काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसद सचिवालयमा टेबल गरेको एमसीसी प्रस्ताव छलफलका लागि संसदमा प्रस्तुत गर्नुपर्ने धारणा राख्नुभएको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसीसीमा सम्झौता गरिएको उल्लेख गर्दै उहाँले सरकार सो प्रस्तावबारे संसदमा छलफल होस् भन्ने माग गरिरहेको बताउनुभयो ।

उहाँले सरकारले प्रस्तुत गरिसकेपछि संसदमा निर्णयार्थ प्रस्तुत नगर्नु भनेको असंबैधानिक हुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुदा एमसीसी सम्झौता गरिएको थियो । त्यो निर्णयार्थ हामीले संसदमा टेबल गरेका छौ । टेबलमा निर्णयार्थ प्रस्तुत गरिएको छैन । हामी त्यसको माग गरिरहेका छौ । त्यसरी सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संबैधानिक अधिकार कसैसंग हुदैन । त्यो गर्नैपर्ने हुन्छ । तर संविधान नै नमान्ने, जिद्दी गर्ने प्रवृत्ति हामीले झेलिरहेका छौ ।”

आपसी वैमनश्यता नभई एक भएर अघि बढ्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो “फाटोको खेती होइन वैमनश्यताको होइन । अनेकता र दुरीलाई हटाएर राष्ट्रिय एकता कामय गर्ने र हाम्रा सम्पुर्ण सामथ्र्य र सहयोगहरु देश विकासका लागि प्रयोग गर्नुपर्ने आजको आवश्यकता हो । त्यस आवश्यकता तर्फ म सबैको ध्यानाकर्षण गराउँछु ।”

सम्बोधनको पूर्णपाठ

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ सालमा सरकारले उल्लेखित प्रगति हासिल गरेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नयाँ बर्ष २०७८ को अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै उहाँले अनेकन असहज परिस्थितिका बाजबुत २०७७ साल सफल बर्षको रुपमा रहेको बताउनुभएको हो । कोभिड १९ को महामारीले विश्वनै आक्रान्त भएको बेला त्यसको असर नेपालका सबै क्षेत्रमा परेको भएपनि २०७७ सालमा ठूला दीर्घकालीन महत्वका काम भएको दाबी गर्नुभयो ।

उहाँले प्रतिकुलताका बीच २०७७ सालमा असाधारण काम भएको र राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा सफलताको बर्ष रहेको बताउनुभयो । कोभिड १९ महामारी संगै मुलुकमा केही राजनीतिक अस्वस्थता देखापरेपनि गतबर्ष उपलब्धिको बर्ष रहेको उहाँले बताउनुभयो ।दशकौ पछिको सफलता प्राप्त गर्दे मेलम्चीको पानी काठमाण्डौ आईपुगेको, अतिक्रमित भूमि फिर्ता, पुर्ननिर्माणका कामहरुले पुर्णता पाउने क्रम तिब्र गतिमा बढेको तथा नयाँ नयाँ असाधारण र दुरगामी महत्वका कामहरु बढेको पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले आफ्नो भूभाग समेत सामेल गरेर नया नक्सा सार्वजनिक गरेको र यसले राष्ट्रिय गौरव बढाएको र सबैमा आत्मविश्वास बढाएको दाबी गर्नुभयो ।

सरकारले सातै प्रदेशमा ठूला ठूला नयाँ औद्योगिक क्षेत्रको शिलान्यास गरेको र लगानीका लागि शान्तिपुर्ण र अनुकुल वातावरण बनेको उहाँले उल्लेख गर्नुभयो । कोभिड १९ महामारीको प्रतिकुल अवस्थामा पनि अनलाईन र विभिन्न माध्यमका शिक्षण विधि अघि सारेर बालबालिकालाई शिक्षा प्रदान गरिएको र सामाजिक जनजीवनलाई सामान्य अवस्थामा राख्ने प्रयास गरेको दाबी पनि उहाँले गर्नुभयो । कोभिड १९ को महामारी कसैका लागि पनि सकारात्मक नभएको भन्दै उहाँले त्यसबाट अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा असर पुर्याएपनि सरकारले नागरिकको जीवनरक्षालाई प्राथमिकता दिदै आएको स्पष्ट पार्नुभयो ।

आशा जगाउने काम भएका छन्
प्रधानमन्त्री ओलीले जनतालाई आशा जगाउने गरी विकास निर्माणका कामहरु भईरहेको बताउनुभयो । सरकारले गरेका कामहरु नदेख्ने समुहले निरन्तर जनता भड्काउने प्रयास भईरहेपनि सरकारका क्रियाकलापप्रति आशा र भरोसा जगाउने कामहरु लगातार भईरहेको दाबी उहाँले गर्नुभयो । उहाँले प्रतिदिन साढे ५ किलोमिटर बाटो बन्ने गरेको, प्रति १२ वटा आवासगृह निर्माण भईरहेको, पुर्वदेखी पश्चिमसम्म पुल बनाउने, करिडोर र लिंकरोड, मध्यपहाडी राजमार्ग (पुष्पलाल), मदनभण्डारी राजमार्ग, पुर्वपश्चिम राजमार्ग लगायत राजमार्गको स्तरोन्नति र निर्माणको कम भईरहेको फेयरिस्त प्रस्तुत गर्नुभयो । उहाँले महिनाको १ सय बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता भत्ता दिनको १ सयमा पुगेको उल्लेख गर्दे उहाँले आगामी आर्थिक बर्षदेखि लागुहुने गरी सामाजिक सुरक्षा भत्तामा वृद्धि गर्ने जानकारी दिनुभयो ।

५ लाखको संख्यामा सामाजिक सुरक्षा भत्ता लिनेहरुको संख्या थपिएका, २०७५ मंसिर ११ गतेबाट नै मजदुरका लागि योगदानमा आधारिक सामाजिक सुरक्षा भत्तासुरु गरेको तथा भुकम्पबाट क्षतिग्रस्त धरहरा पुर्ननिर्माण भई ११ दिनपछि उद्घाटन गर्ने पनि उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो “विभिन्न क्षेत्रमा ठूलो प्रगति गरेका छौ । पुर्ननिर्माण प्राधिकरणले असाधारण काम गरेको छ । ”

हवाई मैदान र त्रिभुवन विमानस्थल लगायतका विमानस्थलमा नयाँ पन ल्याईएको, विद्यालयहरु पुर्ननिर्माण हुने क्रम बढेको भन्दै उहाँले कुनै पनि विकासको श्रेय लिने होडबाजीमा सरकार नलागेको बताउनुभयो । उहाँले भन्नुभयो “मेलम्चीको पानी ल्याउने सपनामा जस लिने, श्रेय लिने । हामीलाई जस वा श्रेय लिने होडवाजीमा सामेल हुनुछैन । हामीलाई देशलाई माथि उठाउनु छ । आधुनिकीकरण गर्नु छ ।

विज्ञान प्रविधिको काम गर्नु छ र देशलाई अघि बढाउनु छ । देशलाई डिजिटल प्रणालीमा लैजानु छ । ” २०७८ साल भित्र सडक बालबालिकाको अन्त्य गर्ने बताएको र त्यो पुरा गर्ने दोहोर्याउनुभयो । सहारा गुमाएका ज्येष्ठ नागरिक र अभिभावक गुमाएका बालबालिकाको सहारा सरकार रहेको भन्दै सबैले सम्मानित जीवन बाँच्न पाउने स्थितिको निर्माण सरकारले गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो “यो २०७८ साल भित्र सडक बालबालिका, सडक मानव र सडकमा भिक्षाम् देही भन्ने स्थिति अन्त्य गर्ने भन्ने कुराहरु पुरा गर्छौ भनेर भनेका छौ । २०७७ सालमा नै क्याम्पेन गरेर सडकबालबालिका नरहेको स्थिति बनाईसक्यौ ।” एसिड आक्रमण विरुद्ध, बलात्कार र बलात्कार पछिको हत्या नियन्त्रण गर्नका लागि सरकारले अध्यादेश मार्फत कडा कानुन ल्याएको भएपनि संसदमा पेश गर्न नदिईएको गुनासो गर्नुभयो । पुर्नस्थापना पछिको संसदको पहिलो बैठनै संसद चल्न नदिएर अप्रिय र अशोभनिय स्थिति संसदमा देखिएको टिप्पणी उहाँले गर्नुभयो ।

हिंसा अन्त्य भएको
२०७६ सालमा पृथकथावादी सोच सहित अघि बढेको समुहलाई राष्ट्रिय राजनीतिमा समाहित गराएको र २०७७ सालमा हिंसाको बाटो लिईरहेको समुहलाई शान्तिपुर्ण म्ुलधारमा फर्काउन सफल भएकालेले मुलुकबाट हिंसाको राजनीतिको अन्त्य भएको प्रधानमन्त्रीले दाबी गर्नुभयो । हिंसाको बाटोमा लागेको समुह राष्ट्रिय राजनीतिको मुलधारमा फर्कनुले राजनीतिक अभिष्ट संबैधानिक र कानुनको मुलधारबाट नै प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई स्थापित गरेको बताउनुभयो ।

उहाँले २०७७ सालमा लुम्बिनीमा ५ हजार क्षमताको सभाहल सञ्चालनमा आएको, गोदाबरीमा ३ हजारक्षमताको सभाहल र संसद भवन निर्माणको काम भईरहेको उल्लेख गर्दे जनतामा आशा जगाउने ढंगले विभिन्न विकास निर्माणका काम भईरहेको बताउनुभयो ।

लकडाउन /धम्की /सर्तकता अपनाउन आव्हान
प्रधानमन्त्री केपी शर्मा ओलीले र कोरोना महामारीको जोखिम रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो । उहाँले कोभिड १९ को महामारीबाट बच्नका लागि स्वास्थ्य सर्तकताका मापदण्ड कडाईका साथ पालना गर्न सबैलाई आव्हान गर्नुभयो । उहाँले मानवस्वास्थ्य र मावन जीवननै सबैभन्दा महत्वपुर्ण भएको उल्लेख गर्दे स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्न र चिकित्सकका परामर्शलाई शिरोधार्य र गरि आफुलाई सुरक्षित राख्न आग्रह गर्नुभयो ।

महामारी ह्वात्तै बढेपछि कतिपय विकसित देशहरुले पनि दोश्रो चेश्रो चरणमामा लकडाउन गरिरहेको प्रसंग उल्लेख गर्दे उहाँले स्वास्थ्य सर्तकताका मापदण्ड प्रयोग गरेर नै महामारी नियन्त्रणमा राखेर सामाजिक आर्थिक क्रियाकलाप सञ्चालन गर्नुपर्छ भन्ने सोचमा सरकार रहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो “ सरकार सकभर लकडाउन गर्ने मनस्थितिमा छैन । कतिपयले आजै लकडाउन हुन्छ । भरे नै लकडाउन हुन्छ । भोलि नै लकडाउन हुन्छ । भन्ने हल्ला चलाएका थिए । तर सरकार सकेसम्म लकडाउनमा जान चाहदैन । तर हामीले हेक्का राख्नुपर्छ , युरोपका कतिपय विकसित भनिएका देशहरु, जब महामारी ह्वात्तै फैलियो, त्यस्तो अवस्थामा लकडाउनमा गएका छन् ।

दोश्रोचरणमा र तेश्रो चरणमा फैलिएको लहरबाट बच्नका लागि लकडाउनको सहारा लिनुपर्ने अवस्था छ । हामी चाहन्छौ हाम्रो सर्तकताको विधिबाट परिस्थितिलाई विग्रन नदिऔ भन्ने आग्रह गर्दछौ । अस्ति मैले बोल्दा लकडाउन गर्ने धम्की दियो भन्ने पनि केहीले भने । म धम्की दिने हैसियत पनि राख्दिनँ । धम्कि दिनुलाई उचित पनि ठान्दिनँ । त्यस्तो अवस्था नआओस् भनेर ध्यान दिनुपर्छ । परिस्थिति बिग्रियो भने त्यहाँ पनि पुग्नुपर्ने हुनसक्छ भनेको हो । त्यसैले हामी सर्तक भएर अघि बढ्नुपर्छ ।”

२०७७ सालमा कोभिड १९ महामारीको असरका कारण सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रलाई आक्रान्त बनाएको बताउनुभयो । कोभिड १९ कात्तिकबाट नियन्त्रित गर्दै ल्याएको भएपनि चैत्र देखि फेरी बढ्न थालेको उल्लेख गर्दै उहाँले अर्थतन्त्र लगायत विकासका आकांक्षाहरुमा प्रतिकुल असर नपरोस् भन्नका लागि सबै सजग हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

मेरो कित्ता कार्यक्रम सुभारम्भ
प्रधानमन्त्री ओलीले नयाँ बर्षमा सरकारले नयाँ नयाँ कामहरुको थालनी गर्ने बताउनुभयो । उहाँले आफ्नो जग्गा जमिन आफु बसेकै ठाउँबाट हेर्न सक्ने गरि डिजिटल प्रविधि शुभारम्भ सरकारले गरेको बताउनुभयो । उहाँले भन्नुभयो “नयाँ बर्षमा हामी नयाँ नयाँ कामहरु थालनी गर्दैछौ । मेरो कित्ता भन्ने कार्यक्रम । जो किसानहरुका लागि आफ्नै धनीपुर्जा, आफनो कित्ता, आफु बसेकै ठाउँबाट एपबाट हेर्न सक्ने गरि मेरो कित्ता कार्यक्रम सुभारम्भ हुदैछ । ”

विभिन्न भूमिकामा रहेर राज्यलाई योगदान पुर्याएका र लोकतान्त्रिक आन्दोलनमा योगदान गरेका व्यक्तिहरुलाई प्रतिकात्मक ढंगले सम्मान गर्ने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो ।सरकार नयाँ उत्साह र नयाँ आत्मविश्वासका साथ नयाँ बर्षमा प्रवेश गरेको भन्दै उहाँले सुरु गरेका कार्यक्रमलाई पुरा गर्ने, अपुर्णतालाई पुरा गर्ने र नयाँ कार्यक्रमहरु सुरु गर्ने बताउनुभयो ।

उहाँले यसैबर्ष भित्र हुम्लाको सिमिकोटलाई सडक सञ्जालसंग जोड्ने, सिलन्यास भएका ३ सय ९७ वटा अस्पतालको निर्माण कार्य अघि बढाउनुको साथै अस्पताल, विद्यालय, विश्वविद्यालय र प्राविधिक शिक्षालयको व्यापक रुपमा निर्माण गरि अघि बढ्ने स्पष्ट पार्नुभयो । उहाँले अहिले नेपालीहरुको आत्मविश्वास र मनोबल बढेको दाबी गर्नुभयो ।

आशावादी भएर अगाडि बढ्न आव्हान
प्रधानमन्त्री ओलीले सबैको निष्ठा देश र जनताप्रति हुनुपर्ने भन्दै राष्ट्रिय हितलाई रक्षा गर्दै अघि बढ्न सबैलाई आव्हान गर्नुभयो । उहाँले भन्नुभयो “विभिन्न प्रकारका हल्लाहरुका पछाडि नअलमलिन, राष्ट्रनिर्माणका काममा ढुक्कले आत्मविश्वासका साथ अगाडि बढ्न ,निराशा जगाउन खोजिएका प्रयासहरुलाई अस्वीकार गर्न र आशावादी भएर अगाडि बढ्न सबैमा हार्दिक आग्रह गर्दछु । ”

उहाँले न्यायसहितको अन्तराष्ट्रिय उत्तरदायीत्व सहितको अन्तराष्ट्रिय सम्बन्धको पक्षपोषण गर्ने उल्लेख गर्दै विश्वसंग पनि त्यस्तै शान्ति र सम्बन्धको अपेक्षा गर्ने स्पष्ट पानुभयो । उहाँले अबको विश्वलाई भयमुक्त, त्रासमुक्त, समानतायुक्त र सम्मानजनक पुर्वक बाँच्न पाउने विश्व बनाउनका लागि सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “राष्ट्रिय हितको पक्षमा जहिले पनि न्यायोचितता र अन्तराष्ट्रिय उत्तरदायित्वका पक्षहरुलाई हामीले बिर्सनुुहुदैन । न्यायबिनाको या न्यायरहित राष्ट्रियहित राष्ट्रिय अहंकार हुनसक्छ अथवा अन्यायपुर्ण राष्ट्रियहित हुनसक्छ । त्यस कुरामा हामी सजग हुनुपर्छ ।”

सरकारले सामाजिक जीवनको कुनै पनि क्षेत्रलाई नविर्सेको उल्लेख गर्दै सबैको समस्या समाधानका लागि सरकार सजग रहेको बताउनुभयो । तात्कालिन शसस्त्र द्वन्द्वका कारण गाउँमा बस्ने अवस्था नरहेको र विदेशीनुपर्ने अवस्था श्रृजना भएको उल्लेख गर्दे उहाँले अब भने नेपालमै उपयुक्त रोजगारी श्रृजना हुने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय