठमाडौंमा करिब तीनदशक यताकै सफा मौसम भएको थियो । डडेलो नलागेको तथा लकडाउनका कारण सवारी साधन नचलाउँदा प्रदूषण कम थियो ।

स्वास्थ्य समस्या

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले वन जङ्गलमा डढेलो लाग्दा वायु प्रदूषण भएकोले अत्यावश्यक काम बाहेक बाहिर ननिस्न र निस्कनपरे एन–९५ मास्क प्रयोग गर्न समेत अनुरोध गरे । उनले वायु प्रदूषणका कारणले फोक्सोमा क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने भएकोले बाहिर ननिस्कन अनुरोध गरे ।

वायु प्रदूषणका कारणले आँखा रातो हुने, घाँटीमा समस्या आउने र टाउको दुख्ने जस्ता समस्या आउने गर्दछन् । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण उत्पन्न हुने रोगका कारणले ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ । विश्वमा ७० लाख मानिसको मृत्यु हुने गरेको छ । उनले केही वर्षयता घरभित्रको वायु प्रदूषण कम र घरबाहिरको वायु प्रदूषण बढी हुने गरेको बताए । उनले अत्यावश्यक नभइ सवारीसाधान नचलाउन र सवारीसाधन वा पेशा व्यवसायका कारण हुनसक्ने वायुप्रदूषणका कारणलाई कम गर्न आग्रह गरे ।बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्दछ। वायुप्रदूषण्का कारणले घरबाहिरको खुला स्थानमा नबस्न, नखेल्न र मर्निङवाकमा घर बाहिर जाने गरेको भए पनि नजानसमेत उनले अनुरोध गरे ।

६० जिल्लामा डढेलो

नेपालका ६० जिल्लामा लागेको डढेलो र अन्य कारणले राजधानी काठमाडौंमा मात्र होइन, कर्णालीको मुगुमा समेत प्रदूषण उच्च तहमा पुगेको छ । डडेलो नियन्त्रण नभएसम्म वायु प्रदूषण नहट्ने वातावरण विभागको भनाइ छ । नेपालभर सयौं स्थानमा डडेलो लागेको र त्यो नियन्त्रण नभएसम्म वायु प्रदूषण नघट्ने विज्ञको भनाइ छ । चैत १० गतेपछि निरन्तर रुपमा नेपालमा डढेलो लागेका कारण पनि प्रदूषण थप बढ्दै गइरहेको छ । आइतबार मात्रै नेपालमा ७ सय भन्दा बढी जंगलमा डढेलो लागेको थियो । देशव्यापी रूपमा जंगलमा डढेलो लागे पनि नियन्त्रणका लागि प्रयास हुन सकेको छैन । वन तथा भूसंरक्षण विभागको अनलाइन फायर एलर्टका अनुसार सोमबारसम्म देशका ६० जिल्लाका ५ सय ३० स्थानमा डढेलो लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय