सूर्य बराल ,
माननीय गृहमन्त्री एवम् पूर्व जनमुक्ति सेनाका कमाण्डर जनार्दन शर्मा प्रभाकर ज्यू लालसलाम !
खै कहाँबाट कुरा शुरु गरौं । तपाई माओवादी पार्टीको नेता, जनमुक्ति सेनाको कमाण्डर, वर्तमान देउवा मन्त्रीमण्डलको सबैभन्दा शक्तिशाली एवं महत्वपूर्ण मन्त्रालय गृहमन्त्रालयको प्रमुख तपाइँसँग धेरै मनको कुरा पोख्नु जरुरी ठानी यो खुल्ला पत्र लेख्ने जमर्को गरेको छु ।
तपाईले यस अघिको प्रचण्ड सरकारमा उर्जा मन्त्रालयमा रहँदा जुन अदम्म साहस र कुशल व्यवस्थापन गर्न सक्नुभयो, कुलमान घिसिङ जस्ता असल मानिसहरुलाई काम गर्ने अवसर मात्र जुटाई दिनु भएन तपार्इंले अभिभावकत्व प्रदान गरिदिनु भएकोले राजधानी काठमाण्डौ लोडसेडिङ मुक्त हुन पुग्यो ।
चितवन, पोखरा लगायत मुलुकका अधिकांश भू–भाग लोडसेडिङ मुक्त भयो, देशैभर विद्युत आपूर्तिमा भइरहेको अनियमितता माथि तपार्इंले धावा बोल्नुभयो तपार्इं र तपाईंको टिम सापेक्षिक रुपमा सफल नै रह्यो । हुन त तपार्इंको टिमको विरुद्ध मुलुक र जनताका दुश्मनहरुले आक्रमण गर्न नखोजेका होइनन् । इन्र्भटर, जेनेटर र व्याट्री सप्लाई गर्ने ठूला कालाव्यापारीहरु र तिनैको दलाली गर्दै बाच्न पल्केका परजीवि जुकाहरुले तपाईंहरुलाई डस्न नखोजेका पनि होइनन् ।
तर उनीहरुको षडयन्त्रलाई नेपाली जनताको साथ, सहयोग र अदभुत समर्थनले तपाईहरुले नेस्तनाबुद बनाई छाड्नु भयो । यसमा तपाईंहरुको निष्ठापूर्ण कर्म प्रति सर्वोच्च अदालतले समेत साथ दियो । विद्युत् प्राधिकरणको सञ्चालकको रुपमा रही देश र जनताको खुन पसिना चुस्दै मोटाउन पल्केका त्यस्ता काला र शक्तिशाली जुकाहरुलाई पराजित गर्न सफल भए सँगै कुलमान, तपार्इं र तपार्इंको टिमको उचाई हवात्तै बढ्न पुग्यो ।
कर्मचारीतन्त्र भित्र भएका भष्ट्रहरुलाई पाखा लगाउने एक हदसम्म सांकेतिक कारवाही चलाउनुभयो, देशैभरका विद्युत प्राधिकरणमा वर्षौ जमेर खुन चुसिरहेका त्यस्ता जुकाहरुको सेटिङ पनि तपाईले भत्काउन सफल हुनुभयो ।
वर्षौबाट ठेक्कामा भइरहेको अनियमिततालाई रोक्न पनि तपार्इंले विशेष पहल गर्नुभयो । विद्युत् प्राधिकरणमा लागेको खियाले जाम भएका कयौं कामहरु तपाईहरुको चलायमान कार्यशैलीले गतिशील तुल्याइदियो ।
यद्यपी सरकारी विद्युत्लाई आफ्नो व्यक्तिगत कारोबारको रुपमा लिई ट्रान्सफर सेटिङ देखि मिटरबक्स सेटिङसम्मका अनियमिततामा तपाईको ध्यान र समय पुग्न सकेन । समग्रमा उर्जा मन्त्रालयमा तपाईको नेतृत्व नेपालको इतिहासमै स्वर्णिम रहन गएको म जस्ता आम मान्छेहरुको ठहर छ ।
वास्तवमा भने हो भने माओवादी केन्द्रको खस्कदो अवस्था सुधार्न र प्रचण्ड सरकारको नाक जोगाई दिने काममा उर्जा मन्त्रालय मार्फत् तपार्इं र तपार्इंको टिमले अतुलनीय योगदान गरेको छ, जसको भोलिको दिनमा समीक्षा हुँदै जाला खैर यो त भयो तपाईले उर्जा मन्त्रालय समालेर गर्नुभएको असल कार्यको वर्णन ।
हुन त तपाई माओवादी पार्टीको एक नेता र जनमुक्ति सेनाको एक शसक्त कमाण्डरको हैसियतमा युद्धकालमै तपाईंले नेतृत्व गरेको लडाइँका मोर्चाहरुमा सानदार सफलता हुने गरेको म स्वयं विगतको त्यो माओवादी आन्दोलनको एक सिपाही भएको नाताले मैले अनुभूति र विश्लेषण गरिसके कै विषय हो । दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने रणनीति र योजना अन्तर्गत गण्डक क्षेत्रका कारवाहीहरुमा तपाईको सक्षम एवं कुशल नेतृत्वमा शानदार हमला र सफल कारवाहीहरु भएकै हुन् ।
माओवादी आन्दोलन भित्र पनि तपाई काम गर्ने, जुझारु, निष्ठावान, गतिशील र इमान्दार नेताको रुपमा कार्यकर्ता माझ विगतबाटै स्थापित भइसक्नु भएको छ । तपाईको यो छविले अझै उचाई र सफलता पाउँदै जाओस्, तपाईको शुभचिन्तकको हैसियतबाट म यो शुभ–कामना व्यक्त गर्दछु ।
अब तपाईले भरखरै सम्हाल्दै गरेको मन्त्रालयको विषयमा दुई चार वटा कुरा गर्नेछु । वास्तवमा भन्ने हो भने प्रत्येक मानिसको प्रत्येक पाइलामा अग्नी परीक्षा आईरहेको हुन्छ । प्रत्येक पाइलाको परीक्षामा पास हुनसक्ने मानिस नै असल र सफल मानिन्छ ।
अब तपाईको पनि नयाँ परीक्षा शुरु भइसकेको छ, तपाई परीक्षामा पास हुनुहुन्छ या फेल त्यो तपाईको प्रत्येक पाइला र आगामी यात्राले तय गर्ने नै छ । गृहमन्त्रालय मातहतको नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागभित्रको विकृति, विसंगति, बेतिथि, भ्रष्टाचार, अनियमितता र घुसतन्त्रको जालो तोड्न तपाई सफल हुुनुहुन्छ या असफल यो आगामी दिनमा देख्न पाईएला नै ‘नेपाल प्रहरी’ मुलुकको चलायमान सुरक्षा निकाय जो विकृति, विसंगति, बेतिथि, भ्रष्टाचार मा चुर्लम्म डुबेको आम विष्लेषण छ ।
नेपाल प्रहरीका आइजीपी देखि, एआइजी, डिआइजी, एसएसपी, एस्पी हुँदै इन्सपेक्टरसम्मका बढुवा र मालदार स्थानहरु–भन्सार, उपत्यका लगायतका स्थान) मा हुने सरुवामा लाखाँै मात्र होइन करोडौँको चलखेल हुने गरेको यस अघि नै विभिन्न मिडियामा सार्वजनिक भइसकेको विषय तपाईलाई थाहै होला ।
सर्वसाधारण सूचकले सूचना दिने अनि राजस्व छली लगायतका अवैध मालसमान प्रहरीले पक्रन्छ तर प्रहरी हाकीमका श्रीमती, सालासाली र यस्तै आफन्तहरुको नाम राखी नियम सँगत सुराक कमिसन नपाउँदा सूचना अभावको कारण करोडाँै राजस्व गुमीरहेको छ । के यस विषयमा माननीय गृहमन्त्री ज्यू केही गर्न सक्नु हुन्छ ? भन्सारबाट दैनिक करोडौको मालसमान बिना भन्सार, कम मूल्याङ्नको भन्सार गराई, भन्सारमा रहेका भ्रष्ट कर्मचारी र प्रहरीलाई मिलाउँदै पास हुनेगर्दछ, के यसलाई रोक्न सक्नुहुन्छ ?
अहिले पनि प्रहरीले गैरकानुनी रुपमा व्यक्तिलाई हिरासतमा राखी आर्थिक लाभको आधारमा लेनदेनको मुद्दा हेरिरहेको छ । के त्यस्ता प्रहरी अफिसर र अधिकृतलाई कार्बाही गर्न सक्नुहुन्छ ? प्रहरी घुमुवाहरु मार्फत् गैरकानुनी धन्दा गर्न छुट दिए वापत होटलहरुबाट, जुवाखालहरुबाट हप्ता असुली र मासिक कलेक्सन भइरहेको छ । के रोक्ने शक्ति छ हजुर सँग ? प्रहरी कार्यालयहरुमा आउने झै–झगडाका केसका पक्ष बिपक्षहरुबाट शहरबजारका काला व्यापारीहरुबाट, प्रहरीको गाडीमा तेल, टायर, हाकिमका घरहरुमा उपहारको थुप्रो ओइरिरहेको छ । के यसलाई रोक्न सक्नुहुन्छ ?
अवैध बालुवा खानी, गिट्टी, ढुङ्गा, ग्राभेल उत्खनन् र प्राकृतिक स्रोत साधन दोहन गर्ने तस्करहरुबाट सिधै खाता र श्रीमतीका हातहरुमा पैसा पुग्ने गरेको खुल्नमा आएको धेरै भइसक्यो । के प्रत्येक प्रहरी अफिसर र अधिकृतहरुको प्रहरी सेवा शुरु गर्दा यताको अस्वभाविक सम्पतिको अनुसन्धान गरी कार्बाही गर्ने क्षमता छ तपाईसँग ? यस्तै यस्तै सयौँको प्रश्नको चाङहरु छन् आज आम मान्छेको मनमा के त्यो सम्बोधन गर्ने खुबी छ तपाइँसँग ? प्रहरीको राशन ठेक्का र लजिस्टिकमा हुने अनियमितता रोक्न सक्नुहुन्छ ? विगतमा रक्तचन्दन तस्करी गर्ने देखि गोरु तस्करी र अन्य अवैध धन्दा गर्नेहरुको ठूलो जमात तपाईको पार्टी भित्र कार्यकर्ताको रुपमा भित्रिरहेका छन् ।
कांग्रेस, एमाले लगाएतका ठूला र शक्तिशाली पार्टी एवं तिनका मुख्य नेताको आडमा गुण्डागर्दी गर्नेहरुको कुनै कमी छैन के तपाई आफ्नो पार्टी भित्र रहेका र नरहेका सबै गुण्डा, डनहरुलाई तह लगाउन सक्नुहुन्छ ? के तपाई प्रहरी चेकिङ र ट्राफिक नियमको नाममा आम सर्वसाधारणलाई सताउने तर ठूला ठालुहरुलाई सलाम ठोक्ने प्रवृतिको अन्त्य गर्न सक्नुहुन्छ ? मेरा यी र यस्तै सयौँ अनुत्तरित प्रश्नहरुको जवाफ दिन सक्नु हुन्छ भने तपाईलाई साथ दिन म जस्ता लाखौ आम मान्छे तयार हुनेछन् । माओवादी जनयुद्धको क्रममा तपाईहरुको विचारलाई साथ दिदै हामी जस्ता लाखौ युवाहरुले ज्यान बाजी लगाएर तपाई र तपाइको सुप्रिमोलाई साथ दिएकै हो ।
कयौँ साथीहरु शहीद भए, कयौँ गोली बोकी हिडिरहेका छन् । हामीजस्ता लाखौ युवाहरु जो हिजो माओवादी आन्दोलनमा मर्न मार्न लाग्यौ तर आज बेरोजगार र विदेशिने पिडामा घाइते झै छट्पटिरहेका छन् । मुलुकमा परिवर्तनको आशामा बगेको रगतले अझै सार्थकता पाइसकेको छैन । व्यवस्था र व्यक्तिमा परिवर्तन गरिएपनि अवस्था र सोच झन् गिद्रो छ । जनताको जीवन व्यवहार र जनजिविकाको अवस्था झन् दर्दनाक र परनिर्भरता तिर तिवृत्तर रुपमा उन्मुख भइरहेको छ ।
के यो दुरावस्थाबाट मुलुकलाई पार लगाउन सक्नुहुन्छ तपाईहरुले ? माननीय मन्त्री ज्यू तपाईको विगतको कामको आधारमा आम मान्छेले तपाईबाट धेरै नै आशा गरेका छन् के त्यो आशा र विश्वासलाई निरन्तर जगाउन सक्नुहुन्छ ।
अन्त्यमा, तपाई जनयुद्धको एक कुशल र सक्षम कमाण्डर र उर्जा मन्त्री हुँदा तपाईले निभाउनु भएको भुमिकाको सरहाना गर्दछु । र आम मानिसको अपेक्षा, आशा र भरोसा अनुरुप गृहमन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा सर्वसाधारणले अनुभूत गर्ने गरी आमूल सुधार र परिवर्तन ल्याउनु हुनेछ भन्ने विश्वास र यही शुभकामना व्यक्त गर्दछु । चितवन पोष्टबाट ।



