काठमाडौं, ८ असार । गृहमन्त्री जनार्दन शर्मा, माओवादी सरकारमा उर्जामन्त्री हुदाँ निकै राम्रो मान्छेका रुपमा लिइयो । अहिले उनले गृहसम्हालि रहेका छन् । उनी रहेको मन्त्रालयकै सिफारीसमा यतिबेला सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ ।
निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन, नत गृहमन्त्री नै केही बोलेका छन् ।
गृह मन्त्रालयले एक वर्षयता दुई सयभन्दा बढी सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको स्रोत बताउँछ ।
संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेको बताइन्छ । सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट राख्ने अनुमति दिनु गलत भएको जानकारहरु बताउँछन् ।
द्वन्द्वकालमा सरकारका उच्च अधिकारीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो । शान्ति स्थापना भई संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी प्लेट नम्बर राखेर गाडी चलाउन छाडेका छैनन् ।
निजी नम्बर प्लेट माग गर्दै निवेदन दिनेको संख्या सयभन्दा बढी रहेको गृह स्रोतले जानकारी दियो । सार्वजनिक बिदाको दिन सरकारी नम्बर प्लेटका सवारी प्रयोग गर्न नपाइने हुँदा सरकारी अधिकारी व्यक्तिगत काममा रातो नम्बर प्लेटका गाडी प्रयोग गर्छन् ।
रातो नम्बर प्लेट राख्ने क्रम बढ्दै गएपछि संसद्को सुशासन तथा अनुगमन समितिले गत फागुनमा रोक्न निर्देशन दिएको थियो । निजी नम्बर प्लेटमा परिवर्तन भएका सवारीसाधनलाई तुरुन्त सरकारी नम्बरमा परिवर्तन गर्नसमेत सरकारलाई निर्देशन दिएको थियो । तर समितिको निर्देशन कार्यान्वयन हुन सकेको छैन ।
यसरी गृहकै अनुमतीमा सयौं गाडी नीजिमा चल्दा दुरुपयोग असाध्यै बढेको छ । यसबारे निगरानी गर्ने निकायको ध्यान जान जरुरी देखिन्छ ।



