कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाका नेपाली कांग्रेसका मेयरका उम्मेदवार भानुभक्त भट्टराई, उपमेयर सञ्जुकुमारी थारु तथा कोहलपुर नगरपालिकामा नेपाली कांग्रसले उठाएका वडाध्यक्ष र सदस्यहरुको पक्षमा जनमत बढ्दै गएको छ ।
उम्मेदवारी दर्ता गरे लगत्तै प्रचारप्रसारका लागि घरदैलो अभियानमा निस्केका नेपाली कांग्रेसका उम्मेदवारसहित नेता र कार्यकताहरुलाई मतदाताले आशा र भरोसाको केन्द्र भन्दै आफ्नो समर्थन र सदभाव व्यक्त गरेका छन् । उम्मेदवारहरु जता गयो उतै नेपाली कांग्रेसको लहर बढ्दै गएको छ ।
बुधबार मेयरका उम्मेद्वार भानुभक्त भट्टराई र उपमेयरका उम्मेद्वार सञ्जुकुमारी थारु तथा वडा नम्बर १२ का वडाध्यक्ष र सदस्यका उम्मेदवारहरुले सो वडामा घरदैलो अभियान सम्पन्न गरेका थिए ।
कार्यक्रमको अन्त्यमा आयोजित कोणसभालार्इ सम्बोधन गर्दै मेयर र उपमेयरका उम्मेदवारले समृद्ध कोहलपुर निर्माणका लागि पार्टीले आफूहरुलाई जिम्मेवारी दिएकोले निर्वाचनमा विजयी बनेपछि नगरको रुपान्तरण गरिने बताए ।
उनीहरुले नेपाली काँग्रेसको टिमलाई बिजय गराउन मतदातालाई आग्रह गरे ।
नेकपा एमालेले पटक पटक मौका पाउँदा पनि यस क्षेत्रको विकास निर्माणमा खासै ध्यान नदिएकोले उनीहरुले नेपाली काँग्रेसलाई बिजय गराई सुन्दर, शान्त र समृद्ध कोहलपुर निर्माण गर्ने जिम्मेवारी दिन अनुरोध गरे ।
घरदैलो अभियानका क्रममा उपमेयरकी उम्मेदवार सञ्जुकुमारी थारुले यस पटक कोहलपुरका जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी काँग्रेसको पुरै टीमलाई विजय गराउने विश्वास व्यक्त गरिन् ।
कोहलपुर वडा नम्बर १२ को चप्परगौडी, रोहिणी खोला, खड्कवार क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो ।घरदैलो अभियानमा नेपाल साँस्कृतिक संघले विभिन्न साँँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो ।
घरदैलो अभियानमा नेपाली काँग्रेसका महासमिति सदस्य मिना सिग्देल, जिल्ला सदस्य गौरा भट्टराई, कोहलपुर नगर कमिटीका बलराम शर्मा, वडा नम्बर १२ का अध्यक्ष विरेन्द्र शाह लगायत सदस्यका उम्मेदवारहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।



