झापा - लगातार आएको हावाहुरीका कारण झापामा केरा, मकैलगायतका बालीनाली नष्ट हुँदा करीब दुई करोडकोे क्षति भएको छ ।कचनकवल, बाह्रदशी, झापा गाउँपालिका, कनकाई र गौरादह नगरपालिका छ सय किसानले लगाएको एक सय ६९ हेक्टर जमिनको मकै केरा, तरकारी र फलफूल खेतीमा हावाहुरीले क्षति पुर्याउँदा रु एक करोड ९८ लाख ६० हजार बराबरका क्षति भएको हो ।कृषि ज्ञान केन्द्र झापाका कृषि प्राविधिक शालिकराम भट्टराईले वैशाख २, ५ र ९ गते आएको हावाहुरी र असिनाले सबैभन्दा बढी मकै र केराखेतीमा क्षति पुगेको बताए । उनका अनुसार घोगा लागिसकेका मकै र बह्रदशी गाउँपालिका–७ स्थित प्रधानमन्त्री कृषि आधुनिकीरणअन्तर्गतको दुर्गा माता कोलाखेती तथा कृषि फार्मले सञ्चालन गरेको केरा ब्लकका २०० बोट केरा भाँचिएका छन् ।उनले हावाहुरीले करिब रु ५० लाख बराबरको केराको बोट नष्ट भएको बताए ।