पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणामबाट उत्साहित देखिएको एमालेले दोस्रो चरणको निर्वाचनमा बहुमत सिट जित्ने दाबी गरेको छ । प्रदेश नं. १, ५ र ७ का ३ सय ३४ तहमध्ये २ सयदेखि २ सय १० सिटसम्म जित्ने एमालेको दाबी छ ।

‘दोस्रो चरणमा ६० प्रतिशतभन्दा बढी स्थान जित्ने लक्ष्य पूरा गर्न खोजिरहेका छौँ,’ सचिव भीम आचार्यले भने, ‘सबै प्रदेशको निर्वाचन परिणाम आइसक्दा एमाले बहुमतसहित पहिलो दल बन्छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड
एमालेकाे आँकलन प्रदेश नम्बर १  स्थानीय तह : १३७, दाबी : ९०–९५

प्रदेश नम्बर ५ स्थानीय तह : १०९, दाबी : ६५–७०

प्रदेश नम्बर ७ स्थानीय तह : ८८, दाबी : ४८–५५

प्रदेश नं. १ मा दुईतिहाइ प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये एमालेले महानगर, उपमहानगरसहित दुईतिहाइ जित्ने दाबी गरेको छ । ९२ भन्दा बढी सिट जित्ने आँकलन गरिएको आचार्यले जनाए । १४ जिल्लामध्ये धेरै जिल्लामा कांग्रेस र माओवादी केन्द्र तथा कतिपय जिल्लामा फोरम र राप्रपाको गठबन्धनविरुद्ध एमाले एक्लै प्रतिस्पर्धामा छ ।

 प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ६५ देखि ७० तहमा जित्ने प्रारम्भिक आँकलन

एमालेले प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ६५ देखि ७० तहमा जित्ने प्रारम्भिक आँकलन गरेको छ । ‘हामी कम्तीमा ६० देखि ६५ प्रतिशतसम्म प्रमुख, उपप्रमुख जित्छौँ’ केन्द्रीय सदस्य खिमलाल भट्टराईले भने । प्रदेश नं. ५ का १२ मध्ये १० जिल्लामा पहिलो हुने प्रारम्भिक आँकलन एमालेको छ । रुपन्देही, कपिलवस्तु, गुल्मी, अर्घखाँची, नवलपरासी, दाङ, बाँके, बर्दिया र पाल्पालगायतका जिल्ला बहुमत जित्ने सूचीमा छन् । रोल्पा र रुकुममा भने जित्ने सम्भावना कम रहेको एमालेको मूल्यांकन छ ।

प्रदेश ७ का ८८ तहमध्ये कम्तीमा ६० प्रतिशत जित्ने दाबी

प्रदेश ७ का ८८ तहमध्ये कम्तीमा ६० प्रतिशत जित्ने दाबी गरेको छ । ‘हामीले मात्र भनेको होइन, विभिन्न संघ–संस्थाले पनि एमालेले ६० प्रतिशत र बाँकी अरूले जित्ने सर्भेक्षण नतिजा सार्वजनिक गरिहेका छन्’ केन्द्रीय सदस्य झपट रावलले भने, ‘विगत निर्वाचनको तुलनामा धेरै राम्रो परिणाम आउने गरी पार्टीको अवस्था मजबुद बन्दै गएको छ ।’